मितेरी पुल क्षेत्रमा संयुक्त सरसफाइ र वृक्षारोपण अभियान निरन्तर, सीमा क्षेत्रको मुहार फेरिँदै

वीरगञ्ज । नेपाल–भारतको प्रमुख प्रवेशद्वार मानिने वीरगञ्ज–रक्सौलस्थित मितेरी पुल क्षेत्रलाई स्वच्छ, हरियालीयुक्त र आकर्षक बनाउन सुरु गरिएको संयुक्त सरसफाइ तथा वृक्षारोपण अभियान निरन्तर गतिमा अघि बढिरहेको छ। वीरगञ्ज महानगरपालिका, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, जिल्ला प्रहरी कार्यालय पर्सा तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको अभियानले सीमा क्षेत्रको स्वरूप बदलिन थालेको छ।

अभियानअन्तर्गत मितेरी पुल वरपरको फोहोर संकलन, सडकछेउका झाडी हटाउने, सयौँ बिरुवा रोप्ने तथा पुराना विरुवाको संरक्षणजस्ता कार्य निरन्तर भइरहेका छन्। बुधबार मितेरी पुल दुवै छेउको खाली भूभागमा विभिन्न प्रजातिका बिरुवाहरू रोपेर क्षेत्रलाई हराभरा बनाउने प्रयासलाई अझ सशक्त बनाइयो।

वृक्षारोपण कार्यक्रममा पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक सुदीप राज पाठक, सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक पूरणचन्द्र भट्टलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रह्यो। उपरीक्षक पाठकले सफा र हरियालीपूर्ण वातावरणले वीरगञ्जको सौन्दर्य बढाउने मात्र होइन, सीमा पार गर्ने यात्रु तथा स्थानीयवासीको मनोबल पनि उच्च बनाउने बताए।

त्यस्तै सशस्त्र प्रहरी उपरीक्षक भट्टले सीमा क्षेत्रको सुरक्षित, स्वच्छ र आकर्षक वातावरण निर्माण सबै पक्षको साझा जिम्मेवारी भएकाले समुदायसँग हातेमालो गर्न सशस्त्र प्रहरी हमेशा तयार रहेको उल्लेख गरे। वीरगञ्ज महानगरपालिका सरसफाइ महाशाखा प्रमुख सर्फुदीन मियाँले मितेरी पुल शहरको मुख्य प्रवेशद्वार भएकाले यस क्षेत्रलाई सफा र सुन्दर राख्नु प्राथमिक दायित्व भएको बताए।

ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले अभियानलाई चरणबद्ध रूपमा विस्तार गर्दै स्थानीय, व्यापारी तथा विद्यार्थीहरूको सहभागिता बढाउने योजना रहेको जानकारी दिए।

पहिले फोहोर, हरियालीको अभाव तथा अव्यवस्थित रूपमा चिनिँदै आएको वीरगञ्ज–रक्सौल नाकामा सरसफाइ तथा हरियाली अभियानले उल्लेख्य सुधार ल्याएको स्थानीयवासीले बताएका छन्। आयोजकहरूले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि नियमित अनुगमन गर्ने र यस्ता अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

अभियानबाट निकट भविष्यमा सीमा क्षेत्र प्रदूषणमुक्त, व्यवस्थित तथा पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकसित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्