वीरगञ्जमा नगरप्रहरीमाथि अवैध रकम असुलीको आरोप

व्यवसायीद्वारा छानबिनको माग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा कार्यरत केही नगरप्रहरीमाथि निजी व्यवसायी तथा फुटपाथ व्यापारीसँग धम्कीपूर्ण शैलीमा अवैध रकम असुल्ने गरेको आरोप लागेको छ। व्यवसायीहरूले नगरप्रहरीको व्यवहारका कारण आफूहरू त्रसित बनेको भन्दै महानगरपालिकासँग निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्।

व्यवसायीहरूका अनुसार केही नगरप्रहरीले पार्किङ व्यवस्थापन, जरिवाना वा कारबाहीको बहाना देखाउँदै रकम माग्ने, सामानमा छुट दिन दबाब दिने तथा नमाने दुःख दिने धम्की दिने गरेका छन्। औपचारिक उजुरी गरे थप हैरानी हुने डरले धेरै पीडित खुल्न नसकेको उनीहरूको भनाइ छ।

यता, वीरगञ्ज महानगरपालिकाका नगरप्रहरी इन्चार्ज हरि भुसालले हालसम्म यस विषयमा कुनै लिखित वा मौखिक उजुरी प्राप्त नभएको बताएका छन्। उनले प्रमाणसहित उजुरी आए निष्पक्ष छानबिन गरी दोषी देखिए आवश्यक कारबाही गरिने स्पष्ट पारे।

व्यवसायीहरूले नगरप्रहरीको गतिविधिमाथि नियमित अनुगमन बढाई बर्दीको दुरुपयोग रोक्न महानगरपालिकासँग माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्