मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले लिए पद तथा गोपनीयताको शपथ

वीरगञ्ज । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मुख्यमन्त्री सोनलले जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिएका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सोनल बुधबार साँझ पाँच दलका ५६ सांसदहरूको समर्थनमा प्रदेश सरकारको नेतृत्वमा नियुक्त भएका थिए। उनलाई एक सिट रहेको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गरेको छ।

शपथपछि मुख्यमन्त्री सोनलले प्रदेशको समृद्धि र स्थायित्वका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अबको केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्