एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नुहुन्न

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचार गर्न आएको जनपथ टोलकी विनीता गौतमले आफ्नो हेलचक्र्याइँको कारण घाँटीको सङ्क्रमणबाट ग्रसित होलिन् भन्ने सोचेकै थिइनन्।

अस्पतालको नाक कान घाँटीको ओपिडीमा भेटिएकी गौतमले बोल्न अप्ठ्यारो महसूस गर्दै भनिन्, “शुरूमा सामान्यरूपमा घाँटी दुखेकोले औषधिपसलबाट पेनकिलर किनेर खाएँ, केही समय त ठीक भयो, फेरि समस्या उस्तै, अति नै दुखाइ भएर आएको त घाँटीको सङ्क्रमण भएर पीप जमिसकेको रहेछ।”

त्यसैगरी, सोही अस्पतालको ओपिडीमैं भेटिएका २१ वर्षीय युमेश गिरी औषधिपसलेले चीसोको कारणले दुखेको भनी दुखाइ कम गर्ने औषधि दिएपछि फेरि समस्या उस्तै भएकोले अस्पताल आएको बताउँछन्।

उनी भन्छन्, “बिहान उठ्दा घाँटी दुखेको महसुस भएकाले नजीकै मेडिकल पसलेको सल्लाहमा २–३ वटा पेनकिलर खाए पनि ठीक भएन र यहाँ जचाउन आउँदा थाहा भयो, इन्फेक्शन भइसकेको पो रहेछ।”

सामान्यतया घाँटी दुख्ने बित्तिकै औषधिपसलमा गएर पेनकिलर, एन्टिबायोटिकको प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएपछि सङ्क्रमणको अवस्थामा मात्र बिरामी अस्पताल आउने गरेका कोशी अस्पतालको नाक कान घाँटी रोग विशेषज्ञ डा रौनक दाहाल बताउँछन्। उनी भन्छन्, “के कारणले घाँटी दुखेको हो, सङ्क्रमण हो या होइन, यदि सङ्क्रमण भएमा कुन अवस्थामा छ? कुन औषधि कति मात्रामा सेवन गर्नेजस्ता विषयमा ध्यान नदिई जथाभावी औषधि सेवन गर्नाले बिरामीको स्वास्थ्य निकै बिग्रँदै गएको छ।”

के कारणले हुन्छ घाँटीको सङ्क्रमण

डा दाहाल घाँटीको सङ्क्रमण एउटै कारणले मात्र नहुने बताउँछन्। उनका अनुसार प्रायःजसो चीसोको कारणले घाँटीमा सङ्क्रमण हुने गर्छ। यसबाहेक लामो समयसम्म फ्रीजमा राखिएका खानेकुरा, धूमपान, चीसो मौसम, धूवाँधूलो, प्रदूषित वातावरणजस्ता विभिन्न कारणले घाँटीको सङ्क्रमण गराउने गर्छ। धूवाँ, धूलो साथै प्रदूषणयुक्त वातावरणमा रहने मानिसले सास फेर्ने क्रममा हावाको माध्यमबाट भाइरस, ब्याक्टेरिया प्रवेश भई बिस्तारै घाँटीमा सङ्क्रमण गराउने गर्छ।

यसले गर्दा बिस्तारै घाँटीमा अप्ठ्यारोपन आउने, दुखाइ अनुभव हुने, निल्न गाह्रो हुनेजस्ता समस्या उत्पन्न हुने गर्छ।

घाँटीमा भाइरल वा ब्याक्टेरियाको प्रवेश भई त्यसले सङ्क्रमण गराउँछ। सामान्यतया भाइरल सङ्क्रमण हुँदा दुखाइसँगै घाँटीमा रातोरातो देखिने गर्छ भने, ब्याक्टेरियाको कारणले भएको सङ्क्रमणले घाँटीमा सेतो पीप देखिने गर्छ। घाँटीको सङ्क्रमणमा केही खास ब्याक्टेरिया जिम्मेवार रहने गर्छ।

