रौतहटमा बाढीको पानीले तीन बालिकाको मृत्यु, गौर अझै डुबानमा

रौतहट ।  रौतहटको गौर नगरपालिका–१ सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागिनी यादवमौसमी बैठा बाढीले बगाउँदा ज्यान गुमाएका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू सात जनाको समूहमा घाँस लिन गौरतर्फ गएका थिए। तर बीच बाटोमै ती तीन बालिकाहरू बाढीको तेज बहावमा परे। स्थानीयले चार जनालाई ज्यान बचाउन सफल भए पनि ती तीनजनालाई बाढीले बगाएको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजीकार्य सञ्चालन गरी तीनै बालिकाको शव फेला पारेका छन्। शवहरू हाल प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले बाढीको जोखिम बढ्दो देखिएको भन्दै सीमा क्षेत्रमा सुरक्षाको व्यवस्था कडा बनाउन माग गरेका छन्।

गौर अझै डुबानमुक्त हुन सकेन

असोज १८ गतेको मुसलधारे वर्षापछि आएको बाढीले रौतहटको गौर बजारका विभिन्न क्षेत्रहरू अझै डुबानमुक्त हुन सकेका छैनन्। गौर नगरपालिका भित्रका अस्पताल रोड, प्राधिकरण रोड, महादेवपट्टी रोड, मकबरीपथ र भन्सार क्षेत्रका सडकखण्डहरू अझै पनि पानीमुनि छन्।

स्थानीयवासीका अनुसार भारतले दुई वर्षअघि दक्षिणी सिमानामा बनाएको ४२ किलोमिटर लामो बाँधका कारण गौर क्षेत्रमा पानी निकास अवरुद्ध भएको हो। अघिल्ला वर्षहरूमा गौर डुबानमा परेपछि सो क्षेत्रमा रहेको सानो बाँध र नहर भत्किएर पानी भारततर्फ निकास हुने गर्थ्यो।

तर अहिले भारतले ठूलो बाँधसँगै दुईवटा ठूलो सुली गेट निर्माण गरेको छ, जसलाई भारतले आफ्नै सुविधा अनुसार खोल्ने वा बन्द गर्ने गर्छ। असोज १८ गतेको वर्षापछि डुबान हुँदा पनि ती सुली गेट नखोलिएको स्थानीयको आरोप छ।

सरकारी कार्यालय सञ्चालन भए पनि सडक अझै जलमग्न

नेपाल सरकारले असोज २१ गतेदेखि सरकारी कार्यालय सञ्चालनमा ल्याउने निर्णय गरे पनि गौरमा बाढीका कारण लामो समय सेवा प्रभावित रह्यो। सरकारी कार्यालयहरू आइतबार (२६ असोज) बाट मात्र सञ्चालनमा आएका छन्, तर अधिकांश सडकखण्ड अझै डुबानमुक्त हुन सकेका छैनन्।

स्थानीय जनप्रतिनिधि र नागरिकले बाढी नियन्त्रणका लागि तत्काल नेपाल–भारत संयुक्त प्राविधिक टोली गठन गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्