मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत रोपाइँ, किसान मलखादको पर्खाइमा

मधेस प्रदेशमा अहिलेसम्म धान रोपाइँ ११ प्रतिशतमा मात्र : सबैभन्दा बढी पर्सामा २० प्रतिशत र सबैभन्दा कम धनुषामा ४ प्रतिशत

सम्वादाता | २०७९ असार १५ गते १८: ३८ मा प्रकाशित

वीरगञ्ज -  देशभर राष्ट्रिय धान दिवस मनाइरहँदा मधेस प्रदेशमा अहिलेसम्म धान रोपाइँ हुने कुल जमिनमध्ये ११ प्रतिशतमा मात्र रोपाइँ भएको छ । सबैभन्दा बढी पर्सामा २० प्रतिशत र सबैभन्दा कम धनुषामा ४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

मधेस प्रदेशमा यसवर्ष अहिलेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जनाएका छन् । पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । पर्सामा अहिलेसम्म ९ हजार ४२६ हेक्टर (२० प्रतिशत) क्षेत्रफलमा रोपाई सम्पन्न भएको उनले बताए ।

त्यस्तै सप्तरीमा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । तर सप्तरीमा यसवर्ष १० हजार २ सय हेक्टर (१५ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ । सिरहामा कुल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरे पनि यसवर्ष हालसम्म ७ हजार ५६० हेक्टर (१४ प्रतिशत) रोपाइँ भएको उनले बताए ।

त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये अहिलेसम्म ४ हजार ६५० हेक्टर (१० प्रतिशत) क्षेत्रफलमा मात्र रोपाई भएको जनाइएको छ ।
त्यसैगरी बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टरमा धान खेती हुँदै आएको छ । अहिलेसम्म बारामा ४ हजार ६०२ हेक्टर (१० प्रतिशत) क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।


त्यस्तै रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार १ सय हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये अहिलेसम्म रौतहटमा २ हजार ६६७ हेक्टर (७ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ । सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७ सय हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये अहिलेसम्म २ हजार ३३५ हेक्टर (५ प्रतिशत) क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

यस प्रदेशमा यसवर्ष सबैभन्दा कम धनुषा जिल्लामा रोपाई भएको उनले बताए । धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा धान रोपाइँ हुनुपर्नेमा अहिलेसम्म २ हजार ३६० हेक्टर अर्थात् ४ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको बाली विकास अधिकृत पालले बताए ।

मलखाद आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङको छ । तर पनि किसानले सहज रुपमा मलखाद नपाउँदा यस वर्ष पनि धान उत्पादन ह्रास आउने चिन्ताले किसान पिरोलिन थालेका छन् ।
मुलुकको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुँदै आएको छ । नेपालमा हुुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मधेस प्रदेशमा चैते र बर्खे दुवै मिलाएर वार्षिक १४ लाख १६ हजार ५८५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस प्रदेशमा ४ लाख ३ हजार ६४९ हेक्टर खेतीयोग्य जग्गा रहेको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जानकारी दिए ।

मन्त्रालयका अनुसार बारा जिल्लामा चालु आर्थिक वर्षमा २ लाख ५९ हजार ३८१ मेट्रिक टन धान उत्पादन भएको छ । बारामा यस वर्ष प्रतिहेक्टर ४.२४ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो । त्यस्तै पर्सामा १ लाख ६१ हजार ६९६ मेट्रिक टन धान उत्पादन भएको छ । पर्सामा प्रतिहेक्टर ४.१९ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको हो ।

सप्तरीमा १ लाख ७० हजार ९०१ सय मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ । सप्तरीमा प्रतिहेक्टर २.९८ प्रतिशत मेट्रिक टनको हिसाबले धान उत्पादन भएको छ । सर्लाहीमा प्रतिहेक्टर ३.३२ प्रतिशत मेट्रिक टनको हिसाबले कुल १ लाख ४८ हजार ४९० मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

धनुषामा प्रतिहेक्टर ३.२१ प्रतिशतका दरले कुल १ लाख ७३ हजार २२० मेट्रिक टन धान उत्पादन भएको छ भने महोत्तरीमा प्रतिहेक्टर ३.७३ प्रतिशतका दरले १ लाख ९० हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको हो ।

त्यस्तै सिरहामा प्रतिहेक्टर ३.४१ प्रतितको हिसाबले १ लाख ९७ हजार ५५७ मेट्रिक टन धान उत्पादन भएको छ । मधेश प्रदेशमा यस वर्ष सबैभन्दा कम रौतहटमा धान उत्पादन भएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा प्रतिहेक्टर २.९६ प्रतिशत अर्थात् १ लाख १४ हजार ५४० मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रतिक्रिया दिनुहोस्