वीरगञ्ज भन्सारमा भीड व्यवस्थापन गर्न एकीकृत सुरक्षा पोइन्ट सञ्चालनको तयारी

प्रजिअ दाहालसंग छलफल गर्दै पटेल । तस्वीरः हमार वीरगंज

वीरगञ्ज । वीरगञ्ज भन्सार क्षेत्रमा हुने भीडभाड तथा सवारी आवागमनको समस्या व्यवस्थापन गर्न एकीकृत सुरक्षा पोइन्ट सञ्चालन गर्ने तयारी गरिएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा सम्बन्धित निकायहरूसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ।

वीरगञ्ज महानगरपालिकाका मेयरका प्रत्याशी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि सुधीर पटेलका अनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भएको छलफलपछि एकीकृत सुरक्षा पोइन्ट सञ्चालनको कामलाई तीव्रता दिइएको हो।

पटेलले भन्सार क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज भन्सार कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघसँग समन्वय गरेर योजना अघि बढाइएको जानकारी दिएका छन्।

उनका अनुसार एकीकृत सुरक्षा पोइन्ट सञ्चालनका लागि करिब एक महिनाअघि नै आवश्यक काम सुरु गरिएको थियो। आगामी एक महिनाभित्र पोइन्ट सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए।

नेपालको प्रमुख व्यापारिक नाकामध्ये एक वीरगञ्ज भन्सार क्षेत्रमा दैनिक ठूलो संख्यामा मालवाहक तथा अन्य सवारीसाधन आवतजावत गर्छन्। सवारीसाधनको चाप र उचित व्यवस्थापनको अभावका कारण विभिन्न समयमा भन्सार क्षेत्रमा भीडभाड हुने गरेको छ। यसले सवारी आवागमन प्रभावित हुनुका साथै सर्वसाधारणले समेत सास्ती भोग्नुपर्ने अवस्था छ।

एकीकृत सुरक्षा पोइन्ट सञ्चालनमा आएपछि भन्सार क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन, सवारीसाधनको आवागमन व्यवस्थित गर्न तथा भीड नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ।

योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, भन्सार कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघबीच समन्वय तथा सहकार्य आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्