विद्यार्थी नै नभएको विद्यालयका शिक्षक घर बसेरै खान्छन् तलब भत्ता

एक जना विद्यार्थी समेत भर्ना नभएका यस विद्यालयका २ जना शिक्षकले नियमित तलव भत्ता खाँदै आएका छन् ।

सम्वादाता | २०७९ भदौ १७ गते १०: ०४ मा प्रकाशित
 

सिरहा- आधारभूत विद्यालय सिरहा नगरपालिका-९ रामनगर गुलरियाका शिक्षकले वषौंदेखि कामै नगरी तलव खाईरहेका छन् । एक जना विद्यार्थी समेत भर्ना नभएका यस विद्यालयका २ जना शिक्षकले नियमित तलव भत्ता खाँदै आएका छन् ।

जिल्ला सदरमुकाममै रहेपनि यस विद्यालयमा पछिल्लो तीन शैक्षिक सत्रदेखि एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । विद्यालयका प्रधानाध्यापक श्यामकुमार यादवले अभिभावकहरुले नै विद्यार्थी नदिएपछि आफूहरु कामविहिन भएको भएको बताउनुहुन्छ ।

गाउँको बीचमा विद्यालय भएपनि कसैले विद्यार्थी पठाउँदैनन्, हामीले कसलाई पढाउने ? यो वर्ष पनि चुनावका कारण विद्यार्थी भर्ना भएन; अबपनि चुनाव आउँदैछ विद्यार्थी कसरी भर्ना गर्ने ?’ आफूले विद्यालयमा विद्यार्थी भर्ना गर्न घरघरै गएर अनुरोध गर्दा पनि विद्यार्थी नदिएको प्रधानाध्यापक यादवको भनाइ छ ।

विद्यार्थी भर्ना नभएपनि शिक्षकको तलव, छात्रवृति रकम, पाठ्यपुस्तकको रकम भने नियमित गईरहेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७ मा शिक्षकको तलब भत्ताबाहेक छात्रा छात्रवृति बापत १८ हजार चार सय, दलित छात्रवृति ४ हजार चार सय, पाठ्यपुस्तक बापत १२ हजार हजार ९८४ रुपैयाँ पठाएको छ ।

२०७६ मा छात्रा छात्रवृति बापत १३ हजार दुई सय, दलित छात्रवृति १२ हजार र पाठ्यपुस्तक बापत १२ हजार हजार ८४१ रुपैयाँ पठाएको छ । विद्यालयको नाममा रकम पठाएपनि तलव बाहेकका रकम भने खर्च नभएको शिक्षा शाखाले जनाएको छ ।

पाँच जना शिक्षक रहेको यस विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि तीन जनाको अन्यत्र सरुवा गरिएको नगर शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले जानकारी दिनुभयो । अहिले पनि प्र.अ. श्यामकुमार र भुवनेश्वर यादवसहित २ जना शिक्षक बसेर तलव खाईरहेका छन् ।

अघिल्लो शिक्षा समितिले विद्यालय मर्ज गर्ने योजना बनाएपनि स्थानीयले नमानेपछि रोकिएको बताइएको छ । अहिले सबै शिक्षकहरुलाई अन्यत्र पठाएर नयाँ शिक्षकको टिम ल्याएर विद्यालय सञ्चालन गर्ने योजना बनाएको प्रअ यादवले बताउनुभयो । उहाँले शिक्षा समिति गठन नभईसकेकाले केही कामहरु गर्न समय लागेको जानकारी दिनुभयो ।

शिक्षकहरुले पढाउने भन्दा पनि राजनीतिकरण गरेर विद्यालयलाई लथालिङ्ग बनाएको स्थानीयको आरोप छ । विद्यालयमा नियमित शिक्षक नआउने र आएपनि गफ चुटेर बस्ने गरेकाले आफ्ना विद्यार्थी निजी विद्यालयमा पठाउने गरेको स्थानीयको भनाइ छ ।-

प्रतिक्रिया दिनुहोस्