मधेश सुक्खाग्रस्त क्षेत्र घोषणा हुन्छ - खानेपानी मन्त्री

वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधीहरुले पानीको समस्या समाधानका लागि संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवलाई गुहारेका छन् ।

सम्वादाता | २०८० सावन १८ गते २२: १३ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधीहरुले पानीको समस्या समाधानका लागि संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवलाई गुहारेका छन् । बिहीबार वीरगन्जमा आयोजित कार्यक्रममा सहभागी खानेपानी मन्त्री यादवसामु महानगरका ३२ वटै वडाका वडाअध्यक्षहरुले महानगरमा खानेपानीको चरम संकट पारेकाले तत्काल समस्या समँधान गरिदिन गुहार लगाएका हुन् ।

वीरगन्ज महानगरमा दुई हप्ता यतादेखि ९० प्रतिशत चापाकल सुक्दा खानेपानीको सकंटसंग महानगरवासी जुधिरहेका छन् । महानगरपालिकाले वडा वडामा ट्यांकरबाट पानी वितरण गरिरहेको छ । तर त्यसले पानीको संकट नटरेकाले स्थायी समधानका लागि बिहीबार वीरगन्जमै खानेपानी मन्त्री यादवलाई बोलाएर महानगरपालिकाले छलफल कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रममा ३२ वटै वडाका वडाअध्यक्षहरुले पानीको चरम संकटले महानगरवासी त्राहिमाम भएकाले पानीको समस्या समधानका लागि मन्त्री यादवलाई गुहारे । वडाअध्यक्षहरुले महानगरका प्रायसबै चापाकलहरु सुकेर महानगरवासीले पिउने पानी समेत नपाउँदा कोरोना महामारीको भन्दापनि भयावह अवस्था सृजना भएको बताए । वीरगन्ज २४ का वडाअध्यक्ष विजय कुर्मीले भने,‘ टोल टोलमा पानीको संकट छ , पानी बाँड्न ट्यांकर पुग्दा पालो थाप्न हानथाप हुन्छ , अहिले देखिएको पानीको संकट त कोरोना महामारीको भन्दापनि भयावह छ ।

 

वीरगन्ज ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले भने,‘ यस्तो भयावह अवस्था त कोरोना महामारीका बेला पनि थिएन , एक एक थोपा पानीका लागि मान्छेहरु ब्याकुल छन् , अहिलेको पानीको संकटले कोरोनाकालको भन्दापनि विकराल समस्या भएको छ । वीरगन्ज २६ का वडा अध्यक्ष शम्भु मिश्राले महानगरमा अहिले देखिएको पानीको संकट समाधान महानगरपालिकाको एक्लो प्रयासले सम्भव नभएकाले यसमा संघ र प्रदेश सरकारले अग्रसरता लिनु पर्ने बताए । उनले भने,‘ ट्यांकरबाट ओसारेर घरघरमा पानी बाँडिरहेका छौ , राति १ बजेपछि मात्रै सुत्न पाइएको छ ।

मन्त्री यादव समक्ष वडाअध्यक्षहरुले हरेक वडाको सार्वजनिक स्थानमा नेपाल खानेपानी संस्थानको धारा जडान गरिदिन आग्रहपनि गरे । साथै नीजी घरमा संस्थानको धारा जडान गर्ने प्रकृया झन्झटीलो हुनुका साथै समयपनि बढि लागिरहेकाले नगरवासी थप पिडामा परेको गुनासो उनिहरुले मन्त्रीलाई सुनाए ।त्यस कारण संस्थानको धारा जडान प्रकृया सहज र छिटो छरितो बनाइदिन उनले मन्त्री यादवसंग अनुरोधपनि गरे ।

