मधेस प्रदेशमा नयाँ राजनीतिक अध्यायको शुरुवात

जितेन्द्र सोनल बने चौथो मुख्यमन्त्री

वीरगञ्ज । मधेस प्रदेशमा आजदेखि नयाँ राजनीतिक अध्याय प्रारम्भ भएको छ। बिहीबार एक विशेष समारोहबीच जितेन्द्र सोनलले प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेपछि प्रदेश सरकारले औपचारिक रूपमा पूर्णता पाएको छ।

मुख्यमन्त्री सोनलले प्रदेशको भाषिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै भोजपुरी भाषामा शपथ लिएका छन्। यो निर्णयलाई मधेसको सांस्कृतिक पहिचान र भाषिक सम्मानको दृष्टिले साङ्केतिक महत्त्वको रूपमा लिइएको छ।

सोनलसँगै आजै दुईजना नेताले पनि मन्त्री पदको शपथ लिएका छन्। गणेश पटेल र महेश यादवले मन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन्। हाललाई दुवैलाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री सोनलले सानो आकारको मन्त्रिपरिषद् बनाएर शासनको प्रारम्भ गरेका छन्। उनको टोलीले निकट भविष्यमै विभिन्न दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको संकेत दिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार सोनलको नेतृत्वमा मधेस प्रदेशको राजनीतिक स्थायित्व र विकासको नयाँ दिशाको अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्