सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधानबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

सम्वादाता | २०८२ जेठ १० गते ०४: ३९ मा प्रकाशित

वीरगञ्ज – सहकारी क्षेत्रका समसामयिक समस्या र समाधानका उपायबारे छलफल गर्न आयोजित अन्तक्रिया कार्यक्रम आज वीरगञ्जस्थित गृह लक्ष्मी साकोसको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना को-अपरेटिभ म्यानेजर्स क्लब, पर्साले गरेको हो।

कार्यक्रमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) का अध्यक्ष तथा प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले दीप प्रज्वलन गरी गर्नुभयो। क्लबका अध्यक्ष रवि भुषण श्रीवास्तवले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो।

विशिष्ट अतिथिका रूपमा क्लबका संस्थापक अध्यक्ष जिष्णु बराल र निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया सहभागी हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गर्नुभएको थियो।

अन्तक्रिया कार्यक्रममा क्लबका सञ्चालक समिति तथा विभिन्न संघसंस्थाबाट ४० जना प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो। छलफलमा सहकारी क्षेत्रमा देखा परेका नीति सम्बन्धी अस्पष्टता, पारदर्शिताको अभाव, व्यवस्थापनमा देखिएका चुनौतीहरू लगायतका विषयमा गहिरो बहस गरिएको आयोजकले जानकारी दिएको छ।

कार्यक्रममा प्रस्तुत भएका सुझावहरूलाई समेटी आगामी दिनमा सहकारी प्रणालीलाई अझ सशक्त, पारदर्शी र जवाफदेही बनाउने दिशामा पहल गरिने प्रतिबद्धता समेत जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्