वीरगन्ज गोल्डकप : नेपाल पुलिस क्लबको सानदार जीत

कात्तिक २२ मा खेलिने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान्स सिटी क्लब वीरगन्जको सामना गर्ने भएको छ ।

सम्वादाता | २०८० कार्तिक २० गते १८: १५ मा प्रकाशित

वीरगन्ज– प्रताप गुरुङको सानदार खेल प्रदर्शनले नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको क्वाटर फाइनलमा भारत कोलकताको क्लाईभ हाउस दम दम फुटबल क्लबलाई ठूलो अन्तरले पराजित गरेको छ । वीरगन्जको आदर्शनगर रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले क्लाई हाउस कोलकातालाई १ को विरुद्ध ७ गोलले पराजित गरेको हो । यो जीतसगै पुलिसले सेमिफाइनलमा स्थान पक्का गरेको छ । कात्तिक २२ मा खेलिने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान्स सिटी क्लब वीरगन्जको सामना गर्ने भएको छ ।
क्लाईभ हाउस कोलकाता विरुद्ध ५ गोल गरेका प्रताप गुरुङ म्यान अफ दिन म्याच घोषित भएका थिए । प्रथम वीरगन्ज गोल्डकपको आयोजक भेट्रान्स सिटी क्लबका उपाध्यक्ष सागर शम्सेर राणाले गुरुङलाई १० हजार रुपैया नगद पुरस्कार प्रदान गरेका थिए । खेलको सुरुदेखि नै हावी देखिएको नेपाल पुलिस क्लबले पहिलो हाफमै ५ गोलको अग्रता कायम गरेको थियो । खेलको २३ औ“ मिनेटमा प्रविन थापाको पासमा गोल गर्न सफल भएका प्रताप गुरुङले पहिलो हाफमा कूल ३ गोल गरे । विवेक सन्तोषी र प्रविन थापाले पनि पहिलो हाफमा एक÷एक गोल प्रहार गरेका थिए ।
दोस्रो हाफमा पनि नेपली पुलिस क्लबले आक्रमकता कायमै राखेको थियो । प्रताप गुरुङले दोस्रो हाफको १६ औ र १७ औ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । खेलको अन्तिम समयमा डि बक्समा पुलिसका खेलाडीले फल खेलेपछि क्लाईभ हाउस कोलकाताले पेनाल्टी पाएको थियो । अमन मुन्सीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत भएको थियो । ७ गोल खाएको क्लाईभ हाउस कोलकाताले एक गोल मात्र फर्काउन सकेको थियो । मंगलबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र झापा फुटबल क्लबबीच हुने आयोजकले जनाएका छन् । मधेशकै उच्च धनराशी पुरस्कार राखिएको प्रथम वीरगन्ज गोल्डकपमा भारतका २ र नेपालका ६ गरी कूल ८ वटा टीमले प्रतिस्पर्धा गरेका छन् । विजेता टीमले ११ लाख ११ हजार ११ सय रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैया पुरस्कार राशी पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्