वीरगन्ज सहर र कुकुर आंतक

हेर्दा सामान्य लाग्ने विषयले कसरी जनजिवन प्रभावित हुँदैछ र यसले जनस्तरमा कस्तो समस्या ल्याउँदैछ भन्ने कुरामा महानगरपालिका सचेत हुन आवस्यक छ ।

सम्वादाता | २०८० सावन ३१ गते २०: ४७ मा प्रकाशित

सुशिल कुमार साह

लगभग २–३ वर्ष जति भयो होला । आज पनि बाटोमा भुस्याहा कुकुरहरुलाई देख्दा वीरगन्ज बस्नुहुने एकजना अंकलले भन्नु भएका कुरा सम्झन्छु । घन्टाघर देखि पावर हाउस चौक सम्म मर्निग वाक गर्ने बेला एकजना चिनेको अंकल बाटोमा भेटनु भयो र हामी सँगै मर्निग वाक गर्न लागे । 

गफ गर्ने क्रममा नेशनल ट्रेडिङ पुग्दा, त्यहाँ स्थित सुरेश पेट्रोल पम्प अगाडि लगभग १३–१४ वटा भुस्याहा कुकुरहरुको समुह जम्मा भई घुमि रहेका थिए । उनीहरुलाई देखेर अंकल एक्कासी रोकिनु भयो र बिस्तारै अगाडि बढन थाल्नु भयो । मैले वहाँलाई अंकल के भयो सोध्दा वहाँले केही पनि भन्नु भएन र पछि भन्छु भनेर, अलि अगाडि बढे पछि हामी पुन आफनो गतिमा मर्निग वाक गर्न थाल्यौ । 

पावर हाउस चौक पुगे पछि मैलै पुन वहाँलाई अघि कुकुरहरुलाई देखेर किन एक्कासी रुकनु भएको हो सोधे । वहाँ अलि भावुक हुदै “बाटोमा कुकुरहरुलाई देख्दा आफनो छोरीलाई सम्झन्छु र त्यो दिनको घटनाले मेरो मनमा भएको डरले गर्दा बाटोमा कुकुरहरु देखे पछि डर लाग्छ ।” भन्नु भयो । एकछिन म अचम्म परे र थप जानकारी लिन अलि खुलेर बताई दिनहुन अनुरोध गरे । 

वहाँले “केही वर्ष अगाडि मेरो छोरी विद्यालय जादाँ बाटोमा उसलाई भुस्याहा कुकुरले टोकेको रहेछ र सुई लगाउनु पर्छ भनी डरले घरमा कसैलाई पनि केही भनिन् । बिस्तारै उ पानी सँग डराउने, बेला बेलामा कुकुर जस्तै आवाज निकाल्ने, खाना नखाने र राती सुतने बेला अंधिकाश समयमा चिडचिडाउने भई । 

 

उसलाई डाक्टर कहाँ जाँच गराउन जादाँ रेबिजले नराम्रो तरिकाले च्यापेको र निको नहुने अवश्थामा रहेको जानकारी दिए । ‘हामीले उसलाई बचाउन अनेक प्रयास गर्दा पनि बचाउन सफल भएनौ र घरकै एउटा कोठामा रोई कराई मरेको घटना आजपनि कुकुरहरुलाई देख्दा सम्झन्छु र डर लाग्छ’ भन्नु भयो । सुनेर एकछिन म एकदम मौन र भावुक भए, वहाँको अनुहार देखेर वहाँलाई अगाँलोमा लिए र एकछिन वहाँले आफनो आखाँबाट आशु बगाएको कुरा आज पनि सम्झिन्छु । वहाँको यति कुराहरु सम्झि रहदाँ, म सँग घटेको केही घटनाहरु पनि बेला बेलामा सम्झना आउँछन् ।

एकजना एकदम मिलने वीरगन्ज बस्ने भाईको भिनाजुलाई सन्चो नभएर बेलुका छपकैयामा वहाँलाई भेटन उनको घर गएको रहेछ । भिनाजुको घर अगाडि आफनो स्कुटर पार्क गरि भित्र गयो र लगभग ५–६ घण्टा पछिफर्केर हेर्दा, उसको स्कुटरको सिटलाई ६–७ जना भुस्याहा कुकुरहरुले मिली दाँतले टोकी–टोकी च्यातिरहेका थिए । भाईले उनीहरुलाई हपकाएर, जोडले कराएर भगाई तँ दियो, तर दुर्भाग्य, बत्ती बालेर हेर्दा सिटको अगाडि पट्टिको पुरा भाग टोकेर काम नलाग्ने बनाई सकेका थिए ।

