आशिफ शेखको घटना के हो ?

सम्बन्धपश्चात शेख सम्पर्कविहीन बन्दा महिनावारी रोकिएका कारण आफूले तनाव झेल्नु परेको उनको दाबी छ ।

सम्वादाता | २०८० भदौ २५ गते १५: ०३ मा प्रकाशित

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखविरुद्ध आफूमाथि बलात्कार गरेको आरोपमा एक युवतीको कालिमाटी प्रहरी चौकीको नाममा भएको निवेदन अहिले सामाजिक सन्जालमा चर्चामा छ ।

निवेदनमा शेखले आफूसँग असुरक्षित यौनसम्बन्ध राखी महिनौंसम्म मानसिक तनाव दिएको युवतीले उल्लेख गरेकी छन् । सम्बन्धपश्चात शेख सम्पर्कविहीन बन्दा महिनावारी रोकिएका कारण आफूले तनाव झेल्नु परेको उनको दाबी छ ।

काठमाडौं प्रहरी परिसका उपरीक्षक कुमुद ढुंगेलकाअनुसार अहिलेसम्म युवतीका तर्फबाट प्रहरीमा कुनै पनि निवेदन आएको छैन । यद्यपि सामाजिक सन्जालमा आइतबार बाहिरिएको सो निवेदनबाट ती युवतीलाई प्रहरीले सम्पर्क गरेको उनको भनाइ छ ।

ढुंगेलले  भने, ‘प्रहरीले ती युवतीलाई सम्पर्क गरेर प्रहरीमा दर्ता नगरेको निवेदन कसरी सार्वजनिक भयो बुझेको थियो । उहाँ आज निवेदन लिएर प्रहरीकहाँ आउनुहुन्छ होला ।’निवदेन आएको अवस्थामा तत्काल आवश्यक कदम लिने प्रहरीको भनाइ छ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले पनि शेखलाई लिएर कुनै औपचारिक जानकारी नआएको जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘सामाजिक सन्जालमै निवेदन देखिएको हो । निवेदनबारे हामीलाई कुनै औपचारिक जानकारी छैन ।’ शेख नेपाली टोलीका ओपनर ब्याटर हुन् । जारी एसिया कपमा उनले भारतविरुद्ध अर्धशतक प्रहार गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्