उद्योगमन्त्री यादवद्वारा राजीनामा

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीप्रति विवादास्पद अभिव्यक्ति दिएपछि उनको राजीनामा आएको हो। उनले देशमा भइरहेको ग्यास अभाव उद्योगीका कारण भएको दाबी गर्दै ग्यास उद्योगीको ‘पाता नकसेसम्म’ अभाव सहज नहुने बताएकी थिइन्।

यादवले हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन्। देशमा धेरै ग्यास उद्योग आवश्यक नरहेको भन्दै दुईवटा उद्योग भए पुग्ने उनको भनाइ थियो।

मन्त्रीको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।

यसैबीच, काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किएको छ। उपभोक्ताहरू एउटा सिलिन्डर ग्यासका लागि घण्टौं लाइनमा बस्न बाध्य छन्। बजारमा ग्यास पाइहाले पनि तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको उपभोक्ताहरूको गुनासो छ।

नेपाल आयल निगम र उद्योग मन्त्रालयले ग्यास आपूर्ति भइरहेको तथ्यांक सार्वजनिक गर्दै आए पनि बजारमा त्यसअनुसार ग्यास उपलब्ध नभएको उपभोक्ताको भनाइ छ। लामो समय लाइनमा बसेपछि पनि ग्यास नपाउने अवस्था रहेको भन्दै उपभोक्ताले सरकारसँग तत्काल आपूर्ति सहज बनाउन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्