वीरगन्ज वडा नम्बर ३० का वडाध्यक्षले छात्रालाई वितरण गरे कम्प्युटर

नेपाल राष्ट्रिय आधारभुत विद्यालय लालपर्सामा आयोजित एक कार्यक्रमका बीच छात्राहरुलाई १६ थान डेस्कटप कम्प्युटर वितरण गरिएको वडा अध्यक्ष मनोज कुमार यादवले जनाए । 

सम्वादाता | २०८० जेठ २ गते १५: ०१ मा प्रकाशित

वीरगन्ज – वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा एसईई उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत १६ जना छात्रालाई कम्प्युटर वितरण गरिएको छ । नेपाल राष्ट्रिय आधारभुत विद्यालय लालपर्सामा आयोजित एक कार्यक्रमका बीच छात्राहरुलाई १६ थान डेस्कटप कम्प्युटर वितरण गरिएको वडा अध्यक्ष मनोज कुमार यादवले जनाए । 

वडा अध्यक्ष यादवले आफ्नो चुनावी घोषणापत्र अनुसार एसईई उत्तीर्ण गरि हाल कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई कम्प्युटर प्रदान गरिएको बताए । ‘महानगरपालिका भएपनि मेरो वडा ग्रामीण भेगमा पर्छ, कतिपय छात्रा एसइइ उत्तीर्ण गरेपछि पठनपाठनलाई अगाडि बढाउदैनन्,’ वडाध्यक्ष यादवले भने, ‘छात्राहरुलाई अध्ययन प्रति प्रोत्साहन गर्ने उद्देश्यले एसइइ उत्तीर्ण गरि कक्षा ११ मा अध्ययन गरिरहेका १६ जना छात्रालाई कम्पयुटर प्रदान गरेका छौ ।’ 

उनका अनुसार स्कुलमा कम्प्युटर कक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुको गाउ कम्प्युटर नहुदा पढाई प्रभावित भइरहेको हुन्छ । ‘११ 
कक्षामा अध्ययनरत छात्रालाई कम्प्युटर प्रदान गर्दा नया छात्राहरुलाई पनि पढाई प्रति हौसला बढ्छ,’ उनले भने, ‘महानगर भएपनि गाउमा कम्प्युटरको व्यवस्था छैन् ।’

यसपाली एसइइ परिक्ष सहभागी भएका छात्राहरुलाई असार मसान्तपछि कम्प्युटर प्रदान गर्ने योजना रहेको वडाध्यक्षले सुनाए । छात्राहरुलाई ल्यापटप वितरण गर्ने योजना भएपनि बजेट अभावका कारण डेस्कटप कम्प्युटर वितरण गर्नुपरेको उनले सुनाए । 

आफ्नो कार्यकाल भरि एसइइ उत्तीर्ण गरि कक्षा ११ मा अध्ययनरत छात्रालाई कम्प्युटर वितरण गर्ने उनले बताए । ‘सरकारी विद्यालयको खस्किदै गइरहेको शैक्षिक अवस्थालाई सुधार गर्ने योजना अनुसार काम थालिएको छ,’ उनले भने, ‘वडामा रहेका ३ वटा सामुदायिक विद्यालयलाई महानगरकै नमुना विद्यालय बनाउने उद्देश्य लिएका छौ“ ।’

पर्सा क्षेत्र नं. १ का सांसद एवम् पूर्व वनमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्राहरुलाई कम्प्युटर वितरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्