आधा तलबमा स्वंयसेवक शिक्षक भर्ना गर्दै वीरगन्ज महानगरपालिका

वीरगन्ज महानगरका लागि झण्डै ३ सय जना शिक्षक अभाव रहेको छ ।

सम्वादाता | २०८० जेठ ८ गते १७: ४३ मा प्रकाशित

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्वंयसेवक शिक्षक भर्ना गर्ने भएको छ । विद्यालयमा शिक्षक अभाव हुँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको भन्दै महानगरले सोमबार स्वंयसेवक शिक्षक भर्नाका लागि आवेदन आह्वान गरेको हो ।

स्वंयसेवक शिक्षकलाई प्रचलित तलब स्केलको ५० प्रतिशत हुने गरि निर्वाह खर्च दिने महानगरपालिका कार्यालयले जनाएको छ । विभिन्न विषयमा आधारभूत तह ६–८ का लागि १०६ जना स्वंयसेवक शिक्षक माग गरेको महानगरले माद्यमिक तहका लागि ७४ जना शिक्षक माग गरेको छ ।

आधारभूत तहमा नेपाली विषयको लागि २९ जना, अंग्रेजी १५, गणित १८, विज्ञान २६, सामाजिक १० र कम्प्युटर विषयका लागि ८ जना स्वंयसेवक शिक्षक माग गरिएको छ । यस्तै माद्यमिक तहका लागि नेपाली विषयको १४ जना, अंग्रेजी १०, गणित १३, विज्ञान १२, सामाजिक १०, स्वास्थ्य जनसंख्या तथा वातावरण २, अर्थशास्त्र ४, लेखा २, गणित÷विज्ञान ५ र कम्प्युटर २ जना शिक्षक माग गरिएको छ ।

शैक्षिक योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेका जो कोही नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । वीरगन्ज महानगरका लागि झण्डै ३ सय जना शिक्षक अभाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्