रक्सौलबाट अनटेस्ट ई–मोटरसाइकलको निर्बाध प्रवेश

भन्सार र सुरक्षातन्त्रको लापरबाही उजागर

वीरगंज, — केही समयदेखि छिमेकी भारतको रक्सौलबाट नम्बर प्लेटबिहीन अनटेस्ट ई–मोटरसाइकलहरू निर्बाध रूपमा वीरगंज प्रवेश गर्दै आएका छन्। नियम अनुसार भारतीय सवारीसाधनले भन्सार कार्यालयबाट अनुमति लिएर मात्र प्रवेश गर्न पाउने व्यवस्था रहेको भए पनि अनटेस्ट विद्युतिय मोटरसाइकलहरू अनुमति नलिएरै सिधै शहर छिर्न थालेपछि भन्सार र सुरक्षातन्त्रको कमजोरी उजागर भएको छ।

सामान्य भारतीय दुई चक्के तथा चार चक्के सवारीसाधनहरूले वीरगंज प्रवेशका लागि दैनिक ‘शहर प्रवेश अनुमतिपत्र’ अनिवार्य रूपमा लिनुपर्छ र सोही दिन रक्सौल फर्किनुपर्छ। तर यो नियम केवल नम्बर प्लेट भएका सवारीसाधनमा मात्र लागू हुन्छ। नम्बर प्लेटविहीन तथा अनटेस्ट भारतीय सवारीसाधनलाई नेपाल प्रवेशमा रोक रहेको भन्सार कार्यालय आफैले बताइरहेकाले अबसम्म यस्तो गतिविधि कसरी निर्बाध चल्दै आएको हो भन्ने प्रश्न उठेको छ।

प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार शहर प्रवेश वा रात बिताउने भारतीय सवारीहरूले भन्सार विभागले तोकेको शुल्क तिरेर तोकिएको अवधि बिताउन पाउँछन्। तर नम्बर प्लेटबिना कुनै पनि भारतीय सवारी नेपाल प्रवेश हुनै नहुने र यस्ता प्रवेश आजकै मितिदेखि रोकिने उनले स्पष्ट गरेका छन्।

यता रक्सौलमा सस्तो मूल्यमा पाइने ई–मोटरसाइकल पछिल्लो समयमा वीरगंजमा छ्यापछ्याप्ती देखिन थालेका छन्। नेपालमा विद्युतीय सवारी सञ्चालन गर्दा अनिवार्य रूपमा नम्बर प्लेट लिएर मात्र यातायात गर्नुपर्ने नियम भए पनि यस विषयमा ट्राफिक प्रहरीले पर्याप्त ध्यान नदिएको देखिन्छ।

भन्सार बिन्दुअगाडि नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच गर्ने व्यवस्था छ। तर सुरक्षाकर्मीहरूले सामान चेकजाँचमै मात्र ध्यान दिइरहेको र सवारीसाधन जाँचमा बेवास्ता गरेको कारण यो गैरकानूनी प्रवेश रोकिएको छैन। यसले भन्सारदेखि सुरक्षातन्त्रसम्मको समन्वयहीनता र जिम्मेवारीप्रतिको उदासीनता प्रष्ट देखाएको छ।

ई–मोटरसाइकलको यसरी अनियन्त्रित प्रवेश रोक्न भन्सार, ट्राफिक तथा सुरक्षा निकायबीच समन्वय मजबुत गर्नुपर्ने माग स्थानीयहरूले गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्