अष्ट्रेलियाले बढायो भिसा पाउन जम्मा गर्नुपर्ने रकम

आगामी शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलियाले विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम बढाएको छ।

सम्वादाता | २०८१ बैशाख २६ गते ०२: ०३ मा प्रकाशित

अष्ट्रेलियाले विदेशी विद्यार्थीहरूलाई भिसा पाउन उनीहरूले जम्मा गर्नुपर्ने रकम बढाएको छ।

आगामी शुक्रबारदेखि लागू हुनेगरी अष्ट्रेलियाले विदेशी विद्यार्थीले भिसा प्राप्त गर्न जम्मा गर्नुपर्ने रकम २९ हजार ७१० अष्ट्रेलियन डलर पुर्‍याएको हो।

अष्ट्रेलियाले यसअघि गत वर्षको अक्टोबरमा विद्यार्थीले बचत गर्नुपर्ने रकम बढाएको थियो।

विद्यार्थीहरूको चर्को आप्रवासनलाई नियन्त्रण गर्नका लागि अष्ट्रेलियन सरकारले ७ महिनामै नयाँ नीति लिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

अक्टोबरमा विदेशी विद्यार्थीहरूले भिसा प्राप्त गर्नका लागि बचत रकम बढाएर २४ हजार ५०५ अष्ट्रेलियन पुर्‍याएको थियो।

त्यसअघि विद्यार्थीले २१ हजार ४१ अष्ट्रेलियन डलर जम्मा गर्नुपर्थ्यो।

अष्ट्रेलियाले कलेजहरूलाई पनि नक्कली विद्यार्थी भर्ना नगर्न चेतावनी दिएको छ।

विभिन्न बहानामा अष्ट्रेलिया प्रवेश गरी सेटिङ मिलाएर विद्यार्थी भिसामा रूपान्तरण गर्ने प्रवृत्ति बढेपछि कलेजहरूले त्यस्तो गरिएको पुष्टि भए कारबाही गर्ने चेतावनी दिइएको छ।

अष्ट्रेलियाका गृहमन्त्री क्लेर ओनीलले त्यस्ता ३४ कलेजहरूलाई पत्र पठाएर चेतावनी दिएको रोयटर्सले उल्लेख गरेको छ।

त्यस्तो गरिएको भेटिए र पुष्टि भए कलेज सञ्चालकहरूलाई २ वर्षसम्म जेल हाल्ने र प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ। 

गत वर्षको सेप्टेम्बरसम्म मात्रै अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी आगमनको दर ६० प्रतिशत बढेको थियो।

सो वर्ष सेप्टेम्बरसम्म मात्रै  ५ लाख ४८ हजार ८ सय विद्यार्थी विभिन्न देशबाट अष्ट्रेलिया पुगेको रोयटर्सले लेखेको छ। त्यो भनेको एकै वर्षमा आएको विद्यार्थीको सबैभन्दा ठूलो संख्या हो। 

सरकारले आफ्नो नीतिले आगामी दुई वर्षमा अष्ट्रेलियामा आप्रवासीको संख्या आधा घटाउने अपेक्षा गरेको गृहमन्त्री ओनीलले बताइन्। 

'हामी माइग्रेसनको स्तरलाई उल्लेखनीय रूपमा घटाउँदैछौं,' उनले भनेकी छन्। 

प्रतिक्रिया दिनुहोस्