त्यो बेलुका भाईले जसोतसो आफनो मनको रिसलाई शान्त पारि घर फक्र्यो । अर्को दिन शोरुममा त्यो सिटलाई फेर्न बुझदाँ, शोरुमले त्यो सिटलाई जुन तरिकाले च्यातेको थियो, त्यसले पुरै सिटनै फेर्नु पर्छ जुनकी हतपते पाईन्दैन र अर्डर गरेर केही दिन कुरे मात्र पाउन सक्छ भनी जानकारी गरायो । खर्चबारे बुझदाँ दश हजार जति पर्न जान्छ सुन्दा भाईको रिस झन बढेर आयो । बल्ल आफनो आम्दानी बचत गरि किनेको नयाँ स्कुटरको त्यसतो अवश्थामा हेर्दा शायद त्यो मात्र नभई जो कोही पनि रिसाउँछ । अहिले भाई त्यो स्कुटरलाई घरमा थनकाई सिट कहिले आउँला र नयाँ सिट लगाएर स्कुटर पुन प्रयोग गर्छ भनि प्रतिक्षा गरि बसिरहेको छ । 

अर्को भर्खर केही दिन अगाडि घटेको घटना हो । म सँग काम गर्ने एक जना साथी काठमाण्डौबाट वीरगन्ज घुम्न आएको रहेछ । बेलुकाको समयमा वीरगन्जमा उसले शहरले खुब प्रगति गरेछ र यहाँ के स्पेशल छ घुम्न जाउँ भनी प्रस्ताव राख्दा, मैले पनि जाउँ शर्मा कहाँ मटकामा चिया खाएर गफ गरौला भनी बाईकमा बसी विरगंजको भाट भटेनीबाट उसलाई विरगंजको विकास देखाउँदै, घण्टाघरको सुन्दर परिवर्तित मुहार देखाए र त्यसपछि शंकर आचार्य गेट निरको वातावरण पनि पहिला भन्दा झन राम्रो भएको देख्दा, उ खुशी भएछ ।

त्यहाँबाट फर्कने बेला शर्मा चिया पसल सम्म जाने क्रमममा आदर्शनगर स्थित लर्ड दियालो अगाडिको खालि मैदान छेउमा बसदै गरेको एउटा कालो भुस्याहा कुकुर गुडदै गरेको बाईकको पछाडि बसेको मेरो साथीलाई खुट्टामा टोक्न प्रयास गर्यो । मैले बाईकलाई नियन्त्रणमा लिई कुकुरलाई हपकाएर भगाउन सफल तँ भए, तर मेरो साथीले ‘धत तेरी, यतिका वर्ष पछि पनि यो कुकुरहरुको आंतक अझ छदै छ । वीरगन्जको विभिन्न विकासको बारेमा समाचार सुन्दा यो समस्या पहिल्यै यहाँका महानगरपालिकाले समधान गरिसकेका होला भनि आशा राखेको थिए ।

जे भए नि गजब तरिकाले स्वागत गर्यो यो विरगंजले, धन्न कुकुरको टोकाईबाट जोगिएछु ।’ भन्योे । मैले पनि त्यो कुरालाई त्यतिबेला साथीलाई महसुस नहुने गरि मजाकमा उडाई दिए र हामी शर्मा कहाँ मटका चिया खादै गफ गरि बेलुका रमाईलो गर्यौ । 

माथि उल्लेख गरेका घटनाहरु वीरगन्ज महानगरपालिका, जुन कि मधेस प्रदेशको एक मात्र महानगरपालिका हो, त्यसका विभिन्न ठाउँँ र समयमा घटेका घटनाहरु हुन । सबै घटनाहरु फरक भएता पनि यसको मुल मुद्दा समान छ । हेर्दा सामान्य लाग्ने विषयले कसरी जनजिवन प्रभावित हुँदैछ र यसले जनस्तरमा कस्तो समस्या ल्याउँदैछ भन्ने कुरामा महानगरपालिका सचेत हुन आवस्यक छ ।

