अनलाइन जालबाट बच्चालाई कसरी जोगाउने ?

सम्वादाता | २०८१ सावन २९ गते ०८: ०० मा प्रकाशित

आजभोलिका बालबालिका कम उमेरमै इन्टरनेट प्रयोगकर्ता बनिरहेका छन् । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा हरेक आधा सेकेन्डमा एक बच्चा अनलाइनमा हुन्छन् । यस्तोमा अनलाइन दुनियाँमा समेत बालबालिकाको बढ्दो पहुँचले खतरा निम्त्याइरहेकोमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

यसै सन्दर्भमा हालै वेस्टर्न सिड्नी विश्वविद्यालयको यंग एण्ड रेजिलिएन्ट सेन्टरले एक अध्ययन गरेको छ । बालबालिकाको पहुँच बढिरहेको मात्र होइन, सुरक्षित ढंगले चलाउन नसकेका कारण उनीहरू जोखिममा रहेको अध्ययनले देखाएको छ ।


उक्त अध्ययनअनुसार सामाजिक सञ्जालमा अपरिचित व्यक्तिबाट आउने अनुचित साथीको प्रस्तावलाई ब्लक गर्नुपर्छ भन्ने जानकारी बालबालिकामा हुँदैन । यस अध्ययनले यस्ता व्यक्तिलाई रिपोर्ट नगर्दा वा ब्लक नगर्दा बालबालिकाहरू आफूलाई भविष्यमा अनावश्यक सम्पर्कको ठूलो जोखिममा पार्छन् ।

बेलायतमा नयाँ कानुन ‘अनलाइन सेफ्टी एक्ट’ अन्तर्गत भनिएको छ, ‘इन्टरनेटमा बालबालिकाको बढी सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी अभिभावकको मात्र नभई प्रविधि कम्पनीहरुको पनि हो ।
तर यस कानुनसँग सम्बन्धित नयाँ नियमहरू सन् २०२५ सम्म लागू हुने छैनन् । किनकि यो नियम हाल बहसको विषय बनेको छ ।

आलोचकहरू भन्छन्, ‘यो नियम बनाए पनि धेरै प्रभावकारी छैन ।’

बेलायतपछि विश्वभरका धेरै देशले समान नियम बनाई लागू गरेका छन् । सामाजिक सञ्जालमा अपरिचित व्यक्ति र एपसँग जोडिनका लागि बढावा दिन सबैभन्दा बढी योगदान कम उमेरका बालबालिका तथा किशोरकिशोरी रहेको तथ्यांकले देखाउँछ ।

सन् २०२३ मा विश्वभर १५ देखि २४ वर्षसम्म उमेरका ७९ प्रतिशत अनलाइन प्लेटफर्मका प्रयोगकर्ता छन् । यंग एण्ड रेजिलिएन्ट सेन्टरका सहनिर्देशक अमान्डा थर्ड भन्छिन्, ‘अनलाइन जगतमा हुर्किरहेका बालबालिकालाई इन्टरनेटमा सुरक्षित राख्न मद्दत आवश्यक छ ।’

बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय संगठन युनिसेफले गरेको अध्ययनअनुसार ३० देशका एक तिहाइभन्दा बढी बालबालिकाले साइबर संसारमा धम्कीको सामना गर्छन् । जसकारण करिब २० प्रतिशत बालबालिका विद्यालय जान समेत छाडेका छन् ।

त्यति मात्र होइन, कतिपय बालबालिका सामाजिक सञ्जालमा घृणायुक्त भाषण, हिंसात्मक सामग्री तथा उग्रवादी खालका सामाजिक सञ्जालका ग्रुपहरुमा जोडिनु पनि चिन्ताको विषय हो ।

यससँगै डिजिटल प्लेटफर्महरूमा षड्यन्त्रका गलत सूचना वा मनगढन्ते कथाहरू पनि व्यापक रूपमा फैलिन्छन् ।

