काबुल २०३० सम्ममा पानीविहीन राजधानी बन्ने

सम्वादाता | २०८२ असार ३० गते ०२: ४९ मा प्रकाशित
पानी अभाव भएको अफगान राजधानी काबुलमा जर्किनमा पानी ओसार्दै काबुलवासी । तस्वीर : एपी/रासस ।

काबुलमा झन्डै ६० लाख मानिस बसोबास गर्छन्, अर्को ५ वर्षमा खानेपानीको अभावले मानिस बस्नै नसक्ने अवस्था सृजना भएको विश्वको पहिलो आधुनिक शहर बन्न सक्ने खतरा छ । जलवायु परिवर्तन, अन्तरराष्ट्रिय प्रतिबन्ध र कमजोर शासन व्यवस्थाले यो संकट निम्त्याएको हो । गैरनाफामूलक संस्था मर्सी कोर्प्सले सन् २०२५ को अप्रिलमा प्रकाशित गरेको प्रतिवेदनअनुसार काबुलको भूमिगत जलको स्तर अत्यधिक घटिरहेको छ । यो घट्दो प्रवृत्तिले सन् २०३० सम्म काबुलमा पानीको स्रोत सुक्ने सम्भावना प्रबल बनाएको छ । यो संकटले तीन मिलियनभन्दा बढी काबुलवासीलाई शहर छोड्न बाध्य पार्न सक्छ ।

जलस्तर २५–३० मीटरले घटिसकेको छ

गत १० वर्षमा काबुलको जलभण्डार २५ देखि ३० मिटर (८२–९८ फिट) सम्म गहिरो बनेको छ । प्रतिवेदन अनुसार प्रत्येक वर्ष पानीको दोहन ४४ मिलियन घनमिटरले प्राकृतिक पुनर्भरणभन्दा बढी भइरहेको छ । यो खतरनाक अन्तर निरन्तर बढ्दै गएको छ । युनिसेफको अनुमान अनुसार काबुलमा प्रयोग भइरहेका भूमिगत इनारहरूको पानी लगभग आधा सुकिसकेको छ । बाँकी इनारहरू पनि ६० प्रतिशत मात्र क्षमतामा काम गरिरहेका छन् ।  त्यसैगरी, ८० प्रतिशत भूगर्भीय पानीमा ढल, आर्सेनिक र अत्यधिक लवण पाइएका कारण सुरक्षित छैन ।

जलवायु परिवर्तन, कमजोर शासन र युद्धपछिको विस्थापन

विशेषज्ञहरू भन्छन्, यो संकट आकस्मिक होइन । दशकौंको युद्ध, जलवायु परिवर्तनका असरहरू, राजधानीमा जनसंख्या विस्फोट र राज्यको अक्षमता यी सबै समस्याका कारक हुन् । सन् २००१ मा काबुलको जनसंख्या १० लाखभन्दा कम थियो, अहिले ६० लाख पुगेको छ । दुई दशकसम्म अमेरिकी नेतृत्वमा भएको हस्तक्षेपले गाउँबाट मानिसहरू राजधानीतिर विस्थापित गरायो, तर संरचना विस्तारमा लगानी भएन ।

काबुल पोलिटेक्निक विश्वविद्यालयका पूर्व प्राध्यापक डा. अस्सेम मायार भन्छन्, ‘यो संकट प्राकृतिक होइन, मानिस निर्मित हो । भूगर्भीय पानी दोहन र पुनर्भरणबीचको असमानता भयावह बन्दै गएको छ । यदि तत्काल कारबाही भएन भने, २०३० सम्म काबुल पानीविहीन सहर बन्ने सम्भावना बलियो छ ।’

धनीहरू गहिरो बोरिङ गर्छन्, गरिबहरू क्यान लिएर हिँड्छन्

धेरैजसो काबुलवासी बोरिङ इनारमै निर्भर छन् । जब पानी सुक्छ, मानिसहरू अझ गहिरो इनार खनेर पानी खोज्छन् । तर, यो सबैको पहुँचमा छैन । सन् २०२४ को तथ्यांकअनुसार काबुलमा १ लाख २० हजार अवैध बोरिङ छन् । राष्ट्रिय तथ्यांक विभागको प्रतिवेदनअनुसार अफगानिस्तानभर ३ लाख १० हजार इनार छन् । तीमध्ये झन्डै ४९ प्रतिशत इनारमा पानी छैन ।

