वीरगंजमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

सम्वादाता | २०८२ भदौ १४ गते ०१: ३० मा प्रकाशित
वीरगंज । वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगञ्जको संयुक्त आयोजनामा आज बाईपास नयाँ बसपार्क पूर्वपट्टि फुलवारी टोलामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
वृक्षारोपण कार्यक्रममा करिब ५० वटा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। बिरुवाहरूको दीर्घकालीन संरक्षणका लागि लोहाको तारजाली जडान गरिएको आयोजकले जानकारी दिएको छ ।
समारोह ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए ।
सो अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, सशस्त्र प्रहरी प्रमुख एसपी पुरनचन्द्र भट्ट, नेपाल इनोभेट सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । 
कार्यक्रममा वक्ताहरूले वृक्षारोपण अभियानलाई वातावरणीय संरक्षण र आगामी पुस्ताका लागि हरियाली विस्तारको महत्वपूर्ण कदम भएको उल्लेख गर्दै निरन्तर संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको धारणा राखे । आयोजक संस्थाहरूले नियमित अनुगमनमार्फत रोपिएका बिरुवाको हेरचाह र संरक्षणमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्