पेनाल्टीमा नेदरल्यान्ड्स पराजित, मोरक्को अन्तिम १६ मा

वीरगंज । मोरक्कोले रोमाञ्चक पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बने। उनले एक महत्वपूर्ण प्रहार बचाउँदै टोलीलाई जित दिलाए।

मोरक्कोका लागि पेनाल्टीमा सौफियान रहिमी, चेम्सडाइन ताल्बी र इस्माइला साइबरीले गोल गरे। नेइल एल आइनाउइको प्रहार बाहिरिँदा कप्तान असरफ हाकिमीको प्रहार पोस्टमा लागेको थियो।

नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सके। जस्टिन क्लुइभर्टको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने क्विन्टन टिम्बरको प्रहार बाहिरियो। क्रेसेन्सियो समरभिलको प्रहार बोनोले उत्कृष्ट रूपमा बचाएका थिए।

त्यसअघि ग्वाडालाजारा स्टेडियममा भएको खेलमा कोडी गाक्पोले ७२औँ मिनेटमा समरभिलको पासलाई सदुपयोग गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए।

तर इन्जुरी समयको पहिलो मिनेटमा इसा डिओपले चेम्सडाइन ताल्बीको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याएपछि मोरक्कोले पुनरागमन गरेको थियो।

पेनाल्टीमा उत्कृष्ट प्रदर्शनसँगै मोरक्कोले अन्तिम १६ मा स्थान बनाउँदा नेदरल्यान्ड्सको विश्वकप यात्रा भने समाप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्