चुनावपछि सत्ता गठबन्धन ६ महिनामा एउटा एकातिर अर्को अर्कोतिर हिँड्दैन भन्ने के ग्यारेन्टी छ ?

चुनावअघि भन्दा चुनावपछिको तालमेल उपयुक्त हुने भए पनि चुनावअघि नै तालमेल गर्ने पार्टीको निर्णय भएकाले मान्नुपर्ने थापाले बताए ।

सम्वादाता | २०७९ भदौ ४ गते १६: ५४ मा प्रकाशित

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावपछि सत्तारुढ गठबन्धन एक ठाउँमा रहने के ग्यारेन्टी छ भनी प्रश्न गरेका छन् ।

कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनमा उनले अहिले तालमेल गरेर सत्ता गठबन्धनमा रहेका दललाई मत मागे पनि चुनावपछि पनि गठबन्धन कायम रहने ग्यारेन्टी नभएको बताए ।
‘हामी तालमेल गरेर चुनावमा भोट त मागौंला तर चुनाव भएको ६ महिनामा एउटा एकातिर अर्को अर्कोतिर हिँड्दैन भन्ने के ग्यारेन्टी छ ?’ उनले प्रश्न गरे ।
२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर पार्टी एकीकरण नै गरे पनि पछि अलग भएको स्मरण गर्दै उनले यो चुनावपछि पनि त्यस्तै हुन सक्ने बताएका हुन् ।
चुनावअघि भन्दा चुनावपछिको तालमेल उपयुक्त हुने भए पनि चुनावअघि नै तालमेल गर्ने पार्टीको निर्णय भएकाले मान्नुपर्ने थापाले बताए ।

‘चुनावअघि तालमेल गर्न हुँदैन भन्ने कुरा ठीक हो । तर हामीले तालमेल गर्न हुँदैन भनेर के गर्ने अर्कोले गरिदिहाल्छन्’ उनले भने, ‘निर्वाचनअघि तालमेल नगरेपछि हाम्रो स्थिति के हुन्छ ? २०७४ सालमा भोगेर आइसक्यौं ।’

पार्टीका कतिपय नेताहरूले निर्वाचनपछि तालमेल गर्ने कि नगर्ने भन्ने कुरा हाम्रो नियन्त्रणमा छैन भनेपछि पार्टीको निर्णय मानेको थापाले बताए । ‘पार्टीमा आफ्नो विचार राख्ने, आफ्नो विचारलाई पार्टीको विचार बनाउन खोज्ने र सम्भव नभए पार्टीको निर्णय मानेर जाने हो’ उनले भने ।
चुनावअघि तालमेल गर्दा दलहरुबीच न्यूनतम विषयमा भने साझा धारणा हुनुपर्ने महामन्त्री थापाले बताए ।

‘तालमेल गरेर एक ठाउँमा बसेको छ, प्रत्येक विषयमा चाहे विदेश नीतिको विषय आयो भने एउटाले अर्कोलाई दलाल भन्ने । दलाल पनि भनेको छ सँगै पनि बसेको छ’ उनले भने ।
न्यूनतम कुरा पनि मिल्दैन भने चुनाव जित्न मात्र तालमेल गर्न न हुने थापाले बताए ।

तालमेल गर्दा पार्टीहरुको जनमत पनि हेर्नुपर्ने उनले बताए । अमुक पार्टीको २ हजार मत छ, नेपाली कांग्रेसको २० हजार छ । ‘२० हजारमा २ हजार खन्याएर २२ हजार बनाउन सजिलो हुन्छ तर २ हजारमा २० हजार जोड्दा सबै जाँदैन, चुहिन्छ’ उनले भने ।

गठबन्धनमा सिट बाँडफाँट गर्दा ०७४ सालमा जितेको ठाउँलाई मात्र आधार मान्न नहुने थापाले बताए । ‘यो बाटोतिर गयो भने पार्टीभित्र ठूलो असन्तुष्टि आउँछ’ उनले भने । सभार : अनलाइनखबर

 

 

प्रतिक्रिया दिनुहोस्