यौन शोषण र दुर्व्यवहारको जोखिम

युनिसेफ भन्छ, ‘अनलाइन संसारमा बालबालिकाहरू यौन शोषण र दुर्व्यवहारबाट सबैभन्दा बढी जोखिममा छन् ।’

संघका अनुसार यौन शोषण गर्नेहरूलाई जालो हाली अनलाइनमार्फत सिकार खोज्न आज सहज भएको छ । उनीहरूले यस्ता तस्वीरहरु सजिलै सेयर गर्न सक्छन् । जसले अरूलाई त्यस्ता अपराध गर्न उक्साउन सक्छन् । २५ देशका झन्डै ८० प्रतिशत बालबालिकाले अनलाइन जगतमा यौन शोषण तथा दुर्व्यवहारको धम्की आएको रिपोर्ट दर्ता गरेका छन् ।

के यस्तोमा आमाबाबुको लागि अनलाइन निगरानी विकल्पहरू उपलब्ध छन् ?

बालबालिकामाथि हेरविचार राख्ने धेरै उपाय छन्, जसले बच्चामा तनाव ल्याउने वा जोखिममा पार्ने अनुचित सामग्रीलाई रोक्छ । तर अध्ययनहरूले के देखाउँछन् भने यस्ता विकल्पमा आमाबाबुको त्यति चासो र प्रयोग छैन ।

सन् २०१९ मा गरिएको ग्लोबल किड्स अनलाइन सर्वेक्षणले नौदेखि १७ वर्ष उमेरका बालबालिकाका अधिकांश अभिभावकले बालबालिकालाई निगरानी गर्न प्राविधिक उपकरणहरू प्रयोग गर्नुको सट्टा रोकथाम र नियममा आधारित प्रतिबन्ध जस्ता विधि अपनाउनेमा ध्यान दिन्छन् ।

सो अध्ययनअनुसार अभिभावकबीच कतिपय सांस्कृतिक मतान्तर छ । युरोप र दक्षिण अमेरिकाका सम्पन्न देशमा अभिभावकहरू मध्यस्थता रुचाउँछन् । जबकि घाना, फिलिपिन्स र दक्षिण अफ्रिकामा, अभिभावकले यस मामिलामा सीमित हस्तक्षेपको नीति अपनाउँछन् ।

यद्यपि, बच्चाहरूको फोन वा अन्य उपकरणमा अभिभावकीय नियन्त्रण कम रहन्छ । यस सर्वेक्षणमा समावेश गरिएका देशमा तीन प्रतिशतभन्दा कम अभिभावकहरूले आफ्ना सन्तानको अनलाइन प्रयोग सुरक्षित राख्न प्राविधिक उपकरणहरू प्रयोग गरिरहेका थिए ।

बेलायतमा रहेका केही ठूला इन्टरनेट कम्पनीहरूले मिलेर ‘इन्टरनेट म्याटसर’ नामको सुरक्षा संस्था बनाएका छन् । इन्टरनेट म्याटसर’ले सुरक्षित उपलब्ध प्राविधिक उपकरणहरूको सूची संकलन गरेको छ । योसँगै यी प्राविधिक उपकरणको प्रयोगका लागि मार्ग निर्देशन पनि बनाएको छ ।

उदाहरणका लागि आफ्ना बच्चाहरूलाई युट्युब र टिकटक जस्ता दुई सबैभन्दा लोकप्रिय प्लेटफर्महरूमा अनुपयुक्त सामग्री हेर्नबाट रोक्न चाहने अभिभावकले बच्चाहरूको लागि विशेष रूपमा डिजाइन गरिएको ‘किड्स भर्जन’ सेटअप गर्न सक्छन्, जसले वयस्क सामग्री फिल्टर गर्छ ।

