वीरगंजमा सडक विस्तारपछि भत्काइएका घरबाट सामान चोरीको जोखिम बढ्यो

भत्काईएको घरबाट सामान झिक्दै एक ब्यक्ति ।

 वीरगंज । वीरगंजको मुख्य सडक विस्तारको क्रममा सडकको दुवैतर्फ २५–२५ मिटरको दायराभित्र पर्ने घर तथा अन्य संरचना भत्काइएपछि त्यहाँ रहेका निर्माण सामग्री र घरभित्रका सामान चोरी हुन थालेका छन् । भत्काइएका घरबाट निकालिएका काठ, फलाम, झ्यालढोका, ग्रिल, विद्युतीय सामग्री तथा अन्य उपयोगी सामान चोरी हुन थालेपछि प्रभावित घरधनीहरू थप समस्यामा परेका छन् ।

आदर्शनगर चोकका घरधनी महेशकुमार जटियाले सडक विस्तारका लागि घर तथा संरचना भत्काइएपछि कतिपय घरधनीले आफ्ना सामान सुरक्षित स्थानमा सार्न नपाउँदै दिनदहाडै चोरीको जोखिम बढेको बताएका छन् । भत्काइएका संरचनाका भग्नावशेष र खुला अवस्थामा रहेका घरहरूमा चोरहरूको पहुँच सहज हुँदा बाँकी रहेका सामानसमेत असुरक्षित बनेका छन् । मुख्य सडकका घरधनी तथा व्यापारीहरू आआफ्नो सम्पत्तिको सुरक्षा कसरी गर्ने भन्ने चिन्तामा परेका छन् ।

गत वैशाख ६ गतेदेखि सडक विस्तारको पहिलो चरण अन्तर्गत गण्डकदेखि भन्सार क्षेत्रसम्मका करीब एक हजार २०० संरचना भत्काउने काम शुरू गरिएको थियो । त्यसपछि सडकको सीमाङ्कन गरी दोस्रो चरणको काम अघि बढाइएको थियो । गण्डकदेखि मितेरी पुलसम्म सडकको दुवैतर्फ रहेका करीब सबै घर तथा अन्य संरचना हटाउने काम सम्पन्न भएको छ ।

संरचना हटाउने कार्यसँगै सडक आसपासका क्षेत्र खुला बनेका छन् । तर भत्काइएका घरबाट निस्किएका निर्माण सामग्रीको उचित व्यवस्थापन तथा बाँकी रहेका घरेलु सामानको सुरक्षामा पर्याप्त ध्यान नदिंदा चोरीका घटना बढेका छन् । विशेषगरी रातिको समयमा निगरानी कमजोर भएका स्थानमा सामान चोरी हुने सम्भावना बढी रहेको स्थानीयको चिन्ता छ ।

घर भत्काउने क्रममा आर्थिक क्षति बेहोरेका घरधनीहरूका लागि बाँकी रहेका सामग्री पनि महŒवपूर्ण सम्पत्ति हुन् । काठ, फलाम, ढोका, झ्याल, सेनिटरी सामग्री तथा अन्य पुनर्प्रयोग गर्न सकिने वस्तु चोरी हुँदा उनीहरूलाई थप आर्थिक भार पर्ने देखिन्छ । कतिपय सामग्री बिक्री गरेर वा पुनर्प्रयोग गरेर क्षति कम गर्ने योजना बनाएका घरधनीहरू चोरीका घटनाबाट प्रभावित हुन सक्छन् ।

यस अवस्थालाई ध्यानमा राख्दै सम्बन्धित निकायले सडक विस्तार क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी प्रहरीको नियमित गस्ती बढाउने, रातिको समयमा जोखिमयुक्त स्थानमा निगरानी गर्ने, चोरी भएका सामग्रीको खोजी गर्ने तथा भत्काइएका संरचनामा बाँकी रहेका सामान सुरक्षितरूपमा हटाउन घरधनीलाई सहजीकरण गर्ने व्यवस्था आवश्यक छ ।

त्यसैगरी, घरधनीहरूले पनि आफ्नो बाँकी सामानको सूची तयार गरी सम्भव भएसम्म सुरक्षित स्थानमा सार्ने, निर्माण सामग्री खुला ठाउँमा लामो समयसम्म नराख्ने र शङ्कास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।

वीरगंजको मुख्य सडक विस्तारले यातायात व्यवस्थापन र शहरी पूर्वाधार विकासमा महŒवपूर्ण भूमिका खेल्ने अपेक्षा गरिए पनि संरचना भत्काइएपछि उत्पन्न हुने सुरक्षा चुनौतीलाई बेवास्ता गर्न मिल्दैन । सडक विस्तारका कारण घरबार तथा सम्पत्तिमा क्षति बेहोरेका नागरिकले थप चोरीको मार खेप्न नपरोस् भन्नका लागि स्थानीय प्रशासन, प्रहरी, सडक विभाग र सम्बन्धित स्थानीय निकायबीच समन्वय आवश्यक छ ।

सडक विस्तारको कामलाई व्यवस्थितरूपमा अघि बढाउनुका साथै भत्काइएका घरका बाँकी सामग्री र प्रभावित नागरिकको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु पनि सम्बन्धित निकायको महत्त्वपूर्ण जिम्मेवारी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्