'घरको अचार', महिनामा ५ लाखको व्यापार

सम्वादाता | २०८१ बैशाख २८ गते १०: २० मा प्रकाशित

'घरको अचार

यो ब्रान्ड काठमाडौंको थापागाउँ निवासी आमाछोरा कमला श्रेष्ठ र रोहन श्रेष्ठले ६ वर्षअघि सुरू गरेका थिए। आफ्नै भान्सामा बनाएर थालेको अचार व्यवसाय हालसम्ममा देशको सीमा नाघेर विभिन्न मुलुकमा पुगेको छ।

घरको अचारले पछिल्ला दुई वर्षमा दुइटा पसल सञ्चालनमा ल्याएको छ।

सञ्चालक रोहन श्रेष्ठका अनुसार काठमाडौंको बानेश्वर र ललितपुरको झम्सिखेलमा पसल चलिरहेका छन्। यही फागुन ११ र १२ मा झम्सिखेल पसलको उद्दघाटन गर्ने उनीहरूको तयारी छ। सो दिन विशेष अफर राखेका छन्।

'एक वर्षअघि बानेश्वरमा पहिलो आउटलेट खोलेका थियौं। हालै झम्सिखेलमा दोस्रो सुरू गरेका छौं,' उनले भने, 'दुबै आउटलेटमा घरको अचारका परिकार छन्।'

 
 हाल भेज, चिकेन र बफ अचार गरेर दैनिक कम्तीमा ३० किलो अचार बिक्री भइरहेको छ।

प्रारम्भिक दिनमा रोहनकी आमा कमला आफ्नै किचनमा अचार बनाउँथिन्। रोहन बिक्रीको काममा लाग्थे। सबैजसो अचार अनलाइनबाटै बिक्थ्यो। तर ग्राहकहरूले निकै माग गरेपछि पसल खोलेका हुन्। आवश्यकताअनुसार आउटलेट थप्ने उनीहरूको योजना छ।

आमाछोरा दुई जनाले काम गरेर सुरू गरेको अचार व्यवसायमा हाल ११ जनाले रोजगारी पाएका छन्। घरको अचारमा हाल १७ वटा परिकार बन्छन्।

बजारको आवश्यकता र ग्राहकको रोजाइअनुसार परिकार थप्दै जाने रोहनको भनाइ छ।

 

हाल बफ सुकुटी, चिकेन, माछा, मेथी मसला, मुला, लप्सी, च्याउ, डल्ले खुर्सानी, हरियो खुर्सानी, कागती, आँप लगायतको अचार बन्छ। शाकाहारी अचार प्याकिङ गरेको ६ महिनासम्म खान मिल्छ।

चिकेन, बफ, माछा फ्राइ गरेर बनाइएको अचार भने ४५ दिनसम्म खान सकिन्छ। घरको अचारले टिमुरको छोप पनि बेच्छ।

शाकाहारी अचार अहिले पनि कमलाको घरकै किचनमा बन्छ। मांसाहारी अचार भने बानेश्वरको पसलमा तयार हुन्छ।

'बानेश्वरमा आउटलेट सुरू गरेपछि त्यहीँ किचन पनि बनायौं। ननभेज अचार त्यहीँ बनेर प्याकिङ हुन्छ,' रोहनले भने, 'आफ्नै भान्सामा बनाएको जस्तो उच्च गुणस्तरको हुने भएकाले धेरैले रूचाउनुभएको छ।'

विदेश पुग्नेमा पनि ननभेज अचार नै बढी छ। विशेषगरी बेलायत र हङकङबाट धेरै माग भइरहेको रोहनले बताए।

अचारको सामग्री केलाउने, पखाल्ने, काट्ने, पिस्ने काम कमलाकै सक्रियता र रेखदेखमा हुन्छ। अचारको गुणस्तर र उपभोक्ताको स्वास्थ्य ख्याल राखेर काम गर्ने उनी बताउँछिन्।

कमलालाई अचार बनाउने सोच करिब ६ वर्षअघि आएको हो। उनी छोरीलाई स्कुल पुर्‍याउन जाँदै थिइन्। छोरीले बाटोमा अचार बेच्न राखेको देखिन्, किन्न ढिपी गरिन्। कमलाले एक बट्टा किनेर लगिन्, असाध्यै मिठो लाग्यो।

