देशभरबाट १९३७ मिटरब्याजी पीडितको उजुरी , सबैभन्दा बढी मधेसमा

कुल उजुरीको करिब ६८ प्रतिशत मधेस प्रदेशबाटै आएको छ ।

सम्वादाता | २०७९ भदौ ६ गते १९: ४३ मा प्रकाशित

काठमाडौँ — देशभरबाट १ हजार ९ सय ३७ मिटरब्याज पीडितहरूको उजुरी परेको छ । सोमबार विविध विषयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त जानकारी गराउँदै मिटरब्याजको समस्या सोचेभन्दा व्यापक भएको बताएका हुन् ।

गृहमन्त्रीले दिएको जानकारीअनुसार सबैभन्दा बढी मधेस प्रदेशबाट अहिलेसम्म १ हजार ३ सय ३० उजुरी परेको छ । कुल उजुरीको करिब ६८ प्रतिशत मधेस प्रदेशबाटै आएको छ । त्यस्तै लुम्बिनी प्रदेशबाट २११ उजुरी परेको छ । त्यसैगरी वाग्मतीबाट २०२, प्रदेश १ बाट ९२, सुदूरपश्चिमबाट ४५, गण्डकीबाट ३५ र कर्णालीबाट २२ वटा उजुरी परेको गृहमन्त्री खाँणले जानकारी दिए ।

सरकारले केही दिनअघि मिटरब्याजबाट उत्पन्न अपराध नियन्त्रण तथा सुदखोरको पहिचान एवं छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

कार्यदलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्ठा सदस्य र सीआईबीका डीएसपी रोशन खड्का सदस्यसचिवका रूपमा रहेका छन् ।

पश्चिम नवलपरासीका मिटरब्याजीबाट पीडितहरू करिब ३ हप्तादेखि काठमाडौंको माइतीघरमा धर्ना दिइरहेका छन् । उनीहरू उधारो सहमति गरेर घर नफर्किने बताइरहेका छन् । कार्यदलका संयोजक भुसालले केही जिल्लाबाट तथ्यांक आउनै बाँकी रहेको बताएका छन् । सभार : कान्तिपुर

प्रतिक्रिया दिनुहोस्