२५ वर्ष पुरानो रुपमा फर्किए सोनम लामा

अभिभावक संघर्ष समितिका अध्यक्षलाई दिए ज्यान मार्ने धम्की

सम्वादाता | २०७९ कार्तिक २९ गते २०: १७ मा प्रकाशित

पर्सा : बीरगन्जस्थित गौतम माविका सन्चालक सोनम लामा विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्साले पक्राउ पुर्जी जारी गरेको छ । अभिभावक संघर्ष समिति, पर्साका अध्यक्ष संदीप साहलाई ज्यान मार्ने धम्की दिएको विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा परेको उजुरीको आधारमा छानबिनका लागि उपस्थित गराउन भन्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र काटेको हो ।

लामाले संघर्ष समितिका अध्यक्षलाई ज्यान मार्ने धम्की दिएको प्रकरण बाहिरिएसँग उनको विगतको बारेमा वीरगन्जवासीले चर्चा गर्न थालेका छन् । २५ वर्ष अगाडि लामा वीरगन्जमा टोले गुन्डाहरुसँग कुटपिट गर्ने, हप्तै पिछे झगडा गर्ने लगायतका गतिविधिमा संलग्न हुन्थे । त्यसबेला इलाका प्रहरी कार्यालय श्रीपुरमा रहेका इन्सपेक्टर विक्रम सिंह थापाले सोनाम लामाको गुन्डागर्दी नियन्त्रण गरेका थिए ।

उजुरीकर्ता साहले ज्यान मार्ने धम्की दिएको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गराएका छन् । उजुरी सम्बन्धमा कारवाही प्रक्रिया अघि बढाइएको र छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराईदिन भन्दै जिल्ला प्रहरी कार्यालय, पर्सालाई निर्देश गरिएको छ ।

विद्यालयले चालु शैक्षिक सत्रमा लगभग एकैपटक ४५ प्रतिशत शुल्क वृद्धि किन गरिएको हो भन्दै जानकारी माग्न अध्यक्ष साहले निवेदन दर्ता गराएकोमा विद्यालयका सन्चालक आफुलाई धम्की दिएको आरोप लगाएका छन् । गत कार्तिक १७ गते विद्यालयमा गई शुल्क वृद्धिको कारणसहितको सूचना आफुले माग गरेको अध्यक्ष साहले बताए ।

तर संचालक लामाले भने अश्लिल गाली गर्दै लछारपछार गरेको विद्यालय बाहिर निकालेको साहले बताए । साथै, लामाले अब बाटोमा देखिएमा ज्यान मार्ने र परिवारका सदस्यको अपहरण समेत गराईदिने भन्दै धम्की दिएको साहको आरोप छ ।

चालु शैक्षिक सत्र विद्यालय अस्वाभिक रुपमा अत्यन्त धेरै शुल्क वृद्धि गरेको भन्दै सो विद्यालयका अभिभावकहरु आन्दोलित छन् । त्यस यता विद्यालय र अभिभावक बीच वादविवाद चलिएको छ ।

उता, शुल्कको विषयको विवादलाई हल गर्न बीरगन्ज महानगरपालिकाले भने विद्यालय वर्गीकरण र शुल्क निर्धारणको काम अघि बढाएको भए पनि हालसम्म त्यसको छिनोफानो भने गरिसकेको छैन ।

यस्तै, शुल्कको छिनोफानो नलागेसम्मको लागि तत्कालको लागि शुल्कको विषयको विवाद मिलाउन भन्दै महानगरपालिकाले सर्वपक्षीय बैठक डाकेर सहमति समेत गराएको छ । तर सो विद्यालय र अभिभावक बीचको विवाद भने टुंगिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्