युट्युब र टिकटक मुख्य साइटहरू प्रयोग गर्ने किशोरावस्थाका लागि अभिभावकीय अनुगमन अकाउन्ट बनाउन सक्छन् । यस्ता अकाउन्टले आफ्ना बच्चाले यी एपहरूमा के हेरिरहेका छन् भनेर जान्न अनुमति दिन्छ ।

फेसबुक मेसेन्जर पनि परिवार केन्द्र मार्फत निगरानी गर्न सकिन्छ ।

टिकटकका अनुसार पारिवारिक सदस्यलाई जोड्ने यो माध्यमले आमाबाबुलाई बच्चाका खाता निजी बनाउने शक्ति दिन्छ ।

इन्स्टाग्राममा अभिभावकका लागि पनि धेरै उपकरण उपलब्ध छन्, जसको माध्यमबाट उनीहरूले हेर्नका लागि दैनिक समयसीमा सेट गर्न सक्छन् । उनीहरूले ब्रेकको समय पनि तय गर्न सक्छन् । र, आफ्ना बच्चाहरूले गुनासो गरेका अकाउन्टको सूची पनि बनाउन सक्छन् ।

मोबाइल फोनको प्रयोग र एपहरुमा नियन्त्रणका विकल्प

– एन्ड्रोइड, एप्पलको फोन र ट्याब्लेटहरूमा यस्ता एप र सिस्टम हुन्छन्, जुन अभिभावकले निगरानीका लागि प्रयोग गर्न सक्छन् ।

– यी उपकरणहरू मार्फत अनुचित एपहरूको ब्लक गर्न सकिन्छ । वा, यस्ता पहुँच सीमित गर्न सकिन्छ ।

– गलत उत्सुकता प्रयोग गर्ने वयस्क सामग्री प्रतिबन्धित गर्न सकिन्छ । बालबालिकाको खरिदमा प्रतिबन्ध लगाउन सकिन्छ । र, तिनीहरूको ब्राउजिङ निगरानी गर्न सकिन्छ ।

– एप्पलले स्क्रिन टाइम उपकरण उपलब्ध गराएको छ ।

– नेटफ्लिक्स जस्ता स्ट्रिमिङ प्लेटफर्महरूले सामग्री फिल्टर गर्न अभिभावकीय नियन्त्रणहरू प्रदान गर्छन् ।

एकै समयमा गेमिङ कन्सोलको सेटिङ मार्फत अभिभावकहरूले बच्चालाई उनीहरूको उमेरअनुसार खेल खेल्न सीमा तोक्न सक्छन् । र, खेल खेल्दा खरिदमा प्रतिबन्ध लगाउन सक्छन् ।

धेरै देशमा यी अभिभावकीय नियन्त्रण विकल्पहरू ब्रोडब्यान्ड र टिभी सेवा प्रदायकहरुले पनि प्रदान गर्दै आइरहेका छन् ।

बच्चाहरूसँग अनलाइन सुरक्षाको बारेमा कसरी कुरा गर्नुपर्छ ?

बेलायतको बाल कल्याणकारी संस्थाका अनुसार बालबालिकासँग अनलाइन सुरक्षाको बारेमा कुरा गर्नु र उनीहरूको अनलाइन गतिविधिमा रुचि राख्नु निकै महत्त्वपूर्ण छ ।

यस संस्थाले आमाबाबुलाई यी विषयमा आफ्ना बच्चासँगको दैनिक सामान्य छलफलको भाग बनाउन सुझाव दिन्छ । जसरी उनीहरूले बच्चासँग स्कुलमा बिताएको समयको बारेमा कुरा गर्छन् । यसले बच्चालाई लागेको समस्या आफ्ना आमाबाबुलाई व्यक्त गर्न सजिलो बनाउनेछ ।

युनिभर्सिटी अफ सरेका कम्प्युटर सेक्युरिटीका विशेषज्ञ प्रोफेसर एलन वुडवर्ड भन्छन्, ‘तिमीले कन्टेन्ट हेर्न पाउँदैनौं’ भनेर बच्चालाई भन्नु सबैभन्दा गलत पाठ हो । यसले बच्चामा हेर्ने उत्सुकता तीव्ररुपमा बढाउन सक्छ । र, उनीहरू कोही न कोही बाटो खोज्न थाल्छन् । चाहे उनीहरूले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग नै किन गर्नु नपरोस् ।’

सरकारहरू यसबारे के गरिरहेका छन् ?

