सबैले आफ्नो ठाउँबाट खबरदारी गरौं – महानगर प्रमुख सिंह

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो ठाउँबाट खबरदारी गरिरहन सबैलाई आग्रह गर्नु भएको छ ।

सम्वादाता | २०७९ फागुन १३ गते १४: ४० मा प्रकाशित

 

वीरगन्ज– वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफ्नो ठाउँबाट खबरदारी गरिरहन सबैलाई आग्रह गर्नु भएको छ । वीरगञ्जको लिंक रोडमा रहेको काभेरी एकेडेमीको ८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

सहीलाई सही र गलतलाई गलत भयो भनेर आवाज उठाउँदै खबरदारी गर्न उहाँले आग्रह गर्नु भएको हो । गलत गर्दा गलत गरिस यसरी सुधार गर भन्नुपर्यो, खबरदारी गर्नुपर्यो, उहाँले भन्नु भयो, सही गर्दा साथ र सपोर्ट गर्नु पर्यो, हौसला दिनुपर्यो ।

वीरगञ्जलाई सफा र स्वच्छ बनाउन अहिले अभियान नै अघि बढाइएको भन्दै उहाँले त्यसका लागि जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई सुधारेर नगर सफा गर्ने अभियानमा साथ दिन आग्रह गर्नु भयो ।

विद्यालयका सञ्चालक विशाल साहुको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सनका राहुल श्रीवास्तव, संचारकर्मी युवराज खड्का, विद्यालयका ओजस तुल्स्यान, दिलिप कार्की लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्