भारतले धान, चामल निर्यातमा लगाएको २० प्रतिशत कर हटाउन माग

वियर, रक्सी उत्पादन गर्ने उद्योगहरुले कनिका आयात गर्ने र ब्वाइलर सञ्चालन गर्ने उद्योगहरुले भुस आयात गर्ने गरेकोले यस्ता उद्योगहरुमा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ ।

सम्वादाता | २०७९ भदौ २४ गते १६: १९ मा प्रकाशित

वीरगन्ज– भारतले चामल निर्यातमा लगाएको २० प्रतिशत कर हटाउन वीरगन्ज उद्योग वाणिज्य संघले माग गरेको छ । बासमती र उसिना बाहेक निर्यात हुने अन्य चामलमा भारतले २० प्रतिशत कर लगाएको हो । भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि वित्तीय मन्त्रालय अन्तर्गत राजश्व विभागले धान र चामल निर्यातमा बिहीबार कर लगाउने निर्णय गरेको हो । शुक्रबार देखि नै बढेको कर लागू भएको छ । संघले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि निर्यात कर हटाउन नेपाल सरकारले यथाशिघ्र भारत सरकारसँग पहल गर्नुपर्ने माग गरेको हो ।
‘मित्रराष्ट्र भारत सदियौंदेखि नेपालको असल छिमेकी मुलुकको रुपमा रहेको र दुवै मुलुकबीच सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक सम्बन्ध रहेको तथा व्यापारिक क्रियाकलाप हुँदै आएकोमा दुई मत छैन,’ संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल र भारत बीचको सिमाना खुला रहेको कारण एक देशको अर्थतन्त्र अर्को देशमा भर पर्ने भएकोले एकले अर्को देशको अर्थतन्त्रलाई सघाउ पुर्‍याउने किसिमले नीतिगत व्यवस्था गनुपर्ने सङ्घको मान्यता रहेको छ ।’ नेपालको सबैभन्दा ठूलो व्यापारिक पार्टनरको रुपमा रहेको भारतसँग नेपालको झण्डै ८० देखि ८५ प्रतिशतसम्म व्यापारिक क्रियाकलाप भइरहेको छ । त्यसमा पनि धान, गहु, चामल, गेडागुडी लगायतका खाद्यान्नहरुको आयात अझ ठूलो मात्रामा हुने गरेको छ ।
नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन नसकेकोले खाद्यान्नको लागि आयातमा निर्भर रहेको छ । अन्य मुलुकबाट नेपालले खाद्यान्न आयात गर्न सक्ने अवस्था नरहेकोले खाद्यान्न आयातको लागि एक मात्र विकल्पको रुपमा भारत रहेको संघले जनाएको छ । ‘यसरी भारतले समेत धान, चामल लगायतका वस्तुहरुमा एकै पटक २० प्रतिशत भंसार शुल्क कायम गर्दा नेपालमा सञ्चालित चामल मिलहरु बन्द हुने संघारमा पुगेका छन्,’ संघका अध्यक्ष डा.सुवोध गप्ता भन्छन्, ‘यसको साथै आम उपभोक्ताहरु समेत थप महँगीको मारमा पर्ने भएका छन् ।’
वीरगन्ज उद्योग वाणिज्य संघका अनुसार गत वर्ष मात्रै साढे पाँच लाख मेट्रिक.टन धान, ५ लाख २० हजार मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन कनिका आयात गरिएको थियो । भारतले २० प्रतिशत भन्सार शुल्क लागु गरेकोले गत वर्ष आयात भएको धान, चामल र कनिकाको मूल्य बराबरको मूल्य वृद्धि हुने निश्चित देखिन्छ । त्यस्तै वियर, रक्सी उत्पादन गर्ने उद्योगहरुले कनिका आयात गर्ने र ब्वाइलर सञ्चालन गर्ने उद्योगहरुले भुस आयात गर्ने गरेकोले यस्ता उद्योगहरुमा समेत नकारात्मक प्रभाव पार्ने देखिन्छ ।
केही समय अघि मात्र भारतले गहु निर्यातमा समेत रोक लगाएको थियो । गहु निर्यात बन्द पछि धान र चामलमा लगाइएको २० प्रतिशत करले नेपाली खाद्यान्न उद्योगीहरु ठूलो समस्यामा पर्ने निश्चित रहेको डा.गुप्ताले जनाए । ‘भारत सरकारले समय समयमा गर्ने नीतिगत हेरफेर गर्ने गरेका कारण नेपाली उद्योगी, व्यवसायीहरु प्रभावित हुने गरेका छन्,’ अध्यक्ष डा. गुप्ताले भने, ‘नेपाल सरकारका सम्बद्ध निकायहरुलाई धान भारतबाट आयात गरिदा शुन्य भन्सार शुल्क कायम गराउन आवश्यक पहल गर्नको लागि अनुरोध गर्दछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्