सुख्खा बन्दरगाह विस्तार प्रकृयाः मुआब्जा नपाएपछि पीडित गाउँवासीको बैठक, आन्दोलनको चेतावनी

बीरगंज । मुआब्जा सङ्घर्ष समिति वीउमनपा–२५ ड्राइपोर्ट, श्रीसियांको आव्हानमा श्रीसियां स्थित प्राथमिक विद्यालय परिसरमा मुआब्जा पीडित गाउंलेहरुको बैठक सम्पन्न भएको छ । नेपाल सरकारले सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिराखेको गाउंको घर–जग्गाको मुआब्जा हालसम्म नदिएको अवस्थामा अबका दिनमा मुआब्जाका लागि आवश्यक कदमबारे छलफलका लागि समितिले सो बैठक राखेको हो ।
 
विगत कैयौं वर्षदेखि सुख्खा बन्दरगाह विस्तारका लागि नेपाल सरकारले वीरगञ्ज महानगरपालिका वडा नं २५ को सुख्खा बन्दरगाह–आईसिपी बिचमा पर्ने गाउं खल्वाटोलको करिब ६२ विघा जग्गा र त्यसमा बनेका संरचनाहरु अधिग्रहण गरिसकेको तर पूर्ण मुआब्जा हालसम्म वितरण नगरेको अवस्थामा पीडित गाउंवासीहरुलाई समस्या भएको संघर्ष समितिका अध्यक्ष अशोक चौधरीले बताएका छन् । उनले बैठकबाट भोली आइतवार सुख्खा बन्दरगाहलाई एक विज्ञप्ती मार्फत एक हप्ताभित्र पीडित गाउंलेहरुको माग सम्बोधन गर्न ध्यानाकर्षण गराईने र सो समयावधीभित्र यस विषयमा ठोस पहल नभए बन्दरगाहको मुख्यद्वारमा चरणबद्ध आन्दोलन गर्ने जनाए ।
 
संघर्ष समितिका सचिव विजय तिवारीले सरकारले रोक्का गरिराखेका जग्गाहरुको मुआब्जा वितरणमा हेलचक्रयाईं गरिरहेको आरोप लगाउंदै फिल्डबुकमा रहेका जग्गाबारे हालसम्म कुनै पहल नभएको र सो क्षेत्रमा निर्माण भएका भौतिक संरचनाहरुको वर्गिकरण भइ मुल्यांकन समेत भइसकेको अवस्थामा मुआब्जा वितरणमा ढिलाइ भएको बताए । मुल्यांकन मात्रै गरेर समयमा मुआब्जा वितरण नगर्दा दिनानुदिन निर्माण सामाग्रीहरुको मुल्य बढ्दै जांदा प्राप्त हुने रकमले समेत नयां घर निर्माण गर्न समस्या हुने उनले बताए । निर्धारित मुल्यमा समेत सरकारले अनैतिक कर लगाई पीडितहरुलाई थप पीडा दिने कार्य गरेको बताउंदै तिवारीले मुआब्जा बापतको रकममा सरकारी कर मिनाहा गर्न सम्बन्धित पक्ष मार्फत आग्रह गरिएको बताए ।
 
समितिका उपाध्यक्ष सञ्जय पटेलले मुआब्जाकै लागि पटक–पटक आन्दोलन गरिरहेको ७–८ वर्ष वितिसकेको अवस्थामा पनि राज्यबाट समाधानको साटो आश्वासन र आफुहरुको समस्यामा राजनैतिक दलहरुका स्थानीय नेताहरुले लाभ लिन खोजेको आरोप लगाउंदै अबका दिनमा कुनैपनि राजनैतिक दल तथा तिनका नेता कार्यकर्ताको हस्तक्षेप सह्य नहुने बताए ।
 
बैठकमा समितका कोषाध्यक्ष प्रकाश साह, सह–सचिव शिवजीप्रसाद पटेल, तेतरी देवी, उमा देवी, सुनिता देवी, मनोज चौधरी, रामानन्दप्रसाद कुर्मी, पारस साह कानु, उदय तिवारी, विपीन साह, दिनेश पटेल लगायत गाउंवासीहरुको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्