स्वास्थ्यका लागि चिया कफी कतिको उपयोगी ?

काठमाडौं । धेरैजनाको बिहानीको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ। चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो। त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ। यसका फाइदा, बेफाइदाका बारेमा विभिन्न अध्ययन–अनुसन्धानहरू भएका छन्। विश्वका धेरै देशमा चिया, कफीको सेवन निकै हुने गरेको छ। अझ जाडोको समयमा त यसको सेवन निकै नै हुने गर्छ। नेपालमा पनि तराईदेखि हिमाली भेगसम्म यसको प्रयोग हुने गर्छ। पछिल्लो समय कफीको प्रयोग गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ। नेपालमा चिया र कफी खेती पनि हुने भएकाले यसको प्रयोगलाई सामान्यरूपमा लिने गरिन्छ। यहाँ चिया र कफीको प्रयोग स्वास्थ्यका दृष्टिले कतिको लाभदायक छ भन्ने कुरा उल्लेख गरिएको छ।

संसारभरि पानीपछि सबैभन्दा धेरै पिइने पेयपदार्थ चिया नै हो। हामीले धेरैथरी चिया पिउने गर्छौं– दूध हालेको सेतो चिया, दूध र मसला दुवै हालेको मसला चिया, केही पनि नहालेको कालो वा हरियो चिया, आयुर्वेदिक जडीबुटी मिसिएको हर्बल चिया आदि। धेरैले चियामा चिनी हालेर पिउँछन्, कसैकसैले चिनी नहालेको चिया मन पराउँछन्। दूध–चिनी हाली आगोमा भकभकी उमालेर पकाएको चिया स्वादिलो हुने हुँदा धेरैको रोजाइमा पर्छ। स्वास्थ्यका जानकारहरूले यस्तो चियाले स्वास्थ्यमा हानि पुर्‍याउँछ भनी खबरदारी गर्छन्। यस्तो खबरदारीलाई ध्यानमा राखेर केही मानिसले चियामा दूध–चिनी केही पनि नमिसाइ कालो चिया पिउने गर्छन्। कतिपयले त स्वास्थ्यलाई फाइदा गर्छ भनेर हरियो चिया मीठो नलागे पनि पिउने गर्छन्।

कस्तो चिया फाइदाजनक ?

स्वास्थ्यका हिसाबले चिया सेतो, कालो या हरियो कुन फाइदाजनक छ भन्नेबारे धेरैलाई जान्ने उत्सुकता हुन्छ। हामीले दिनदिनै दुई/चार कप चिया पिएकै हुन्छौं। हरियो र कालो दुवै चिया एउटै जातको क्यामेलिया नामक वनस्पतिबाट उत्पादन हुने गर्छ। चिया बगानबाट चियापत्ती टिप्दा त्यो हरियो हुन्छ, त्यसलाई प्रशोधन गरेपछि त्यो कालो हुन्छ। हरियो चिया भनेको सबैभन्दा कम प्रशोधित चिया हो। चियाको पातलाई जतिधेरै प्रशोधन गरिन्छ, त्यति नै मात्रामा त्यसमा भएका गुणकारी तत्वहरू नष्ट हुँदै जान्छन्। यो हिसाबले कालोभन्दा हरियो चियालाई बढी स्वास्थ्यवद्र्धक मान्नुपर्छ।

हरियो चियामा स्वास्थ्यवद्र्धक तत्व पोलिफिनोल र क्याटेखिन बढी पाइन्छ भने कालो चियामा यिनीहरूको मात्रा अलि कम हुन्छ तर क्याफिनको मात्रा बढी हुन्छ। क्याफिनले शरीरलाई उत्तेजित पार्ने, नशा लाग्ने कारणले त्यति राम्रो मानिंदैन। चियामा भएको गुणकारी तत्वहरू पोलिफिनोल आदिले मुटु, हाड, पेट आदिलाई फाइदा गर्छ। यसले क्यान्सरको रोकथाममा पनि मदत पुर्‍याउँछ। मधुमेह, उच्च रक्तचापजस्ता समस्यालाई पनि कम गर्न सहयोग गर्छ।

