वीरगञ्जका सबै वडा कार्यालयबाटै अब मालपोत कर तिर्न सकिने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज बनाउने उद्देश्यले सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्कलन गर्ने व्यवस्था लागू गर्ने भएको छ। महानगरपालिकाले आगामी असोज १२ गतेदेखि सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर सङ्कलन गर्ने जनाएको छ।

सेवा प्रवाहलाई नगरवासीको घरदैलोनजिक पुर्‍याउने नीति अनुरूप महानगरपालिकाले वडा तहबाटै मालपोत कर बुझाउने व्यवस्था मिलाएको हो। नयाँ व्यवस्थासँगै मालपोत कर तिर्न महानगरपालिकाको मुख्य कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएको छ।

महानगर प्रमुख राजेशमान सिंहले नगरवासीलाई सेवा लिन अनावश्यक झन्झट नहोस् र आफ्नै वडा कार्यालयबाट सहज रूपमा सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले वडा कार्यालयबाटै मालपोत कर सङ्कलनको व्यवस्था गरिएको बताए।

उनले महानगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई सकेसम्म नगरवासीको घरदैलोनजिक पुर्‍याउने तथा सेवा लिन लाग्ने समय र खर्च घटाउने गरी काम भइरहेको बताए।

“सामान्य सेवाका लागि पनि महानगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न हामीले सेवा विकेन्द्रीकरणमा जोड दिएका छौँ,” नगरप्रमुख सिंहले भने, “वडा कार्यालयबाटै मालपोत कर बुझाउने व्यवस्था भएपछि नगरवासीलाई थप सहज हुनेछ।”

अब नगरवासीले आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगेर मालपोत कर बुझाउन सक्नेछन्। कर सङ्कलनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक व्यवस्था मिलाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहराले सबै वडा कार्यालयलाई निर्देशन दिएका छन्।

प्रमुख प्रशासकीय अधिकृत बोहराले जारी गरेको सूचनामार्फत महानगरपालिकाले नगरवासीलाई असोज १२ गतेदेखि सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउन आग्रह गरेको छ।

वडा कार्यालयबाटै मालपोत कर सङ्कलन सुरु भएपछि करदाताको समय बचत हुनुका साथै महानगरको मुख्य कार्यालयसम्म पुग्दा लाग्ने अतिरिक्त समय र खर्चसमेत घट्ने महानगरपालिकाको अपेक्षा छ। सेवा विकेन्द्रीकरणमार्फत कर सङ्कलन प्रक्रिया थप सहज, सरल र प्रभावकारी हुने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्