नेत्र विशेषज्ञ डा. प्रकाश साह डेढ दशकदेखि बाँगो आँखा सुधार्दै

सम्वादाता | २०८२ असार ३१ गते ०३: १३ मा प्रकाशित

वीरगञ्ज, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. प्रकाश साह आँखासम्बन्धी रोगको सफल उपचारमा एक प्रेरणादायी नामका रूपमा परिचित हुँदै गएका छन्। करिब १५ वर्षदेखि निरन्तर यस क्षेत्रमा समर्पित डा। साहले बाँगो (स्क्विन्ट) आँखाको सुधारमार्फत सयौं बिरामीको जीवनशैलीमा परिवर्तन ल्याएका छन्।

डा. साहका अनुसार उनले हालसम्म ५० भन्दा बढी बाँगो आँखा भएका बिरामीको सफल शल्यक्रिया गरी आँखालाई सीधा बनाइसकेका छन्। राजधानी वा विदेशमा लाखौं रुपैयाँ खर्चिनुपर्ने उपचार वीरगञ्जमै केही हजारमै उपलब्ध गराउँदै आएका उनले यस सेवाले सीमावर्ती भारतसम्मका बिरामीलाई समेत आकर्षित गरेको बताए।

“वीरगञ्जमै आधुनिक प्रविधिबाट उपचार गर्दा सस्तो, सुरक्षित र भरपर्दो भएको अनुभूति बिरामीहरूले गरेका छन्,” उनले भने।

डा. साहले शिशु अवस्था देखि वृद्धवृद्धासम्मका सबै उमेर समूहका बिरामीको बाँगो आँखा सुधार गरेका छन्। उनले भारतका विभिन्न राज्य र नेपालका अन्य जिल्लाबाट आएका बिरामीहरूको समेत सफल उपचार गर्दै आएका छन्।

एक महिलाले आफ्नो अनुभव सुनाउँदै भनिन्, “सानैदेखि मेरो आँखा भित्र फर्किएको थियो। आँखाको गडबडीले न त राम्रोसँग देखिन्थ्यो, न आत्मविश्वास थियो। तर अहिले डा। साहले गरेको सफल शल्यक्रियापछि मेरो दृष्टि स्पष्ट छ, आँखा सिधा छन् र आत्मबल फर्किएको छ। म अब निडर भएर जीवन अगाडि बढ्न सक्छु।”

डा. साहले तिलगंगा आँखा अस्पताल, काठमाडौंमा लामो समय सेवा गरिसकेका छन् भने गौर आँखा अस्पतालमा पनि केही वर्ष काम गरेका थिए। त्यहाँ संकलित अनुभवलाई अहिले वीरगञ्जमा कार्यान्वयन गर्दै उनले पूर्वाधार अभावमा उपचारबाट वञ्चित बिरामीलाई राहत दिइरहेका छन्।

अहिले उनी दैनिक झन्डै १०० जना आँखासम्बन्धी बिरामीहरूको परीक्षण तथा उपचारमा संलग्न छन्। बाँगो आँखाको सफल उपचारले दृष्टि मात्र होइन, व्यक्तिको आत्मबल र सामाजिक सहभागितालाई पनि फर्काउँछ भन्ने विश्वास उनको छ।

 

प्रतिक्रिया दिनुहोस्