जग्गा, नाता छ तर नागरिकता छैन

सिराहा l आठ वर्षदेखि नागरिकताका लागि अड्डा अदालत धाउँदै आएकी ७८ वर्षीया कपेलेश्वरी यादव अझै पनि नागरिकता पाउने आशामैं दिन काटिरहेकी छन् । “नागरिकता नपाएरै मर्न लेखिएको जस्तै भएको छ हजुरआमालाई,” नाति रामपरीक्षण यादवले हातमा कागजपत्र देखाउँदै थकित स्वरमा भने, “वषौंदेखि कागजपत्र बोकेर सरकारी निकायमा धाउँदाधाउँदै धेरै जुत्ता फाटें, तर हजुरआमाको नागरिकता बनेन ।”

सिराहाको नवराजपुर गाउँपालिका–४ मा बस्दै आएकी कपेलेश्वरीको जन्म औरही गाउँपालिका–३ पिपरामा भएको हो । जीवनभर गाउँमैं बसेकी उनी नागरिकता नभएकै कारण अहिले सबै अधिकारबाट वञ्चित छिन् । विसं २०२३ मा उनी नवराजपुर–४ का बौवेलाल यादवकी कान्छी पत्नी बनेकी थिइन् ।

बौवेलालको पहिलो पत्नीबाट चार छोरी थिए तर कपेलेश्वरीबाट भने सन्तान भएन । माइतीका बुबाआमाको नागरिकता थिएन । यसबाहेक सबैले वंशजका आधारमा नागरिकता पाए पनि उनी भने नागरिकताको मूलढोकैमा रोकिइन् । पति बौवेलालको २०३१ सालमा मृत्यु भएपछि कपेलेश्वरीले सिराहा जिल्ला अदालत सिराहामा हक कायम मुद्दा दर्ता गरिन् र अदालतले उनको नाममा हकदाबी सदर गरिदियो ।

त्यस्तै माइतबाट दिइएको कट्ठा जग्गा उनकै नाममा थियो । तर नागरिकता नभएकै कारण त्यो जग्गा बेचबिखन वा आफूलाई पालनपोषण गर्ने नातिको नाममा नामसारी गर्न नपाउने अवस्थाले उनलाई थप दुःख दिएको छ । त्यसैगरी, ज्येष्ठ नागरिक भत्तासमेत नागरिकताका कारण रोकिन पुगेपछि उनी राज्यका सबै सेवाबाट पर धकेलिएकी छन् ।

विसं २०७४ मा उनले जन्म, विवाह, नाता र वडाबाट प्राप्त सकसकमा जुटाइएका सबै कागजात तयार पारिन् । आफ्नो नामको जग्गाधनी प्रमाणपत्रको प्रतिलिपिसहित वडा कार्यालय पुगेकी कपेलेश्वरीलाई तत्कालीन वडाध्यक्ष मदन यादवले चिन्दिनँ भन्दै सिफारिश नै दिन अस्वीकार गरे । जिल्ला प्रशासन कार्यालयले पुनः वडा सिफारिशमैं जोड दिएकाले उनी तीन/तीन पटक वडा कार्यालयमा धाइन्, तर सबैपटक निराश भएर फर्किनुपर्‍यो ।

विसं २०७९ मा सम्पन्न चुनावबाट यादव नै वडाध्यक्ष पुनः निर्वाचित भए । नागरिकताको कुरा झन् बल्झियो । यतिबेलासम्म कपेलेश्वरीको सङ्घर्ष लम्बिंदै गए पनि समाधान भेटिएन । गाउँपालिका अध्यक्षमा निर्वाचित शिव उदगार यादवले पहल गरी सनाखतसहित जिल्ला प्रशासन कार्यालयमा पठाए । त्यसपछि प्रशासनले प्रहरी रिपोर्ट बनाउन भन्यो । कपेलेश्वरीले त्यो पनि पूरा गरिन् । अन्तिम चरणमा नागरिकताका लागि अनुसूची–१ बमोजिम वडा सिफारिश अनिवार्य चाहियो तर वडाबाट फेरि ढोका बन्द भयो ।

निरन्तर अस्वीकृत भएपछि उनले २०७९ भदौमा उच्च अदालत राजविराज, जनकपुरधाममा पुनरावेदन दर्ता गरिन् । गत वैशाखमा अदालतले उनकै पक्षमा फैसला पनि गर्‍यो । कानूनबमोजिम प्रक्रिया पूरा गरी नागरिकता दिनु भन्ने आशयको आदेश दियो । तर त्यो आदेश लिएर वडा कार्यालय पुगे पनि फेरि निराशा नै हात पर्‍यो ।

यसबीचमा वडाध्यक्ष यादव भ्रष्टाचार मुद्दामा निलम्बनमा परे तर कार्यवाहक वडाध्यक्ष देवराम यादवले पनि सिफारिश दिन मानेनन् । “मुद्दा प्रक्रियामा भएकाले केही भन्न सक्दिनँ,” कार्यवाहक वडाध्यक्ष देवरामले भने, “मङ्सिर ५ गते सर्वोच्च अदालतमा रिट हालेका छौं, जे फैसला आउँला, त्यसै अनुसार चल्छु ।”

कपेलेश्वरीका अर्का नाति जीवेन्द्र यादव राजनीतिक प्रतिशोधका कारणले यस्तो भएको भन्छन् । उनले भने, “आठ वर्षदेखि नागरिकताको पछि कुद्दैछु । तर पाउन सकिंदैन । सरकारी निकायका जिम्मेवार जनप्रतिनिधिले राजनीतिक प्रतिशोध लिनु विडम्बनापूर्ण छ । हजुरआमाको प्राण जाने बेला पनि राज्यले दुःखै दियो ।”

यसैबीच, सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले यस प्रकरणबारे प्रशासनले ध्यान दिएर हेर्ने बताएका छन् । “कागजपत्र र प्रमाणका आधारमा हामीले समन्वय गर्न सक्छौं । उनी किन नागरिकताबाट वञ्चित हुनुप¥यो भन्ने सम्बन्धमा आवश्यक जानकारी लिइनेछ,” उनले भने ।

जन्म छ, विवाह छ, जग्गा छ, नाता छ, तर नागरिकता नामको एकमात्र कागज नहुँदा ७८ वर्षीया कपेलेश्वरीको जीवन अनागरिकजस्तै भएको छ । “यदि हजुरआमा यो देशको नागरिक होइनन् भने सीधैं भन्नुप¥यो, नागरिक हुन् भने किन आठ वर्षदेखि यातना दिइएको छ ?” नाति रामपरीक्षणले दुःखेसो पोखे ।

प्रतिक्रिया दिनुहोस्