मधेसका आठ जिल्लामा युवा सङ्घद्वारा बालेन र सुदन गुरुङविरुद्ध उजूरी

वीरगञ्ज । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले सोमवार मधेस प्रदेशका सबै जिल्ला सदरमुकामहरूमा प्रदर्शनसहित उजूरी अभियान सञ्चालन गरेको छ। सङ्घले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल हौं’ संस्थाका संयोजक सुदन गुरुङसहित जेनजी आन्दोलनका अगुवा तथा समर्थकहरूविरुद्ध उजूरी दर्ता गराएको हो।

पर्सामा आयोजित कार्यक्रम अन्तर्गत युवा सङ्घ पर्साले वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता गरेको जनाएको छ। युवा सङ्घ पर्साका अध्यक्ष सुवास साहका अनुसार उजूरीमा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको राष्ट्रिय सम्पत्तिमा तोडफोड, सिंहदरबार र सर्वोच्च अदालत परिसरमा आगजनी, तथा विभिन्न प्रहरी कार्यालयमा क्षति पुर्‍याउने घटनामा बालेन साह र सुदन गुरुङको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाइएको छ।

“सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने, सरकारी निकायमाथि आक्रमण गर्नेहरूलाई राजनीतिक आडमा उन्मुक्ति दिन सकिँदैन,” अध्यक्ष साहले भने, “त्यसैले हामीले दुवैजनालाई पक्राउ गरी कानूनी कारबाहीको माग गरेका छौं।”

युवा सङ्घका प्रतिनिधि टोलीले जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकलाई उजूरी बुझाएको थियो। उजूरी बुझाइसकेपछि सङ्घका कार्यकर्ताहरूले वीरगञ्ज बजार क्षेत्र घुमेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।

यस्तै, बाराको कलैया उपमहानगरपालिका र रौतहटको गौरमा पनि युवा सङ्घले मोटरसाइकल ¥यालीसहित प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालयहरूमा समान उजूरी दर्ता गरेको जनाएको छ।
युवा सङ्घका केन्द्रीय नेतृत्वका अनुसार मधेस प्रदेशका आठवटै जिल्लामा एकसाथ उजूरी अभियान सञ्चालन गरिएको हो।

गत भदौ २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र विभिन्न सरकारी कार्यालय वरिपरि तोडफोड र आगजनी भएका थिए। सो घटनापछि काठमाडौं महानगरका प्रमुख बालेन साह र सुदन गुरुङमाथि राज्यविरुद्धको उत्तेजनात्मक अभिव्यक्ति र क्रियाकलापको आरोप लाग्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्