जाहेरवाला युवती नाबालिग नभएको अदालतमा सन्दिपको दाबी

लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

सम्वादाता | २०७९ असोज २४ गते १२: ३८ मा प्रकाशित

काठमाडौं – प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेका थिए ।

त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् । सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेकी इजलास समक्ष राख्नु भएको छ ।’

अर्का अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’

अधिवक्ता सरोजकृष्णका अनुसार इजलासमा सन्दीपले आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे चासो राखेका थिए । जवाफमा न्यायाधीशले मुद्दाका सुनुवाइका क्रममा यो विषय उठाउन सुझाएका छन् ।

सन्दिपलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

लामिछानेलाई म्याद थपका लागि प्रहरीले आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।अब लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिने छ ।

लामिछानेलाई गत बिहीबार असोज २० गते प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउपछि आरोपितलाई अदालतबाट थुनामा राख्ने अनुमति लिएपछि बयान प्रक्रिया अघि बढाउनुपर्नेमा दसैं बिदा परेकाले अदालत पनि बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको थियो ।

लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । लामिछानेलाई गत भदौ ५ गते ती १७ वर्षीया नाबालिले बलात्कार गरेको आरोप लागाउकी थिइन् ।

सन्दीपले सोमबार म्याद थपका लागि अदालत लैजाने क्रममा न्यायाधीशसँग युवतीले आफू १९ वर्ष भएको बताएको र भविष्यमा फाइदा हुने भएकाले उमेर घटाएको भनेको उनका कानुन व्यवसायी सुधा रिजालले बताइन् । अधिवक्ता रिजालले पीडित युवतीका दुईवटा जन्मदर्ता देखिएको र त्यसमा नाबालिग नदेखिएको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्