बहुदरमाई नगरपालिकाका विद्यालयमा लगाइएको तालाबन्दी खुल्यो

कक्षा ९ र १० मा गरेर १४ घण्टी पढाउने ४ जना मात्र शिक्षक

सम्वादाता | २०७९ असार १३ गते १५: ५३ मा प्रकाशित

वीरगञ्ज – पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित भंगी साह उच्च माध्यमिक विद्यालयका आन्दोलित विद्यार्थीहरु आजदेखी पनः पठनपाठन सुरु गरेका छन् । विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएपछि कक्षा ९ र १० का विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

आइतबार प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले विद्यालयको मुख्य प्रवेशद्वारमा लगाएका तालाबन्दी आज सोमबार खुलेको छ । उनीहरुले सबै विद्यार्थी मिलेर विद्यालय बन्द गरेको, शिक्षक प्रयाप्त उपलब्ध गराउनुपर्ने, बिषयको अध्यापन हुनुपर्ने र शिक्षक समयमा आए पढाउनुपर्ने माग विद्यालयको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेर टाँसेका थिए । विद्यार्थी,अभिभावक,स्थानीय , शिक्षकबिच छलफलमा तालाबन्दी खोल्ने सहमति भएको हो ।


छलफलमा समस्या समाधान गरिने , साथै एघार सदस्य अनुगमन समितिको गठन गर्ने र उक्त समितिले शिक्षक,विद्यार्थी र जन प्रतिनिधिहरुलाइ समन्वय गरि स्कुलमा देखिएको प्रत्येक समस्यालाई अध्यन गरि समाधान गर्ने निर्णय भएको स्थानीय राकेश यादवले बताए । तालाबन्दी खुलेपछि अहिले कक्षा कोठाभित्र पठनपाठन सुरु भएको छ ।


मावि तहमा दिनको ७ घण्टी पढाइ हुन्छ । कक्षा ९ र १० मा गरेर १४ घण्टी पढाउनुपर्ने हुन्छ । तर प्रधानाध्यापक सहित मावि तहमा जम्मा ४ जना मात्र शिक्षक छन् । प्रधानाध्यापक कामले बाहिर जाँदा होस वा एउटा शिक्षक विदामा बस्ने वित्तिकै पठन पाठनमा समस्या हुने गरेको विद्यार्थीहरु बताउँछन् । विद्यालयमा सामाजिक, स्वास्थ्य, अंग्रेजी, गणित, अर्थशास्त्रका शिक्षक नभएको उनीहरु बताउँछन् । नगरपालिका र वडामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि पनि विद्यालयको समस्याप्रति ध्यान नदिएको गुनासो विद्यार्थीको छ ।

 

प्रतिक्रिया दिनुहोस्