अहिले विरगंजमा भौत्तिक पुर्वाधार विकासको काम एकदम तिव्रताको साथ भईरहेको परिपेक्ष्यमा विकास सँगसँगै जुन किसिमले छाडा कुकुरहरुको आंतक बेला बेलामा हुने गरेको र यसले त्यहाँ बसोबास गर्दै आएका विरगंजवासी लगायत बाहिरबाट आएकाहरुलाई समेत समस्या पुरयाईरहेको छ, त्यसलाई पनि सँगै व्यवस्थित गर्दै जादाँ यसले विरगंजको पर्यटकिय क्षेत्र विकासमा तिव्रता ल्याई राम्रो वातावरण निर्माण गर्नमा सहयोग गर्छ भनि विश्वास छ । 

द हिमाल्यन टाईम्सको मे २०२३ मा प्रकाशित एक समाचार अनुसार आर्थिक वर्ष २०१९–२० मा देशभरका सरकारी स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोप खोज्नेको संख्या ३५,२५० थियो भने २०२०–२१ मा यो संख्या बढेर झन ५६,६१९ पुगेको छ । यसले हाम्रो देशमा भुस्याहा कुकुरको अवस्था र त्यसको व्यवस्थापन कस्तो रहेछ भने झलकाउँछ ।

विरगंज महानगरपालिकाको एक अधिकृतको भनाई अनुसार वीरगन्जमा हाल ५ हजार भन्दा माथिको संख्यामा भुस्याहा कुकुरहरु छन । केहीमहिना अगावैै महानगरपालिकाले लगभग दुई हजारको संख्यामा केही कुकुरहरु माथि बन्ध्याकरण कार्यक्रम संचालन गरेको थियो । तर, त्यतीको संख्यामा गरेको प्रयासले सोचे जस्तो प्रगति वा व्यवस्थापन गर्न सक्दछ भनी कुरा अझ पनि अन्यौल नै छ ।

कुकुर बन्ध्याकरण कार्यक्रमलाई मात्र ३–४ वर्ष सम्म निरन्तरता दिए कुकुरको संख्या वृद्धि र उनीहरुमा हुने एक खालको चिडचिडापनमा नियन्त्रण गर्न सकिन्छ विषयबारे वहाँले थप जानकारी गराउनुको साथैअरु पनि विभिन्न प्रकारका योजनाहरु बनाई कुकुर नियन्त्रण तथा व्यवस्थापन गर्ने विषयमा बजेट तथा नीतिकोकमि रहेको कुरा जानकारी गराउनुहुन्छ र यसलाई अन्य निकाय सँग मिली काम गरे सम्भव पनि छ ।

केही वर्ष अगाडि विरगंजमा बढदै गएको कुकुरहरुको संख्यालाई नियन्त्रण गर्नको लागि नगरपालिकाले सडकमा रहेका छाडा तथा भुस्याहा कुकुरहरुलाई मार्ने अभियान चलाएको थियो । यसरी कुकुरहरुलाई नियन्त्रण गर्न कार्य अमानविय र अनैतिक भएको कारण केही संघ संस्थाहरुले यसको विरोध पनि गरेका थिए ।

जस मध्ये एउटा संस्थाले मुरल आर्ट मार्फत कुकुरलाई नमारौ “Stop killing Dogs” जनचेतना कार्यक्रम गरेको पनि अझ सम्झना छ । थाहा हुनै पर्ने विषय के हो भने, त्यसरी सार्वजनिक रुपमा पशु मार्नुलाई मुलुकी अपराध संहिता २०७४ ले फौजदारी कसुरको रुपमा लिएको छ र उक्त अपराध गर्नेलाई सजायको पनि व्यवस्था रहेको छ ।

उक्त संहिता को परिच्छेद २७ को दफा २९० अन्तर्गत पशुपक्षी  प्रती निर्दय व्यवहार गर्न नहुने र उक्त कसुर गर्ने कुनै पनि व्यक्तिलाई दफा २९० (२) मा तिन महिना सम्म कैद वा पाँच हजार रुपैया जरिवाना वा दुवै सजाय हुन् सक्ने व्यवथा गरेको छ ।  यसैगरी दफा २९१ अन्तर्गत सार्वजनिक स्थलमा पशुपंक्षी मार्न नहुने भनेर प्रस्ट व्यवस्था गरेको पाईन्छ र दफा २९१ को (५) मा यस दफा बमोजिम कसुर गर्ने वा गराउने व्यक्तीलाई एक महिना सम्म कैद वा पाँच हजार रुपैया सम्म जरिवाना वा दुवै सजाय  हुनेछ भने प्रस्ट व्यवस्था गरेको छ ।

