चाडपर्व लक्षित वन जोगाउने अभियान पर्सामा जारी, अनधिकृत फडानीविरुद्ध कडाइ

तस्वीर ः साभार

पर्सा । डिभिजन वन कार्यालय, पर्साले चाडपर्वलाई लक्षित गरी वन फडानी रोक्ने विशेष अभियान सुरु गरेको छ। दशैँदेखि सुरु गरिएको यो “चाडपर्व लक्षित वन जोगाउने अभियान” आगामी छठ पर्वसम्म जारी रहने डिभिजनल वन अधिकृत मन्जुर आलमले बताएका छन्।

आलमका अनुसार दशैं, तिहार र छठजस्ता चाडपर्वका समयमा घरायसी प्रयोजनका लागि काठ–दाउरा प्रयोग बढ्ने र त्यसको आडमा अनधिकृत फडानी र तस्करी तीव्र हुने जोखिम भएकाले वन सुरक्षामा सशस्त्र वन रक्षकदेखि सबडिभिजन कार्यालयका कर्मचारीसम्म परिचालन गरिएको छ।

पर्सा जिल्लामा रहेका पाँच वटा सब–वन डिभिजन र वन क्षेत्रबाहिर रहेको एउटा सबडिभिजन गरी छवटै कार्यालयका जनशक्ति अहिले पूर्ण रूपमा वन गश्तीमा परिचालित छन्।
“वन फडानी नियन्त्रणका लागि हाम्रो टोली निरन्तर फिल्डमा खटिएको छ,” आलमले भने, “अभियान छठसम्म निरन्तर जारी रहनेछ।”

मधेस प्रदेशभित्र सबैभन्दा बढी वन क्षेत्र रहेको पर्सा जिल्लाको ठूलो भाग पछिल्ला वर्षमा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा समावेश भएपछि अहिले जिल्लाको वन क्षेत्र उल्लेख्य रूपमा घटेको छ।
“निकुञ्ज विस्तारपछि पर्सा अहिले प्रदेशको सबभन्दा कम वन क्षेत्र भएको जिल्ला बनेको छ,” डिभिजनल वन अधिकृत आलमले बताए।

स्थानीय स्तरमा अन्तिम संस्कार र पूजापाठका लागि साझेदारी वनले सीमित काठ–दाउरा उपलब्ध गराउने प्रावधान भए पनि केही व्यक्तिहरू घरेलु प्रयोगको आडमा वनमा अनधिकृत प्रवेश गरी फडानी गर्दै आएको वन कार्यालयले जनाएको छ।
“घरायसी प्रयोजनको नाममा केही तस्करहरूले वनको क्षति गरिरहेका छन्,” आलमले भने, “त्यसलाई नियन्त्रण गर्न गस्ती र निगरानी बढाइएको छ।”

वन कार्यालयले अनधिकृत रूपमा सञ्चालन भइरहेका समिल र फर्निचर उद्योगहरू बन्द गर्ने कार्य पनि सुरु गरेको छ।
आलमका अनुसार, “कानूनविपरीत सञ्चालन भएका उद्योगहरू बन्द गरिएको छ, सञ्चालकहरूलाई कानूनी दायरामा ल्याइएका छन्, र यो अभियान निरन्तर जारी छ।”

डिभिजन वन कार्यालयले वन फडानीमा संलग्नहरूलाई पक्राउ गरी अदालतमा पेश गर्ने, बरामद काठ–दाउराको सार्वजनिक नीलामी गर्ने, र कसुर अनुसार दण्ड सजाय दिने कार्य निरन्तर भइरहेको जनाएको छ।
“स्रोत र साधनले भ्याएसम्म वन रक्षा गरिरहेका छौं,” आलमले भने, “जनसहभागिता र स्थानीय निकायको समन्वयमा मात्र यो कार्य दीर्घकालीन रूपमा सफल हुनेछ।”

प्रतिक्रिया दिनुहोस्