नियामक निकायहरूले बालबालिकालाई सुरक्षित राख्ने गोपनीयता कानुन लागू गर्न प्रयास गरिरहेका छन् । कानुन निर्माताहरूले पनि यस विषयमा निकै सक्रियता देखाउँदै आएका छन् ।

यद्यपि, अनलाइन जगतमा गोपनीयता र सुरक्षा कायम गर्न थप कानुनहरू आवश्यक रहेकोमा इन्टरनेसनल एसोसिएसन अफ प्राइभेसी प्रोफेसनल्स (आईएपीपी)ले सहमति जनाएको छ । तर न्यायिक क्षेत्राधिकारहरूले यो साझा उद्देश्यका लागि विभिन्न पहलकदमी अपनाइरहेका छन् 

टेक कम्पनीहरूले कसरी समाधान गरिरहेका छन् ?

वर्तमान समयमा प्राविधिक कम्पनीहरू विरुद्ध गोपनीयता चिन्ता मात्र होइन । प्रयोगकर्ताहरूको अनलाइन सुरक्षालाई लिएर पनि विरोध बढ्दै गएको छ ।

अभिभावकहरूले पनि प्राविधिक कम्पनीहरूलाई यो जिम्मेवारी लिन, बालबालिका र नाबालिग प्रयोगकर्ताहरूका लागि ‘सुरक्षित’ हुने प्लेटफर्महरू बनाउन दबाब दिइरहेका छन् ।

यस वर्षको जनवरीको अन्त्यमा अमेरिकी संसदमा सुनुवाइका क्रममा मेटाका सीईओ मार्क जुकरबर्गले अनलाइन शोषणको सिकार भएका बालबालिकाका अभिभावकसँग माफी मागेका थिए ।

अनलाइन जगतमा बढिरहेको यौन शोषणको केसबारे छानबिन गर्न सकियोस् भनेर द बिग टेक एण्ड द अनलाइन चाइल्ड सेक्सुअल एक्सप्लोएटेसन क्राइसिसको सुनुवाई भएको थियो ।

सुनुवाईमा मेटा, स्न्याप डिसकोर्ड र टिकटक जस्ता सबै कम्पनीको अधिकारीहरुलाई जवाफ दिन बोलाइएको थियो । जसमा सबैभन्दा बढी चर्चा मार्क जुकरबर्ग र टिकटकका प्रमुख कार्यकारी शाउ च्युको भएको थियो ।

स्न्यापच्याटका एक अधिकारीले युवा पुस्तामाझ लोकप्रिय प्लेटफर्मको रूपमा सुरक्षित र सकारात्मक अनुभव प्रदान गर्ने थप जिम्मेवारी बढेको उल्लेख गरेका थिए ।

यसै विषयमा मेटाका एक प्रतिनिधिले भनेका थिए, ‘हिंसा वा आत्महत्या, आत्म–हानिलाई बढावा दिने सामग्री हाम्रो नियमविरुद्ध हो । र, हामीले त्यस्ता सामग्रीलाई प्लेटफर्ममा फेला पर्दा हटाइदिन्छौं ।’

उनीहरूले यस्ता बयान दिएपनि यी कम्पनीहरूले अनुपयुक्त वा अपमानजनक सामग्री तुरुन्तै हटाउँदैनन् । पटक-पटक सम्पर्क गर्दा पनि त्यस्ता सामग्री छिटो हटेको पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्