‘स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरिया अन्य ब्याक्टेरियाको तुलनामा घाँटीको सङ्क्रमण गराउन सक्रिय रहने गर्छ। जसले गर्दा घाँटीमा अप्ठ्यारो महसूस हुने, यताउति गर्न पनि निकै कठिन हुने, अत्यधिक दुखाइ महसूस हुने, ज्वरो आउने, घाँटीभित्र रातो हुने गर्छ। त्यसका साथै टन्सिलाइटिस हुने, कहिलेकाहीं घाँटीबाट पीप निस्कने, घाँटीमै पीप जम्ने, निल्न गाह्रो हुने, बोल्न कठिन हुने जस्ता लक्षण देखा पर्छ। सामान्य अवस्थामैं उपचार गरे तत्काल निको हुने समस्यालाई हेलचक्र्याइँ गरेमा त्यसको नतीजा गम्भीर आउन सक्छ, त्यसैले यस्ता लक्षण देखा पर्नासाथ तुरुन्त उपचार गराइहाल्नुपर्छ।

एन्टिबायोटिक र पेनकिलरको दुरुपयोग

अधिकांश मानिस सामान्य घाँटी दुखाइ महसूस हुनासाथ चिकित्सकको परामर्शविना औषधिपसलेबाट किनेर एन्टिबायोटिकसाथै पेनकिलरजस्ता औषधिसेवन गर्ने गर्छन्। यसरी जथाभावी यस्ता औषधि सेवन गर्नाले हाल एन्टिबायोटिक तथा दुखाइ कम गर्नेजस्ता औषधिको अत्यधिक दुरुपयोग भइरहेको डा दाहाल बताउँछन्। उनका अनुसार घाँटी दुख्नासाथ एन्टिबायोटिक तथा पेनकिलरको प्रयोग गर्नु उचित हुँदैन।

कहिलेकाहीं हाड आएको समस्याले पनि घाँटी दुख्ने गर्छ। यस्तो अवस्थामा के कारणले घाँटी दुखेको?, घाँटीको सङ्क्रमण भएमा कुन अवस्थामा छ?, कस्तो औषधि सेवन गर्नेजस्ता जानकारीविना आफ्नो खुशी पेनकिलर, एन्टिबायोटिक औषधिको सेवन गर्नाले मुटु, मिर्गौला, कलेजोलगायतका संवेदनशील अङ्गहरूलाई असर पुगी नियमित कार्य गर्न सक्दैनन्। त्यसैले चिकित्सकको परामर्शविना आफ्नो खुशी यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुँदैन।

कतिपय बिरामीहरूले चिकित्सकले दिएको एन्टिबायोटिक औषधिसमेत नियमपूर्वक सेवन गरेका हुँदैनन्। औषधिसेवन गर्ने क्रममा आराम महसूस हुनासाथ बढी औषधि किन सेवन गर्ने भन्ने ठानी आफ्नो खुशी औषधिसेवनमा रोक लगाउने गर्छन्। ब्याक्टेरिया तथा भाइरसलाई पूर्णरूपमा मार्न सेवन गरिने त्यस्ता औषधिको मात्रा पूरा नगरी छोड्नाले फेरि सक्रिय भई सङ्क्रमण गर्न सक्ने भएकाले एन्टिबायोटिकको पूरा मात्रा सेवन गर्नुपर्छ।

घाँटीको सङ्क्रमणले निम्त्याउने खतरा घाँटीको सङ्क्रमण भएको समयमा यसलाई हेलचक्र्याइँ गरेको खण्डमा निकै खतरा निम्त्याउने भएकाले समयमै उपचार गराउन चिकित्सकले सुझाव दिएका छन्।

घाँटी दुख्ने, निल्न गाह्रो हुने, ज्वरो आउने, घाँटीभित्र रातो देखिने, टन्सिलाइटिस हुने जस्ता लक्षण घाँटीका सङ्क्रमण हुन्। यस्ता कुनै लक्षण देखा परेमा तुरुन्त सम्बन्धित चिकित्सक तथा स्वास्थ्य संस्थामा गई जचाइहाल्नुपर्छ। समयमै उपचार नभएमा बारम्बार टन्सिलाइटिस भई पीप जम्ने, रगतको माध्यमबाट सङ्क्रमणका जीवाणु मुटुको भल्बमा पुगेर भल्बलाई बन्द गरी भल्ब फेर्नुपर्ने अवस्थासमेत आउन सक्छ। घाँटीमा पीप जमेर बसिरहँदा शल्यक्रिया गरेर जम्मा भएको पीपलाई निकाल्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्