फ्रिजमा राखेको खानेकुरा कति दिनसम्म खान मिल्छ ?

सम्वादाता | २०८१ सावन २२ गते ०७: ४७ मा प्रकाशित

काठमाडौं – पछिल्लो समय बढ्दै गएको प्रविधिको विकासले हाम्रो दैनिक जीवनयापन निकै सहज बनाइदिएको छ। घरमा स–सानादेखि ठूला कामका लागि विद्युतीय उपकरणको प्रयोग बढ्न थालेको छ। त्यसमध्ये फ्रिज पनि एउटा हो। पहिलापहिला होटल तथा धनाढ्य परिवारमा सीमित रहेको फ्रिजको प्रयोग अहिले हरेकको भान्सामा पुगेको छ।

जसले गर्दा हाम्रो खानपानको शैली बदलिँदै गएको छ। व्यस्त जीवनशैलीका कारण फास्टफुडको प्रचलन बढेको छ। खानेकुरा एकैपटक पकाउने र फ्रिजमा राखेर खानेको संख्या बढ्दो छ। यसले समयको बचत गराउँछ र सरसफाइमा पनि धेरै समय दिनु पर्दैन भन्ने सोचाई धेरैको छ। तर यसको प्रयोगले सहजतासँगै स्वास्थ्यमा चुनौती पनि थपिन्छ।

फ्रिजमा खानेकुरा भण्डारण गर्न नजान्दा वा लापरवाही गर्दा खानेकुरा नै दूषित हुनपुग्छ। त्यस्तो खानेकुराले तपाईंको स्वास्थ्य शरीरमा गम्भीर संकट निम्तिनसक्छ। त्यसैले खानेकुरा भण्डारणमा विशेष चनाखो बन्नुपर्ने र सतर्कता अपनाउनुपर्ने चिकित्सक बताउँछन्।
पोषणविद् डा. भुपाल बानियाँका अनुसार डि फ्रिजमा माइनस १८ डिग्रीमा खानेकुरा राख्दा ब्याक्टेरियल प्रदूषण हुनबाट बचाउँछ। ब्याक्टेरिया चिसोका कारण विकास हुन नपाउँदै मर्छ भन्ने आम बुझाई हुन्छ। तर हरेक खानेकुराको आफ्नै केमिकल र विशेषता हुन्छन्। कुन खाना कति दिनसम्म भण्डारण गरेर राख्ने ? कसरी राख्ने ? भन्ने कुरा बुझ्नु जरुरी हुने उनको भनाइ छ।

फ्रिजको प्रयोग र महत्त्व
डिफ्रिजमा खानेकुरा राख्ने भन्ने कुरा मान्छेले लामो समयदेखि सिक्दै आएका हुन्। बिग्रिने सामान बरफमा प्याक गरेर राख्ने, खानेकुरा कहिल्यै अप्ठेरो पर्दा चाहिन्छ भनेर राख्ने चलन परापूर्वकालदेखि नै चलेको हो।

अहिले प्रविधिले हाम्रो दैनिक जीवन सहज बनाइदिएपछि कार्यव्यस्तताले नभ्याउने अवस्था छ। त्यस्तै सजिलोको लागि भनेर हरेकको घरघरमा यो सुविधा पुगेको छ। प्राय सबैले सजिलो असजिलो दुवै अवस्थामा फ्रिजको प्रयोग गर्न थालेको पोषणविद् बानियाँ बताउँछन्।

रेफ्रिजेटर शून्यदेखि ५ डिग्री तापक्रममा खानेकुरा राख्ने हो। यसमा राखेको खानेकुराहरु लामो समयसम्म खान मिल्ने हुँदैन। खाना ताजा र राम्रो देखियोस भन्नका लागि मात्रै यसरी राख्ने हो। त्यसमा राखेको खाना केही समयको लागि मात्रै खान मिल्ने हुन्छ। त्यसैले फ्रिजमा खाना राख्नु नराम्रो होइन तर तापक्रम मिलाएर राख्न जान्नुपर्ने उहाँ बताउनुहुन्छ।

दाल भात कति दिनसम्म राखेर खान सकिन्छ ?
पाकेको खाना सामान्यतया एक दुई दिनसम्म खान मिल्ने अवस्था हुन्छ। तर बुझ्नुपर्ने के हुन्छ भने पाकेको र नपाकेको अर्थात् काँचो खानेकुराहरु संगै राख्दा छिटो बिग्रिने सम्भावना हुन्छ। डब्लुएचओको सिद्धान्त अनुसार पाकेको खानेकुरा छुट्टै, काँचो खानेकुरा, फलफूल र तरकारी छुट्टै राखिएको छ भने दुई दिनसम्म खान मिल्छ।

डब्लुएचओको सिद्धान्त अनुसार पाकेको खानेकुरा छुट्टै, काँचो खानेकुरा, फलफूल र तरकारी छुट्टै राखिएको छ भने दुई दिनसम्म खान मिल्छ।

