रोहित र एरिका वर्ष खेलाडी

सम्वादाता | २०८१ भदौ २९ गते ०८: ४३ मा प्रकाशित

काठमाडौं। क्रिकेटर रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना गरेको स्पोर्ट्स अवार्डमा एरिका महिलातर्फ र रोहित पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशीलाई पछि पारिन् ।

 
पुरुष क्रिकेट टिमका कप्तान रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारेका हुन् । उत्कृष्ट खेलाडीद्वय एरिका र रोहितले अवार्डसँगै मोटरसाइकल पाए ।

भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । ई-सेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् ।


पिपल्स च्वाइस विजेता कवितालाई अवार्ड प्रदान गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ।

कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन् । मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए । पिपल्स च्वाइस विजेता कविताले पनि अवार्डसँगै मोटरसाइकल पाएकी छिन् ।

वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठ घोषित भए । कुशलको प्रशिक्षणमा नेपालले १९औं एसियाली खेलकुदमा एक कांस्य र दशौं विश्व कराते च्याम्पियनसिप इन्डोनेसिया (एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक) मा पदक प्राप्त गरेको थियो ।

उनको प्रशिक्षणमा सातौं एसियन कराते च्याम्पियनसिपमा (२९ स्वर्ण, २५ रजत र सात कांस्य) र युएस ओपन कराते च्याम्पियनसिपमा (एक स्वर्ण र एक रजत) पदक जितेको थियो ।

प्रशिक्षक कुशलले कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) लाई पछि पारे ।

भारोत्तोलनका हेमन्त पाल युवा वर्ष खेलाडी घोषित भए । हेमन्तले अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पार्दै यो अवार्ड जिते । १६ वर्षे हेमन्त पाल भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य विजेता हुन् । उनले नेपाली भारोत्तोलनलाई ३८ वर्षपछि एसियालीस्तरमा पदक दिलाएका हुन् ।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन् । पलेशा चौथो पारा एसियन गेम्समा नेपालका लागि पहिलोपल्ट कांस्य पदक दिलाउन सफल खेलाडी हुन् ।

लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे भने स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भएका छन् ।

१९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त गर्‍यो । लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लेटिले अवार्डसँगै जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्