‘नाडा अटो शो २०२४’ भृकुटीमण्डपमा सुरु

सम्वादाता | २०८१ भदौ १२ गते ०८: ५० मा प्रकाशित

काठमाडौं , राजधानीको भृकुटीमण्डपमा आजदेखि ‘नाडा अटो शो २०२४’ सुरु भयो । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा महासंघ) को आयोजनामा प्रत्येक वर्षजसो भइरहेको शोमा यो पटक भने प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म विद्युतीय सवारीसाधन (ईभी) मा आकर्षण देखिएको छ । अटो शो आएका नयाँ गाडी पनि अधिकांश ईभी नै छन् ।

१६ भदौसम्म सञ्चालन हुने अटो शोमा ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिएको छ । नाडा अटो शो संयोजक अनुपकुमार बरालले प्रदर्शनीमा २४ ब्रान्डका चार पाङ्ग्रे, १९ ब्रान्डका दुई पाङ्ग्रे र १२ ब्रान्डका हलुका व्यावसायिक गाडी प्रदर्शनीमा राखिएको जानकारी दिए ।

लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण लगायत ३३ कम्पनी अटो शोमा सहभागी छन् । यस्तै ७ वित्तीय संस्थाका स्टलसमेत अटो शोमा छन् । नाडाका अनुसार प्रदर्शनीमा १ सय ३० स्टल छन् ।

अटो शोमा ८ नयाँ ब्रान्ड
नाडा अटो शोबाट नेपालमा यसपालि ८ नयाँ ब्रान्ड भित्रिएका छन् । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाका अनुसार ८ नयाँ ब्रान्ड भित्रिएका छन् ।

 

यो पटक नाडा अटो शोमा प्रिमियम गाडीदेखि सस्ता गाडीसम्म आकर्षण देखिएको थियो ।

अवतार ११

नेपाली बजारमा उपलब्ध हुने प्रिमियम ईभीका रूपमा ‘अवतार ११’ सार्वजनिक भएको छ ।

यसको ग्राउन्ड क्लियरेन्स १३६ एमएम छ । ९०.३८ किलोवाट आवरको ब्याट्री प्याक र २३० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर छ । ५ सय ५५ किलोमिटर रेन्ज छ । ९० किलोवाट आवरको ब्याट्री रहेको यो प्रिमियम ईभी गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँ छ ।

 

कम्पनीका अनुसार अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुनेछ । यसले कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्ने छ ।

यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।

रियर ह्विल ड्राइभ भर्सनमा २३० किलोवाट र अल ह्विल ड्राइभमा ४२५ किलोवाट आवरको इलेक्ट्रिक मोटर जडान गरिएको छ । सिंगल चार्जमा ५ सय ५५ र ठूलो ब्याट्री प्याकले ६ सय ८० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

जेइकुको जे–६

नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको ‘जेइकुको जे–६’ आकर्षणको केन्द्र बनेको थियो । शोबाट आधिकारिक विक्रेता एसपीजी अटोमोबाइलले जे–६ को मूल्य ६६ लाख ९९ हजार तोकेर बुकिङ लिन थालेको हो ।

रियर ह्विल ड्राइभ सिस्टममा १३५ किलोवाट क्षमताको मोटरसहित यो नेपाली बजारमा आएको छ । यसमा २२० एनएम टर्क र २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स छ ।

६५.६९ किलोवाट आवरको ब्याट्री प्याक रहेको यो ईभीले एक पटकको फुल चार्जमा ४ सय किलोमिटरसम्म रेन्ज दिने दाबी गरेको छ ।

दिपल एल०७

दिपल ब्रान्डको नयाँ मोडेल ‘दिपल एल०७’ सार्वजनिक भएको छ । यो गाडीको मूल्य नाडामा ६९ लाख ९९ हजार रुपैयाँ छ । दिपल एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री छ भने यसको मोटर पावर ९९ किलोवाट छ । गाडीले ५ सय ३० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । नेपाली बजारमा दिपल एस०७ पनि पहिलेदेखि नै उपलब्ध छ ।

टाटाको पन्च डट ईभी

टाटाको ‘पन्च डट ईभी’ सार्वजनिक भएको छ । पन्च ईभीका दुई भेरिएन्ट नेपाल ल्याइएको छ । जसमा पन्च ईभी लङ रेन्ज (एलआर) र मिडियम रेन्ज (एमआर) छन् । यो गाडीमा २५ किलोवाट र ३५ किलोवाट आवरका दुई ब्याट्री उपलब्ध छन् ।

कम्पनीका अनुसार २५ किलोवाट आवरको ब्याट्रीको इभीले ६० किलोवाट पावर र ११४ एनएम टर्क जेनेरेट गर्दछ भने सिंगल चार्जमा एमआरले ३ सय १५ किलोमिटर रेन्ज दिन्छ । यो गााडीको मूल्य ३३ लाख ९९ हजारदेखि ३८ लाख ९९ हजार तोकिएको छ ।

नामी

नाडा अटो शोमा सार्वजनिक गाडीमा नामी ‘ई–१’ को २९ लाख ९९ हजार, नामी ‘ई–२’ को ३१ लाख ९९ हजार र नामी ‘ई–३’ को ३४ लाख ९९ हजार मूल्य तोकिएको छ ।

 