तसर्थ यसरी छाडा पशुलाई जथाभावी मार्ने प्रवृति अमानवीय मात्र नभई कानुनी रुपमा पनि अस्वीकार्य थियो र छ  पनि । पशुवध यसको समाधान होइन भन्ने कुरा केही समयको लागि उनीहरुको संख्यामा अस्थायी रुपले कमि आए पनि अहिले पुन संख्यामा क्रमशः वृद्धि भएरहेको तथ्यले पनि देखाउँछ । यद्दपी, यसको उचित व्यवस्थापन र समाधान गर्न भने अत्यावश्यक भइसकेको छ । कुकुर आंतकको समस्या देशभरी नै रहेको कारण यसलाई कसरी व्यवस्थित तरिकाले नियन्त्रण गर्ने भन्ने छलफल सबै स्थानीय तहहरुमा हुनु अति आवश्यक देखिन्छ ।

अव्यस्थित भुस्याहा कुकुरहरुलाई कसरी व्यवस्थापन गर्ने बारे नेपालमा कुनै ठोस कानुन बनेको छैन र यसबारे नेपाल सरकारले अवश्था विश्लेषण गरि मस्यौदा तयारी गर्ने क्रममा रहेको कुरा सुन्नमा आएको थियो । ठोस कानुनको व्यवस्था नभएको कारण अंधिकाश स्थानीय तहहरुले पनि यसबारे त्यति चासो नदिएको पनि हुन सक्दछ ।

तर, मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा उल्लेख भए बमोजिम यदि कसैले कुनै पशुलाई कुनै किसिमको यातान दिए, यातना दिनेलाई कसुर ठहराई सजायको व्यवस्था रहेको देखिन्छ भने नयाँ नेपालको संरचनामा प्रत्येक स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३(११) को २ को (य) मा  छाडा  पशु  चौपायाको  नियन्त्रण  व्यवथा गरेको छ र गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारमा उल्लेख भए बमोजिम स्थानीय तहले सडकमा छाडा रुपमा अव्यस्थित पशुहरुलाई नियन्त्रण तथा व्यवस्थित गर्न एकल अधिकारको प्रयोग गरि सो बारे नीति तथा नियम बनाई बजेट विनियोजन गरि कार्यावन्यन गर्न गराउन सक्ने अधिकार दिएको छ ।

वीरगन्ज महानगरपालिकाले पनि आफनो त्यो अधिकारको प्रयोग गरि नियम बनाई विरगंज शहरमा रहेको अनियन्त्रित भुस्याहा कुकुरलाई नियन्त्रण तथा व्यस्थापन गर्न सक्दछ भने थप कुकुरहरुको संख्यामा वृद्धि नहुन दिन, कुकुर बन्ध्याकरण कार्यक्रम, जसले सडकमा कुकुरहरुको संख्यामा वृद्धि हुन दिदैन । सडकमा अव्यवस्थित कुकुरहरुबाट रेबिज फैल्न नदिन, शहर तथा ग्रामिण भेगमा रेबिज भ्याकसिनको क्याम्पेन चलाउन सक्दछ ।

समुदाय स्तरमा कुकुरको टोकाईबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न उपाय तथा प्राथमिक उपचारबारे छलफल गर्न सक्दछ । जनचेतना मुलक कार्यक्रम संचालन गर्न सक्दछ । नीति नियम बनाई बजेट विनियोजन गरि पशु व्यवस्थापनको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरु सँग समवन्य गरि कुकुर सुधार वा व्यवस्थापन केन्द्रको स्थापना गर्न सक्दछ ।

स्थानीय निकायले सडक कुकुर व्यवस्थापन तथा घरपालुवा कुकुर नियमन गर्न उचित नियम कानुन बनाउनु सक्दछ र विशेष गरि बालबालिका कुकुरको टोकाइबाट हुने रेबिजको सबैभन्दा धेरै जोखिममा रहने हुदाँ उनीहरुलाई सडक कुकुर र घरपालुवा कुकुरहरु सँग गर्ने व्यवहार सिकाउन सक्छ, जस्ता गतिविधिहरु संचालन गरि विरगंजमा मात्र विगतको पाँच वर्षमा नभएको भौतिक पुर्वाधार विकासमहानगरपालिकाले यति कम समयमा गरिरहनुको साथै कुकुरहरुको आतंकबाट हुन सक्ने जोखिमलाई पनि सँगै न्युनिकरण गरि सफा र सुन्दर विरगंज शहर सँगै कुकुररहित शहर पनि बनाउन सक्नु पर्छ । 

 

प्रतिक्रिया दिनुहोस्