अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर ह्विलचेयर वितरण

वीरगंज | राष्ट्रिय अपाङ्गता सङ्गठन, पर्साले जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर ह्विलचेयर वितरण गरेको छ। संगठनका पर्सा जिल्ला अध्यक्ष प्रकाश तिवारी नेतृत्वको टोलीले तीन जनालाई सहायक सामग्री सहयोग गरेको हो।

सहयोग प्राप्त गर्नेमा वीरगंज महानगरपालिका–२९ बस्डिलवाका कृष्णप्रसाद गौरो, पर्सागढी नगरपालिका–हरपुरका लक्ष्मण यादव तथा हरेन्द्रप्रसाद यादव रहेका छन्। हिँडडुलमा कठिनाइ झेलिरहेका अपाङ्ग व्यक्तिहरूको अवस्थालाई मध्यनजर गर्दै ह्विलचेयर आवश्यक परेपछि संगठनले घरमै पुगेर सहयोग पुर्‍याएको अध्यक्ष तिवारीले बताए।

व्हिल चेयर वितरणमा वीरगंज महानगरपालिका वड नं २० का वडाध्यक्ष पराग सिंहले सहयोग गरेका हुन् । उनले आउने दिनमा पनि यसप्रकारको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।

सहयोग पाएका व्यक्तिहरूले ह्विलचेयर प्राप्त भएपछि दैनिक आवतजावत तथा गाउँछिमेकमा आउजाउ गर्न सहजता हुने विश्वास व्यक्त गरेका छन्। घरमै आएर सामग्री वितरण गरिएकोप्रति खुशी व्यक्त गर्दै उनीहरूले संगठन तथा सहयोगी प्रति धन्यवादसमेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्