रौतहटमा युवतीको बीभत्स हत्या, घटनापछि परिवारका सबै सदस्य फरार

रौतहट — रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको निर्मम हत्या गरी घरमै गाडिएको अवस्थामा शव फेला परेको छ। २५ वर्षीया तरीमा खातुनलाई गएराति हत्या गरी घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा प्रहरीले मङ्गलवार बिहान बाहिर निकालेको हो।

इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेपछि खातुनको शव खाडलभित्र पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय (जिप्रका) रौतहटले जनाएको छ।

मृतकका पति शेख आदिल वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका छन्। घटना सार्वजनिक भएपछि मृतकका ससुरा शेख अलि महमदसहित घरका सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ। उनीहरू मृतक खातुनका डेढ वर्षीय छोरा महमद आरिफलाई समेत लिएर फरार भएको बताइएको छ।

खातुनको माइती गुजरा नगरपालिका–७ पल्टुवामा रहेको छ। पीडितको नातामा पर्ने भतिजासँग अनैतिक सम्बन्ध भएको आरोपमा इप्रका चन्द्रनिगाहपुरमा पञ्चायती बसेको र दुवैलाई वैवाहिक सम्बन्धमा बाँध्ने जिम्मा ससुरा शेख अलिलाई दिइएको प्रहरी अनुसन्धानले देखाएको छ।

यो घटना कात्तिक १८ गते राति भएको बुझिएको छ। अनैतिक सम्बन्धकै कारण परिवारका सदस्यहरूले योजना बनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।

मृतकका पिताले आफ्नो छोरा शेख आसमहमदले घटना प्रत्यक्ष देखेको दाबी गरेका छन्। उनका अनुसार सो राति परिवारका सदस्यहरूले आसमहमदलाई हल्ला गरे हत्या गरिदिने धम्की दिएपछि उनले ज्यान जोगाउँदै भाग्ने क्रममा दिदीको हत्या भएका प्रमाणस्वरूप फोटो माइतीतर्फ पठाएको बताइएको छ।

प्रहरी नायब उपरीक्षक विष्णुदीप बस्यालका अनुसार खातुनको दाहिने खुट्टामा गहिरो चोट लागेको थियो भने टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको छ। घटनास्थलबाट चक्कुसमेत बरामद गरिएको छ।

फरार परिवारजनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्