वीरगञ्ज–पोखरिया सडकमा खाल्डैखाल्डा, जोखिममा दैनिक यात्रा

वीरगञ्ज । वीरगञ्ज–पोखरिया सडकखण्डअन्तर्गत विभिन्न स्थानमा सडक जीर्ण भएर गहिरा खाल्डाखुल्डी बनेपछि सवारी दुर्घटनाको जोखिम बढेको छ। लामो समयदेखि सडक मर्मत नहुँदा दैनिक आवतजावत गर्ने सवारीसाधन र यात्रुले सास्ती खेप्नुपरेको स्थानीय तथा चालकहरूले बताएका छन्।

राजमार्गबाट एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) जाने सडक, सुक्खा बन्दरगाह जाने सडक तथा परवानीपुरतर्फ जाने सडकका विभिन्न स्थानमा ठूला खाल्डाखुल्डी परेका छन्। व्यस्त व्यापारिक तथा औद्योगिक क्षेत्र जोड्ने यी सडकमा खाल्डाखुल्डीका कारण सवारी आवागमन प्रभावित भएको स्थानीयको भनाइ छ।

यी सडकबाट दैनिक ठूलो सङ्ख्यामा मालवाहक ट्रक, ट्याङ्कर, कन्टेनर तथा साना सवारीसाधन आवतजावत गर्छन्। सडकमा परेका गहिरा खाल्डाखुल्डीका कारण चालकहरूले जोखिम मोलेर सवारी चलाउनुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।

विशेषगरी रातिको समयमा खाल्डाखुल्डी स्पष्ट रूपमा नदेखिँदा सवारीसाधन अचानक खाल्डोमा फस्ने, अनियन्त्रित हुने तथा दुर्घटनामा पर्ने जोखिम बढेको स्थानीयको भनाइ छ।

महिनौँदेखि सडक जीर्ण, मर्मतमा बेवास्ता

चालक उमेश साहका अनुसार सडकको अवस्था महिनौँदेखि जीर्ण रहे पनि सम्बन्धित निकायले मर्मतसम्भारमा पर्याप्त ध्यान दिएको छैन।

“दैनिक ठूलो सङ्ख्यामा गाडी यही बाटो भएर आवतजावत गर्छन्। सडक बिग्रिएको लामो समय भइसक्यो, तर मर्मतका लागि सम्बन्धित निकायले चासो देखाएको छैन,” साहले भने।

उनका अनुसार अत्यधिक मालवाहक सवारीसाधनको चाप हुने सडकमा खाल्डाखुल्डीका कारण सवारीको गति नियन्त्रण गर्नसमेत समस्या हुने गरेको छ। खाल्डा छल्ने क्रममा सवारीसाधन अचानक अर्को लेनतर्फ मोडिनुपर्ने अवस्था आउँदा दुर्घटनाको जोखिम झन् बढ्ने उनको भनाइ छ।

सडक प्रयोगमा शुल्क, मर्मतमा बेवास्ता भएको गुनासो

स्थानीय यात्रु शनि पटेलले सडक प्रयोग गरेबापत कर तथा अन्य शुल्कसमेत असुल हुने गरे पनि सडक मर्मतमा पर्याप्त ध्यान नदिइएको गुनासो गरे।

उनका अनुसार सडक आसपास ट्राफिक प्रहरी तथा नेपाल प्रहरीको उपस्थिति रहने भए पनि सडकको भौतिक अवस्थाप्रति सम्बन्धित निकायको पर्याप्त ध्यान पुग्न सकेको छैन।

“सडकमा ठूला–ठूला खाल्डा छन्। दिनमा त जसोतसो छल्न सकिन्छ, तर रातको समयमा झन् समस्या हुन्छ,” पटेलले भने।

मालवाहक सवारीको चाप, सडकमा थप क्षति

वीरगञ्ज क्षेत्रको व्यापारिक तथा औद्योगिक गतिविधिसँग प्रत्यक्ष जोडिएको यस सडकमा दैनिक ठूलो सङ्ख्यामा मालवाहक सवारीसाधन सञ्चालन हुन्छन्। ट्रक, ट्याङ्कर तथा कन्टेनरको निरन्तर आवागमनका कारण कमजोर सडकमा थप क्षति पुग्ने गरेको चालकहरू बताउँछन्।

सडकको दुरवस्थाका कारण सवारीसाधनको टायर, सस्पेन्सनलगायतका पार्टपुर्जामा समेत क्षति पुग्ने गरेको उनीहरूको गुनासो छ। सडकको अवस्था समयमै सुधार नगरे सवारी चापसँगै समस्या थप गम्भीर बन्न सक्ने स्थानीयको भनाइ छ।

तत्काल खाल्डाखुल्डी पुर्न माग

स्थानीय तथा चालकहरूले सडकमा तत्काल मर्मत गरी खाल्डाखुल्डी पुर्न, सडकलाई सुरक्षित र व्यवस्थित बनाउन तथा नियमित अनुगमन र मर्मतसम्भारको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

उनीहरूले सडक मर्मतलाई अस्थायी रूपमा खाल्डा पुर्ने काममा मात्र सीमित नगरी सडकको गुणस्तर र टिकाउपनामा समेत ध्यान दिनुपर्ने बताएका छन्। व्यस्त व्यापारिक तथा औद्योगिक आवागमन हुने सडक भएकाले नियमित मर्मतसम्भार र अनुगमनको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

प्रतिक्रिया दिनुहोस्