चियालाई धेरैबेर उमाल्यो, त्यसमा दूध र चिनी मिसायो भने पोलिफिनोल, क्याटेखिन आदि गुणकारी तत्वहरू निष्क्रिय भइदिन्छन्। यस कारण स्वास्थ्यका हिसाबले सोझो अर्थमा चिया कालोभन्दा हरियो राम्रो, दूध–चिनी हालेको भन्दा नहालेको राम्रो। हामीले पोलिफिनोल एन्टिअक्सिडेन्ट चियाबाटै किन लिनुपर्‍यो ? फलफूल, सागसब्जी, गेडागुडी, ड्राइफ्रुट्स आदिबाट प्रशस्त फाइबर र एन्टिअक्सिडेन्ट पाउन सक्छौं। यी चीजहरू खाए भइहाल्यो नि। चियाको स्वाद बिगारी–बिगारी टर्रो चिया नै किन पिउनुपर्‍यो।

कोक, फेन्टा, स्प्राइट, रेडबुलजस्ता पेयपदार्थहरू पिउनुभन्दा आगोमा भकभकी उमालेको दूध–चिनी हालेको चिया नै बढी फाइदाजनक हुन्छ। यस्तो चिया दैनिक एक/दुई कप पिउँदा केही पनि हानि छैन। तर जसले दैनिक दुई कपभन्दा बढी चिया पिउँछ, उसले विचार पुर्‍याउनुपर्छ—कस्तो चिया पिउने? कति कप पिउने? कुन बेला पिउने? चिनी–दूध हाल्ने कि नहाल्ने? भन्ने कुरा आफ्नो स्वास्थ्य अनुसार निर्णय गर्नुपर्छ।

यदि तपाईंलाई मधुमेह रोग छ, रगतमा ट्राइग्लाइसेराइड बढी छ, शरीर मोटो छ भने चियामा चिनी नहाली पिउनुहोस्। तपाईंले हरियो चिया पिएको राम्रो।

पेटको समस्या छ—पेट फुल्छ, पोल्छ, ग्यास्ट्रिक बढ्छ, डकार आउँछ भने चियामा दूध नहालेको राम्रो। यस्तो समस्या भएकाहरूले दूधविनाको कालो वा हरियो चिया पिउँदा राम्रो हुन्छ। तर यदि तपाईंलाई सेतो चिया मन पर्छ भने खाली पेटमा नपिउनुहोस्। पहिले पानी पिउनुहोस् र एक कपभन्दा बढी सेतो चिया नपिउनुहोस्। चियामा अदुवा मिसाए राम्रो हुन्छ।

तौल घटाउने इच्छा छ भने दूध–चिनी नहालेको हरियो चिया दैनिक चार कपसम्म पिउनुहोस्। यसभन्दा धेरै पिउँदा हानि हुन सक्छ। स्वस्थ व्यक्तिले दैनिक दुई कपसम्म दूध–चिनी हालेर पकाइएको चिया पिउन सक्छ। तर दुई कपभन्दा बढी नपिउनुहोस्। धेरै भयो भने क्याफिनका कारण नशा लाग्ने, अनिद्रा, रक्तचाप बढ्ने, मुटु छिटो धड्कने समस्या आउन सक्छ।

यस कारण सावधानीका साथ चियाको मज्जा लिनुहोस्। सेतो कि कालो चिया भन्नेमा धेरै नअड्किनुहोस्। जुन स्वाद मन पर्छ, त्यही पिउनुहोस् तर ‘धेरै’ नपिउनुहोस्।

कफीको नशा

चिया जस्तै कफीको स्वादमा रमाउने मानिस पनि धेरै छन्। धेरैलाई कफीको नशाबारे जानकारी हुँदैन। कफी र रक्सी दुवैमा नशा लाग्ने तत्व हुन्छ। कडा कफी पिउनेहरूलाई कफी र रक्सीमध्ये एउटा छोड्नुपरे रक्सी छोड्छन्। यसको अर्थ कफीको नशा अझ कडा हुन सक्छ। रक्सी र चुरोटको लत छोड्दा जस्तै कफी नपिउँदा पनि छटपटी, टाउको दुख्ने, हात काम्ने समस्या देखिन सक्छ—यसलाई विड्रअल इफेक्ट भनिन्छ।

