जाहेरी दर्ता नभएको भन्दै आन्दोलन थप चर्काउने चेतावनी

कालिकामाई गाउँपालिकामा कर्मचारी कुटपिट प्रकरण

पत्रकार सम्मेलनमा सहभागी गापाका पदाधिकारी तथा कर्मचारीहरु ।

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कार्यालयभित्र भएको कुटपिट घटनाको जाहेरी एक सातासम्म पनि दर्ता नभएको भन्दै गाउँपालिकाका कर्मचारीहरूले आन्दोलन थप सशक्त बनाउने घोषणा गरेका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले घटनाको सीसीटीभी फुटेजमा कुटपिट स्पष्ट देखिए पनि प्रहरीले बेवास्ता गरेको आरोप लगाए। उनका अनुसार वडा नं. ३ का अध्यक्ष सञ्जयकुमार पटेल, वडा नं. २ का राजनिश कुशवाहा र हिरालाल राउत कुर्मीविरुद्ध किटानी जाहेरी दिइए पनि हालसम्म दर्ता गरिएको छैन।

कर्मचारीहरूले दोषीमाथि कानुनी कारबाही, पीडित कर्मचारीको सुरक्षा सुनिश्चित तथा जाहेरी तत्काल दर्ता गर्न माग गरेका छन्। उनीहरूले असार ३१ देखि साउन १ गतेसम्म कालोपट्टी बाँधेर बिहान ९ देखि १२ बजेसम्म मात्रै कार्यालय सञ्चालन गर्ने, साउन ४ र ५ गते जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि धर्ना दिने तथा माग सुनुवाइ नभए साउन ६ गते गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरी साँचो प्रशासनमा बुझाउने चेतावनी दिएका छन्।

यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र मल्लले कर्मचारी पक्षबाट आपराधिक उपद्रवसम्बन्धी जाहेरी प्राप्त भएको र घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्