वीरगन्ज ११ का वडाअध्यक्ष अजय चौरसियाले भने,‘ संस्थानको पाइप लाइन १ देखि १७ र १९ नम्बर वडामा मात्रै छ , बाँकी १४ वटा वडामा पाइपलाइन नै छैन , पाइपलाइन पुगेका ठाँउमा पनि संस्थानले सहज र छिटोछरितो धारा जडान गरिरहेको छैन । वीरगन्ज ५ का वडाअध्यक्ष प्रदीप चौरसियाले वीरगन्जस्थित खानेपानी संस्थानमा जनशक्तिको अभावका कारण धारा जडानमा समस्या भइरहेकाले आवश्यक जनशक्ति थपिदिन मन्त्री यादवसंग आग्रह गरे ।
वीरगन्ज २२ का वडाअध्यक्ष द्वारिका महत्तोले महानगरका विभिन्न वडामा प्रयोगविहिन रहेका इनारहरुको जीर्णेद्वार गरि पानीको प्रबन्ध मिलाई दिन मन्त्री यादवसंग अनुरोध गरे । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले महानगरका ३२ मध्ये २२ वटा वडा ९ वडा नम्बर १ देखि १७ र १९ ० मा रहेका ९० प्रतिशत चापाकल सुकेको जानकारी गराए ।

पानीको हाहाकारले संकट खेपिरहेका महानगरबासीलाई राहत दिन महानगरपालिकाले ठाँउ ठाँउमा डिप बोरिङ र सार्वजनिक धारा जडान गर्नुका साथै ट्यांकरबाट पानी वितरण गरिरहेको उनले बताए । तर महानगरपालिका भएको सिमित बजेट र श्रोत–साधनले थेग्न नसकिरहेकाले यसमा संघ र प्रदेश सरकारले तत्कालै अग्रसरता लिनुपर्ने उनले बताए । उनले मधेसलाई तत्काल ‘ सुख्खाग्रस्त क्षेत्र’ घोषणा गर्न संघ सरकारसंग मागपनि गरे ।

कार्यक्रममा खानेपानी संस्थानका वीरगन्ज शाखा प्रमुख निरण महर्जनले कार्यालयमा नयाँ धारा जडान गर्न चाहने सेवाग्राहीको चाप एक्कासी बढेकोले जनशक्तिको कमीले समस्या भएको बताए । उनले भने,‘ पानीको समस्या सुरु भएपछि सेवाग्राहीको चाप बढ्यो , त्यसलाई मध्यनजर गरि जनशक्ति थप्नका लागि माथिल्लो निकायमा पत्रचार गरिसकेका छौ , अहिले भने भएकै जनशक्ति र श्रोतसाधनको भरपुर उपयोग गरिरहेका छौ । दैनिक ३० देखि ४० वटा नयाँ धारा जडान गरिरहेको जानकारी पनि उनले गराए ।

खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुषालले खानेपानीको चरम संकटको सामना गरिरहेको वीरगन्ज महानगरमा संस्थानले अरु ५ वटा महानगर भन्दा सबै भन्दा बढि जनशक्ति र श्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता जनाए । संस्थानका महाप्रबन्धक ईश्वर प्रसाद मरासिनीले संस्थानको पाइप लाइन नबिछ्याइएका महानगरका बाँकी १४ वटा वडामा पाइपलाइन बिछ्याउनका लागिग आवश्यक बजेटको व्यवस्थापन गरिदिन मन्त्री यादवसंग अनुरोध गरे ।

कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य श्याम पटेलले वीरगन्ज महानगरसहित पर्सा जिल्लामा देखिएको पानीको संकट बारे अहिलेसम्म बैठक र भाषण गर्ने काममात्रै भएका तर समस्या समाधानका लागि कुनै ठोस पहल हुन नसकेको टिप्पणी गरे । मन्त्री यादव समक्ष आक्रोश पोख्दै पटेलले भने,‘ बैठक र भाषण धेरै भयो अहिलेसम्म , त्यसका कारण अब सरकार र यसको निकायले काम गर्नु पर्यो ।

पालिकासंग पर्याप्त बजेट र श्रोतसाधन भएकाले खानेपानी मन्त्रालयले तत्काल बजेटको व्यवस्थापन गरेर जनतालाई राहत पुर्याउनु पर्नेमा उनले जोड दिए । पर्सा २ का प्रतिनिधी सभा सदस्य अजय चौरसियाले अर्थमन्त्री प्रकाशरण महतलाई नै भेटेर वीरगन्जसहित पर्सा जिल्लामा निम्तिएको पानीको संकट समाधानका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन आग्रह गरेको जानकारी गराए ।