नाडामा ई–१ बाहेक दुई भेरिएन्ट सार्वजनिक भएको हो । नेपाली बजारमा ३१.५ र ४२.३ किलोवाट आवरको दुई ब्याट्री एलएफपी अप्सनमा छ । ठूलो ब्याट्री अप्सनले ३ सय १० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

सीजीले ल्यायो नेटा एक्स र रिडारा

सीजी मोटर्सले नेटा ईभीको नयाँ मोडल ‘नेटा एक्स’ पनि अटो शोमा सार्वजनिक गरेको छ । ५२ किलोवाट आवर र ६२ किलोवाट आवरका दुई ब्याट्री भेरिएन्टमा उपलब्ध गाडीको मोटरपावर १०० किलोवाट छ । नेटा एक्सका दुई भेरिएन्टको मूल्य ५३ लाख र ६३ लाख रुपैयाँ छ ।

सीजीले नयाँ मिडसाइज पिकअप रिडारा पनि सार्वजनिक गरेको छ । यसको मोटर क्षमता २०० किलोवाट छ भने ६३ किलोवाट आवर क्षमताको ब्याट्रीले एक पटकको चार्जमा ३ सय ८३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

जी मोटर्सको स्काइवेल बीई११

नेपालमा सबैभन्दा लामो रेन्ज दिने प्रिमियम ईभी स्काइवेल भित्र्याएको जी मोटर्सले थप दुई नयाँ गाडी नाडा अटो शोमार्फत ल्याएको छ ।

स्काइवेलको ई–११ ईभीको दुइटा भेरिएन्ट ल्याएको हो । कम्पनीले यो गाडी ४ सय १० किलोमिटर रेन्ज र ५ सय २० किलोमिटर रेन्जमा ल्याएको छ । कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ ।

मोटर्सका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार र ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार छ ।

ई–क्युट दुई भेरिएन्टमा

लक्ष्मी मोबिलिटी र जियो अटोमोबाइलले नेपाल ल्याएको ‘ई–क्युट०४’ ह्याचब्याक नयाँ गाडीका रूपमा देखापरेको छ । ई–क्युट०४ को मूल्य २४ लाख ९६ हजार र ‘ई–क्युट०२’ को मूल्य भने १९ लाख ९६ हजारबाट सुरु हुन्छ । यसको टप भेरिएन्टको मूल्य भने २२ लाख ९६ हजार तोकेर बुकिङ खुला गरेको हो ।

चिनियाँ ब्रान्ड केईको ह्याचब्याक कारमा ५ सिट क्षमताको ह्याचब्याक कारमा २८.०८ किलोवाट आवर ब्याट्री प्याक छ । यसले ३ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

एक्सपेङ

चिनियाँ कम्पनी एक्सपेङ नाडा अटो शोमार्फत नेपालमा सार्वजनिक भएको छ । एक्सपेङ मोडेल ‘जी–६’ को ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

एक्सपेङको जी–६ मा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक छ । जी–६ मा १९० किलोवाटको सिंगल मोटर रियर ह्विल ड्राइभ भर्सन नेपाल ल्याएको हो ।

जिकर एक्स

चिनियाँ ब्रान्ड जिलीको प्रिमियम इलेक्ट्रिक ब्रान्ड ‘जिकर एक्स’ नाडा अटो शो २०२४ मा सार्वजनिक भएको छ । कम्पनीले जिकर ब्रान्ड लन्चसँगै एक्स मोडेल प्रदर्शन गरेको हो ।

टु ह्विल ड्राइभ र फोर ह्विल ड्राइभ अप्सनमा जिकर एक्स नेपाल ल्याएको हो । कम्पनीले टु ह्विल ड्राइभ भेरिएन्टको मूल्य ७९ लाख ९९ हजार तोकिएको छ । फोर ह्विल ड्राइभ भर्सनको मूल्य १ करोड ४९ लाख रहेको छ ।

त्यस्तै रियर ह्विल ड्राइभमा २०० किलोवाट र अल ह्विल ड्राइभमा ३ सय १५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर भएकाले मूल्य अन्तर भएको हो । ४ सय ४० किलोमिटर रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।

लिप मोटर

लिप मोटरको ‘सी–१०’ एसयूभी नाडा अटो शोमा प्रदर्शनमा राखिएको छ । लिप मोटर पहिलो पटक नेपालमा नाडा अटो शोमार्फत भित्रिएको हो । यसको मूल्य ६७ लाख ९९ हजार पर्छ ।

 

यसमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ४ सय ३५ लिटरको बुट स्पेस र २८२५ एमएम लामो ह्विल बेस दिइएको छ । यसमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४ सय २० किलोमिटर रेन्ज दिन्छ ।

ब्रम्बी ह्याचब्याक

चिनियाँ कम्पनी बीएडब्लूको इलेक्ट्रिक उत्पादन ब्रम्बी ह्याचब्याक नाडा अटो शोमा सार्वजनिक गरेको छ । कम्पनीले २१ लाख ९० हजार मूल्य तोकेर ह्याचब्याक सार्वजनिक गरेको हो ।

ह्याचब्याकमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले २ यस ५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । यसमा ३० किलोवाट पिकपावर मोटर रहेको छ ।

बीवाइडीको सिलायन–०७

नाडा अटो शोमा बीवाईडीले नयाँ गाडी ल्याएको छ । शोमा ‘सिलायन–०७’ ल्याएको हो । सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा रहेको शोमा जानकारी दिइएको छ । एक पटकको फुल चार्जमा ५ सय ५० किलोमिटर र लङ रेन्जले ६ सय १० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्