फ्रिजमा खाना राख्ने तरिका
पकाउने बित्तिकै तातो खाना फ्रिजमा राख्नु हुँदैन। पकाएको आधा वा एक घण्टामा सेलाइसकेपछि फ्रिजमा राख्नु राम्रो हुन्छ। आफूले भण्डारण गरेको खाना शून्य दशमलव ५ डिग्रीमा छ कि छैन भनेर सचेत बन्नुपर्ने हुन्छ। प्रिजमा राखेको कुरा ताजा बन्नका लागि २४ घण्टा कुनै पनि समय फ्रिज बन्द हुनु हुँदैन अर्थात् करेन्ट लगातार सप्लाइ भएको हुनुपर्छ। समयसमयमा बत्ती गएमा पनि फ्रिजमा राखेको खानेकुरा बिग्रने जोखिम हुन्छ।

फ्रिजमा राख्दा खानेकुराको वर्गीकरण गर्नुपर्छ। जस्तै तरकारी र फलफूलहरु, पकाएको खाना, मासु, दूधजन्य परिकारु एकैठाउँमा नराखेर छुट्टाछुट्टै राख्नुपर्छ। यसरी खाना राख्दा एउटा खानाको ब्याक्टेरिया अर्को खानमा जान पाउँदैन। जसले गर्दा भण्डारण गरिएका सबै खानेकुरा स्वस्थकर हुन्छन्।

आफूले राखेको खाना कति दिनसम्म खान मिल्ने हो त्यो बुझ्नुपर्यो। जस्तै मासु राखेको छ भने दुईदेखि तीन दिनसम्म खान सकिन्छ। अण्डालाई पाँच सातासम्म प्रयोग गर्न सकिन्छ। त्यो भन्दा धेरै समय राखेर खाँदा स्वास्थ्यमा विभिन्न समस्या देखिनसक्छन्।

कस्तो खाना फ्रिजमा राख्न मिल्दैन ?
केरा
केरालाई फ्रिजमा राख्नु हुँदैन। फ्रिजमा राख्दा यसको बोक्रा कालो भएर स्वादमा परिवर्तन आउन थाल्छ। केरा तातो हावापानीमा फल्छ। केरालाई चिसो तापक्रममा राखियो भने पाक्न मद्दत गर्ने इन्जाइमले काम गर्न छोड्छ। चिसोले केराका कोशिकालाई क्षति पुर्याउँछ। त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ।

खरबुजा
खरबुजामा पर्याप्त मात्रामा पानी पाइन्छ। गर्मीको बेलामा यसलाई चिसो बनाउन भनेर फ्रिजमा राख्छौँ। तर, खरबुजालाई पनि फ्रिजमा राख्नु हुँदैन। यसो गर्नाले यसमा पाइने एन्टी अक्सिडेन्ट कम हुने र यसको पौष्टिकता कम हुन्छ। त्यसैले विज्ञले खरबुजालाई फ्रिजमा नराख्न सल्लाह दिने गर्दछन्।

मेवा
गर्मीमा मेवाको खपत पनि निकै धेरै हुन्छ। धेरैले मेवा छिट्टै नबिग्रियोस् भनेर फ्रिजमा राख्छन्। तर, मेवालाई फ्रिजमा राख्दा यसको स्वाद र बनावटमा परिवर्तन आउन सक्छ। त्यसैले यी चिज फ्रिजमा नराखेकै राम्रो मानिन्छ।

डि फ्रिजमा राखेको मासु कति स्वस्थकर ?
मासु एकदमै छिटो बिग्रिने खानेकुरा हो। त्यसमा ब्याक्टेरिया छिटो फैलिने सम्भावना रहन्छ। त्यस्ता ब्याक्टेरियाबाट बचाउनका लागि मासु डि फ्रिजमा राख्नुपर्छ भन्ने वैज्ञानिक तथ्य छ। त्यसैले कुखुराको मासु छ भने छोटो समय, माछा र रातो मासु छ भने अलि लामो समय फ्रिजको प्रयोग गर्न सकिन्छ।

फ्रिजमा राखेको खाना खाँदा के कस्ता कुरामा ध्यान दिने ?
होटेल रेष्टुरेण्ट व्यवसायीले कुन सामान कहिले बनेको हो कति समयसम्म खान मिल्ने हो भन्ने कुराहरु उल्लेख गरेर राख्नुपर्छ। घरमा पनि खानेकुरा राख्दा किनेर ल्याएको सामानहरु मिति नाघेको भए नखाने र आफै घरमा बनाएको खानेकुरा हो भने पनि कहिले बनाएको हो कहिलेसम्म खान मिल्ने हो भन्ने कुरा थाहा पाउनु जरुरी हुन्छ।

प्रतिक्रिया दिनुहोस्