संसद विकास कोषको रकम १ करोड भन्दा कमको योजनामा खर्च गर्न नपाउने संवैधानिक प्रावधानले समस्या भएको बताउदैं उनले भने,‘ त्यसमा पनि संसद विकास कोष विरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको छ, त्यो मुद्धा छिनोफानो हुने बित्तिक्कै मैले मेरो संसद विकास कोषको १ करोड रकम डिप बोरिङ जडानमा खर्च गर्ने घोषणा अहिले नै गर्छु ।

उनले संस्थानमा सेवाग्राहीको चाप बढेकाले त्यसअनुसारको जनशक्ति तत्काल थप गरिदिन मन्त्री यादवसंग आग्रह गरे । पर्साका १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले वीरगन्जसहित मधेसमा अहिले भइरहेको पानीको संकट बारे आफुले संसदमा पटक पटक आवाज उठाएको बताए । यसका साथै प्रधानमन्त्रीसमेतलाई भेटेर ध्यानाकर्षण गराइसकेको उनले सुनाए । तर यति गर्दापनि संघ सरकार समस्या समाधानका लागि पहल गर्नुको सट्टा कानमा तेल हालेर बसेको गुनासो उनले गरे ।

उनले भने,‘ वीरगन्जसहित मधेसमा अहिले पानीको हाहाकार छ , मधेसमाथि यत्रो बज्रपात पर्दापनि संघ सरकार कानमा तेल हालेर बसेको छ , आजपनि मधेसलाई हेर्ने संघ सरकारको नजर विभेदकारी छ । मन्त्रीस्तरीय निर्णयबाट मधेस प्रदेशलाई ‘ सुख्खाग्रस्त क्षेत्र’ घोषणा गरेर यहाँका जनतालाई राहत दिन उनले आग्रह गरे । यसका साथै अहिले तत्कालका लागि वीरगन्जस्थित संस्थानको शाखा कार्यालयमा जनशक्ति थपिदिन मन्त्री यादवसंग उननले अनुरोध गरे ।

कार्यक्रममा सहभागी वीरगन्ज महानगर र पर्साका जनप्रतिनिधीहरुको गुनासो सुनेपछि खानेपानी मन्त्री यादवले अब बस्ने मन्त्रीपरिषद बैठकबाटै मधेस प्रदेशलाई ‘सुख्खाग्रस्त क्षेत्र’ घोषणा गराउने प्रतिबद्धता जनाए । पानीको संकटको सबैभन्दा बढि सामना गरिरहेकोे वीरगन्ज महानगरपालिका मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताउदै मन्त्री यादवले उपलब्ध साधन–श्रोत र बजेटले भ्याएसम्म महानगरको समस्या समाधानमा आफु लाग्ने बताए ।

उनले वीरगन्जस्थित संस्थानको कार्यालयमा अन्य जिल्लाबाट जनशक्ति झिकाएर थप गर्ने र अहिले उपलब्ध जनशक्ति र साधन–श्रोतको भरपुर उपयोग गरेर सेवा प्रवाह गर्न कार्यक्रममा सहभागी संस्थानका अध्यक्ष , महाप्रबन्धक र शाखा प्रमुखलाई निर्देशनपनि दिए ।
उनले नयाँ धारा जडानको प्रकृया सहज र छिटोछरितो बनाउनपनि संस्थानका कर्मचारीलाई निर्देशन दिए ।

महानगरका मेयर सिंहको अध्यक्षतमा भएको उक्त छलफल कार्यक्रममा प्रदेश सभा सदस्य प्रमोद जयसवाल , जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ ,संविधानसभा सदस्य अजय द्विवेदी , वीरगन्ज महानगरपालिका उपमेयर इम्तियाज आलम , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , नेपाली कांग्रेसका महानगर सभापति मणिन्द्रलाल श्रेष्ठ , जनता समाजवादी पार्टीका महानगर अध्यक्ष इश्वरचन्द्र यादव, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलका साथै महानगरका ३२ वटै वडाका वडाअध्यक्ष , राजनीतिक दलका नेता लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्