डा. मायार भन्छन्, ‘धनीहरूले अझ गहिरो खनिरहेका छन्, गरीबहरू भने सार्वजनिक धारामा घण्टौं लाइन बस्छन् । संकट सबैलाई परेको हो, तर असर सबैभन्दा पहिले गरिबले भोग्छ ।’

पर्यावरण संरक्षण संस्था ईपीटीडीओका निर्देशक अब्दुलहादी अचकजई भन्छन्, ‘हरेक साँझ म अफिसबाट फर्किंदा बालबालिकाहरू क्यान लिएर पानी खोज्दै हिँडेको देख्छु । उनीहरू पढ्नुपर्ने उमेरमा पानीका लागि संघर्ष गर्दै छन् ।’

उद्योगहरूले पानी सुकाउँदै 

अफगानिस्तानको चर्चित पेयपदार्थ कम्पनी अलोकोजाई एक्लैले दैनिक २५ लाख लिटर पानी दोहन गर्छ, जुन वर्षमा १ अर्ब लिटरभन्दा बढी हुन्छ । यसबाहेक, काबुलमा ५०० भन्दा बढी पेयपदार्थ कम्पनीहरू छन्, जसले भूमिगत पानी प्रयोग गर्छन् । शहरमा करीब ४०० हेक्टर क्षेत्रफलमा ग्रीनहाउस खेती छ, जसले वर्षेनी ४ अर्ब लिटर पानी प्रयोग गर्छ ।

हिउँदमा वर्षा कम, तापक्रम उच्च

काबुलमा तीनओटा मुख्य नदी छन् काबुल, पघमान र लोगर । यी शहरको पानीका स्रोत हुन् । ती सबै हिमनदी र हिउँ पग्लिने पानीमा निर्भर छन् । तर, सन् २०२३–२४ को हिउँदमा केवल ४५–६० प्रतिशत मात्र वर्षा भएको थियो । सादीदका अनुसार उच्च तापमानले पानीको वाष्पीकरण बढाएको छ, जसले कृषि क्षेत्रमा पानीको आवश्यकता झनै बढाएको छ ।

समाधान असम्भवजस्तै देखिन्छ

२०२१ मा तालिवान सत्तामा आएपछि अधिकांश अन्तरराष्ट्रिय सहयोग स्थगित भएका छन् । जल प्रबन्धन, पाइपलाइन मर्मत, बाँध संरक्षणजस्ता काम थन्किएका छन् । जर्मन विकास बैंक र यूरोपेली संस्थाहरू मिलेर शुरू गरेको एक परियोजना जसले लोगर नदीको जल काबुलमा ल्याउन सक्थ्यो त्यो पनि बन्द भएको छ ।

त्यस्तै, भारत र अशरफ गनी सरकारले मिलेर २०२१ मा काबुल नदीमा शह–तुत बाँध निर्माणको सम्झौता गरेका थिए, तर त्यो पनि अब अनिश्चित अवस्थामा छ ।

के गर्न सकिन्छ ?

कृत्रिम जल पुनर्भरण गर्न सकिन्छ । यसका लागि साना बाँधहरू, जलाशयहरू र वर्षाको पानी संकलनका संरचना आवश्यक छन् । त्यस्तै नदीबाट पानी ल्याउने पाइपलाइन बिच्छ्याउनुपर्छ । पञ्जशिरलगायत छिमेकी नदीहरूबाट पानी ल्याउने योजना बनाउनुपर्छ । जल आपूर्ति प्रणालीको सुधार गर्नुपर्छ । पुराना पाइपलाइनहरूको नवीकरण र आधुनिक प्रणाली जडान गर्नुपर्छ ।

हरियाली विस्तार, ग्रीनहाउस नियन्त्रण र उद्योगको पानी प्रयोग व्यवस्थापन अनिवार्य हुनुपर्छ । सहायता परियोजनाहरू पुनःसञ्चालनका लागि तालिबान र अन्तरराष्ट्रिय समुदायबीच वार्ता आवश्यक छ । डा. मायार भन्छन्, ‘काबुलमा समस्या समाधान गर्न सकिन्छ, तर आवश्यक छ दीर्घकालीन दृष्टिकोण, जल प्रशासनमा पारदर्शिता, र अन्तरराष्ट्रिय सहयोग ।’

यदि समयमै काम थालिएन भने काबुल केवल जल संकटमा परेको सहर मात्र हुने छैन, यो विश्वकै पहिलो आधुनिक ‘पानीविहीन राजधानी’ बन्नेछ ।

(अलजजिराबाट)

प्रतिक्रिया दिनुहोस्