जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाद्वारा नयाँ राजनीतिक दल गठनको घोषणा

काठमाडौं l जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन्। शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ढुंगानाले आफ्नो समूहले अब औपचारिक रूपमा राजनीतिक यात्राको सुरुवात गर्न लागेको घोषणा गरे।

ढुंगानाले भने, “हामी चुनावका लागि मात्र पार्टी खोल्दैछौं भन्ने होइन। भिडले देश विकास गर्दैन, अब या त एनजिओ खोल्नुपर्छ, या राजनीतिक दल। त्यसैले आन्दोलनलाई संस्थागत गर्दै अघि बढ्न हामीले दल खोल्ने निर्णय गरेका हौं।”

उनका अनुसार अबको पार्टीको मुख्य एजेन्डा “प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली” हुनेछ। उनले यो प्रणाली लागू नगरेसम्म आफ्नो दल चुनावमा नजाने स्पष्ट पारे। “हाम्रो बटमलाइन स्पष्ट छ – प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली। यो मुद्दा गम्भीर रूपमा उठ्नुपर्छ,” ढुंगानाले जोड दिए।

ढुंगानाले साथै विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्नुपर्ने मागसमेत राखे। उनले देशमा व्याप्त भ्रष्टाचार अन्त्यका लागि नागरिकस्तरबाट स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव अघि सारे।

जेनजी पुस्तालाई संगठित हुन आह्वान गर्दै उनले भने, “अब परिवर्तनका लागि संगठित हुने समय आएको छ। जेनजीहरूले देश बदल्न जिम्मेवारी लिनुपर्छ।”

ढुंगानाको घोषणासँगै अब जेनजी आन्दोलनले आन्दोलनको बाटोबाट राजनीतिक यात्रातर्फ प्रवेश गरेको संकेत देखिएको छ। पार्टीको नाम, संरचना र विस्तृत कार्ययोजना चाँडै सार्वजनिक गरिने जानकारी पनि उनले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्