भारत–पाकिस्तान खेल विवाद : विश्व क्रिकेटलाई २५ करोड डलरको सम्भावित आर्थिक झट्का

काठमाडौँ । भारतले पाकिस्तानमा गएर नखेल्ने निर्णय र त्यसपछि विकसित विवादका कारण विश्व क्रिकेटलाई करिब २५ करोड अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने अनुमान गरिएको छ । आगामी फेब्रुअरी १५ मा तय गरिएको भारत–पाकिस्तान खेल स्थान र तालिकाबारे विवाद चर्किँदा परिस्थिति जटिल बनेको हो ।

पाकिस्तानले भारतबाहेकका खेलहरू श्रीलंकामा सारेर आयोजना गर्ने प्रस्ताव अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)समक्ष राखेको थियो । तर, आइसिसीले पूर्वनिर्धारित तालिका र मैदान परिवर्तन नहुने स्पष्ट पारेपछि पाकिस्तान सरकारले भारत नजाने निर्णय गरेको जनाएको छ । यस निर्णयका कारण आइसिसीले पाकिस्तानमाथि आर्थिक दण्डसमेत लगाउन सक्ने सम्भावना रहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम दी सिड्नी मोर्निङ हेराल्डका अनुसार भारत–पाकिस्तान खेल विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने क्रिकेट प्रतिस्पर्धामध्ये एक हो, जसको दर्शक संख्या अर्बभन्दा बढी पुग्ने अनुमान छ । यही कारणले आइसिसीले व्यावसायिक आकर्षणलाई ध्यानमा राख्दै यी दुई राष्ट्रलाई प्रायः एउटै समूहमा राख्दै आएको छ ।

पछिल्लो निर्णयले आइसिसी र भारतका मिडिया अधिकारधारी जियोस्टारलाई पनि ठूलो आर्थिक असर पर्ने देखिएको छ । जियोस्टारले आइसिसीसँग गरेको करिब तीन अर्ब डलरको प्रसारण सम्झौता पुनर्विचार गर्ने प्रयास गरिरहेको जनाइएको छ । प्रसारणकर्ताहरूलाई मात्र २४ देखि ३० मिलियन डलरसम्म विज्ञापन घाटा हुन सक्ने अनुमान गरिएको छ ।

भारत–पाकिस्तान खेलमा १० सेकेन्ड विज्ञापनको मूल्य करिब ४८ हजार अमेरिकी डलर तोकिएको बताइएको छ । राजनीतिक तनावका कारण खेल अनिश्चित बन्दै जाँदा विश्व क्रिकेटको आर्थिक संरचनामाथि समेत गम्भीर असर पर्ने विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्