त्यही अचार कमलाका लागि व्यवसायको मार्गदर्शक बन्यो।

उनले छोरा रोहनसँग सल्लाह गरिन्। सुरूमा परीक्षणका लागि अचारका केही परिकार बनाए। कमलाले दिदीबहिनी र आफन्तहरूलाई खुवाइन्। केहीपटक साताको एक दिन शुक्रबार घरमा अचारका परिकार खाने भेटघाट आयोजना गरिन्।

यसरी खानेहरूले मन पराएपछि आमाछोराले व्यवसायको योजना बनाए। कमलाले अचार बनाउने एउटा तालिम लिएकी थिइन्, एक साताको। विभिन्न स्वादका अचार बनाउने र बिग्रिनबाट जोगाउने तरिका जानेकी थिइन्। यसकारण पनि उनलाई अचारको व्यवसाय गर्ने आँट आयो।

आमाछोराले पहिलोपटक पाँच किलो अचार बनाएर व्यवसाय सुरू गरे। ब्रान्ड नाम पनि धेरै सोच्न परेन।

रोहनले भने, 'घरको भान्सामा बनाएको हुनाले नामै घरको अचार राख्यौं। यसैलाई ब्रान्ड बनाएर अघि बढ्यौं।'

करिब दुई महिना सातामा पाँच किलोका दरले अचार बनाएर बजार पुर्‍याए। व्यापार हुने छाँट देखियो। उत्पादन बढाउन उनीहरूले मरमसला र प्याकेजिङमा चाहिने सामान जुटाए। यो सबैमा ६० हजार रूपैयाँ खर्च भयो।

रोहनले नाम सुहाउँदो लोगो पनि बनाए। पहेँलो रङको घरको चित्रमा 'घरको अचार' लेखे। एक छेउमा डल्ले खुर्सानी झुन्ड्याए। उनले 'घरको अचार' नामको फेसबुक पेजवेबसाइट र इन्स्टाग्राम अकाउन्ट बनाए। यी सञ्जालमार्फत प्रचारप्रसार गरे।

'अचारको स्वाद र गुणस्तरमा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थाल्यो, धेरैलाई मनपर्‍यो,' उनले भने।

कोरोनाका बेला लामो लकडाउन हुँदा घरको अचारको माग ह्वात्तै बढ्यो। अस्पतालहरूले मगाउन थाले। काठमाडौं बाहिरबाट पनि माग आयो।

'त्यो बेला हाम्रो अचारको माग अस्पतालमा धेरै थियो। थुप्रै डाक्टरहरूले रूचाउनुभयो,' रोहनले भने, 'लकडाउनको समयमा माग पूरा गर्न भ्याइनभ्याइ भयो। त्यस बेला हाम्रा ग्राहक पनि धेरै थपिए।'

घरको अचारमा ग्राहकको माग र रूचिअनुसार स्वादमा हेरफेर पनि हुन्छ। कसैले बढी पिरो, कम पिरो वा यस्तै कुनै स्वादको माग गरे त्यसैअनुसार तयार हुन्छ। हाल घरको अचारको ६० प्रतिशत खपत काठमाडौं उपत्यकामा छ। उपत्यकाबाहिर नेपालगञ्ज, पोखरा, धनगढी लगायतका सहरमा पुग्छ।

'माग भएको ठाउँसम्म पुर्‍याउने गरेका छौं। बजार व्यवस्थापनको सबै काम म नै गर्छु,' रोहनले भने।

घरको अचारलाई व्यावसायिक ब्रान्ड बनाउन लागिपरेका रोहनले व्यवस्थापन विषयमा स्नातकोत्तर तहको पढाइ पूरा गरेका छन्। अरू व्यवसायमा लागे पनि अचार नछाड्ने उनको सोच छ। 

'यो मेरो पहिलो व्यवसाय हो। आमाछोरा मिलेर सुरू गरेका हौं। अरू जुनसुकै काम गरे पनि अचार साथमै रहन्छ। यसलाई विस्तार गर्दै जान्छौं,' उनी भन्छन्।

रोहनले घरको अचार लोकप्रिय ब्रान्ड हुने सम्भावना देखेका छन्, त्यसैले लगानी बढाउँदै लगेका छन्।

उनका अनुसार अहिले मासिक सरदर ५ लाख रूपैयाँको व्यापार हुन्छ।

'यति राम्रो व्यापार होला भन्ने सोचकै थिएनौं। व्यवसाय बढाउँदै जान्छौं,' उनले भने।

प्रतिक्रिया दिनुहोस्