के सहिदहरु मधेशी नेताहरुलाई सक्तामा पुर्‍याउने भर्‍याङ मात्र हुन ?

अगामी निर्वाचनमा भावनामा नबगी सचेत भएर आफ्नो उम्मेदवार चयन गर्न महानगरवासीले अपिल गरेका छन्

सम्वादाता | २०७९ बैशाख १४ गते १८: १० मा प्रकाशित

वीरगन्ज– सोमबार देखि सामाजिक सञ्जाल तथा विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा दुई वटा समाचार र तस्बिर भाइरल बनेका छन् । एउटा – तेस्रो मधेश आन्दोलका सहिद सोहन साह कलवारकी श्रीमती विनीता साहको, जो वडाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट वडाध्यक्षमा टिकट नपाएपछि पार्टी परित्याग गरि विवेकशील साझा पार्टीबाट वीरगन्ज महानगरपालिका– १६ इनार्वाको वडाध्यक्षमा उम्मेदवारी दिइन् । दोस्रो – मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुनको, जो जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् । खातुनले उम्मेदवारी दिने निश्चित भइसकेपछि जसपाबाट गत निर्वाचनमा जितेकी उपाध्यक्षले अहिले जसपा परित्याग गरि माओवादी केन्द्र प्रवेश गरेको छिन् ।  ०७२ असोजमा संविधान जारी हुनुभन्दा अगाडिदेखि मधेश केन्द्रीत दलले आन्दोलन सुरु गरेका थिए । जबसम्म आन्दोलनमा रगत बगेन् तबसम्म आन्दोलनले गति समातेको थिएन् । साढे ६ महिनापछि बिना सम्झौता आन्दोलन र नाकाबन्दी आफै खुल्यो । त्यसपछि ०७४ मा भएको स्थानीय तह र संसदीय निर्वाचनमा मधेश केन्द्रीत दलले आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी ज्यान गुमाएका सहिदहरुको तस्बिर र भिडियो टोल– टोलमा प्रदर्शन गरेर भोट मागेको थिए । ५० जना भन्दा मधेशी सपुतले आहुती दिएको र आन्दोलन पछिनै निर्वाचन भएकाले मधेश केन्द्रीत दलले स्थानीतय तह, प्रदेश र संघीय संसदमा राम्रो सिट जित्न सफल भएका थिए । त्यसबेला सहिद परिवारलाई सहानुभूति दिनका लागि नेताहरुले केहीलाई जागिर दिए भने केहीलाई निर्वाचनमा लड्न टिकट दिए । सोहन साहकी श्रीमती विनीतालाई संघीय समाजवादी फोरमले वीरगन्ज– १६ इनर्वाबाट वडा सदस्यमा लडाएको थियो । उनले चुनवा जितिन पनि ।  चुनाव जितेको २ वर्षपछि १६ का वडाध्यक्ष श्यामबाबु चौरसिया राजस्व छली मुद्दामा निलम्बनमा परे । त्यसपछि विनिताले कार्यवाहकको जिम्मेवारी सम्हालिन । करिब ३ वर्ष उनले कुशलतापूर्वक वडाको कामकाज निर्वाह गरिन । तर, जब उनले अगामी निर्वाचनमा वडाध्यक्षमा लड्न इच्छा प्रकट गरिन्, तब नेताहरुले आलटाल गर्न थाले । मनोनयनको मिति नजिकिदासम्म उनलाई आश्वासन मात्र दिइयो । निलम्बित वडा सदस्यका भाई परशुराम चौरसियालाई जसपाले टिकट दिने निश्चित भएपछि उनले पार्टी छाडिन् । अर्को तर्फ मुख्यमन्त्रीकी श्रीमती जो पार्टीको कामकाजमा कहिले पनि सहभागी भइनन्, विशुद्द गृहणी भएर घर सम्हालेको थिइन्, उनलाई पार्टीले गाउँपालिकाको उपाध्यक्षको टिकट दिएको छ । यी दुईवटा उदाहरणले मधेश केन्द्रित नेताहरुले आफू सक्तामा पुग्न जनतालाई भर्‍याङको रुपमा प्रयोग गरेको पुष्टि भएको छ । अगामी निर्वाचनमा भावनामा नबगी सचेत भएर आफ्नो उम्मेदवार चयन गर्न महानगरवासीले अपिल गरेका छन् । ‘मधेशीहरु नेतालाई सरकारमा पुगाउने सिढी मात्र भएका छौँ,’ विनिता भन्छिन्, ‘यो यर्थात सबैले बुझ्न जरुरी छ ।’  

 

 

प्रतिक्रिया दिनुहोस्