संसारमा धेरै पिइने पदार्थहरूमध्ये कफी एक प्रमुख पेय हो। विकसित राष्ट्रहरूमा आधा जनसंख्याले कफी सेवन गर्छन्। त्यहाँ एकजनाले दैनिक सरदर तीन कप कफी पिउँछन्। कफी उत्पादन भने विकासोन्मुख देशहरूमा बढी हुन्छ। ७० भन्दा बढी देशमा कफी खेती हुन्छ। सबैभन्दा धेरै कफी उत्पादन गर्ने ब्राजिल हो, जसले विश्व उत्पादनको ३५ प्रतिशत बनाउँछ। नेपालमा पनि कफी उत्पादन हुन्छ—विशेषतः पाल्पा र गुल्मीका कफी प्रसिद्ध छन्।

कति पिउने कफी ?

रक्सीमा इथानोल र चुरोटमा निकोटिन भएझैँ कफीमा क्याफिन हुन्छ। क्याफिनकै कारण कफीमा नशा बस्छ। दुई चिया–चम्चा कफी मिसाइएको एक कप कफीमा करिब १०० मिलिग्राम क्याफिन हुन्छ। स्वास्थ्यका दृष्टिले २००–४०० मिलिग्राम क्याफिन दैनिक सुरक्षित मानिन्छ—अर्थात् दुईदेखि चार कपसम्म कफी। तर व्यक्तिको स्वास्थ्यले पनि निर्धारण गर्छ।

क्याफिन चकलेट, चिया, कोल्ड–ड्रिङ्क्स, इनर्जी–ड्रिङ्क्समा पनि पाइन्छ। इनर्जी ड्रिङ्क्स पिउँदा ‘पिउँपिउँ’ लाग्ने कारण पनि यही हो। कफी धेरै पिउँदा छटपटी, चक्कर, हात काँप्ने, अनिद्रा, मुटु छिटो धड्कने, रक्तचाप बढ्ने, अपच हुने समस्या देखा पर्न सक्छ। अत्यधिक कफी (५०–१०० कप) प्राणघातक हुन सक्छ—१०,००० मिलिग्राम क्याफिन शरीरमा पुगे मृत्यु हुन सक्छ।

कसैलाई कफी पिउउँदा आनन्द लाग्छ, कसैलाई छटपटी। थोरै पिए पनि असर गर्नेहरूलाई ‘कफी–सेन्सेटिभ’ भनिन्छ। यिनीहरूलाई थोरै कफीले पनि मुटु हल्लाउने, निद्रा बिगार्ने, पिसाब धेरै लाग्ने समस्या हुन्छ। मुटुका समस्या भएकाहरूले दैनिक एक कपसम्म कफी पिउन सुरक्षित मानिन्छ।

विज्ञानले भन्छ—एक कप कफी गर्भवतीका लागि पनि सुरक्षित छ, तर धेरै पिउँदा गर्भपात वा कम तौलको बच्चा जन्मिने खतरा बढ्छ। त्यसैले गर्भवती र १८ वर्षमुनिका बालबालिकाले कफी नपिउनु राम्रो। आफैलाई मनपर्ने प्रकार—ब्ल्याक, मिल्क, लाटे, अमेरिकानो, एक्सप्रेसो, क्यापुचिनो—छानेर पिउन सकिन्छ।

अनुसन्धानहरूले देखाएका छन्—कफी सेवन गर्नेहरू कफी नखानेको तुलना १६% बढी लामो बाँच्ने, २१% कम हृदयाघातबाट मर्ने देखिन्छ। मधुमेह, मुटुरोग, अल्जाइमर्स, डिमेन्सिया, डिप्रेसन, पार्किन्सन्स, क्यान्सर र नन–अल्कोहोलिक फ्याट्टी लिभर कम गर्न कफी लाभदायी देखिन्छ।

तर गर्भवती र बालबालिकाले कफी नपिउनु राम्रो। ब्ल्याक कफी बढी उपयुक्त हुन्छ।

प्रतिक्रिया दिनुहोस्