महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्टफोन वितरण

वीरगञ्ज महानगरपालिकामा प्रविधिमैत्री स्वास्थ्य सेवा सुरु

सम्वादाता | २०८२ असार ३० गते ०४: १४ मा प्रकाशित
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले स्थानीय स्वास्थ्य सेवा प्रवाहमा प्रविधिको पहुँच विस्तार गर्दै वडा तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोबाइल फोन वितरण थालेको छ । सोमबार महानगर सभाकक्षमा आयोजित विशेष समारोहमा महानगर प्रमुख राजेशमान सिंहले पहिलो चरणमा ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्टफोन हस्तान्तरण गरे ।
महानगरको स्वास्थ्य महाशाखा प्रमुख राजु साहका अनुसार, वडा नं. १ देखि १६ सम्मका स्वयंसेविकालाई यो चरणमा मोबाइल वितरण गरिएको हो । वीरगञ्ज महानगरका ३२ वटै वडामा हाल १९८ जना स्वयंसेविका सक्रिय छन् । बाँकी वडा नं. १७ देखि ३२ सम्मका महिला स्वयंसेविकालाई एक हप्ताभित्रै मोबाइल वितरण गरिने तयारी भइरहेको साहले जानकारी दिए ।
स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्टफोन वितरण गर्नुको मुख्य उद्देश्य समुदायस्तरमा प्रवाह गरिने स्वास्थ्य सेवामा प्रविधिमैत्री सहजता ल्याउनु रहेको बताइएको छ ।
गर्भवती महिला र नवजात शिशुको नियमित अनुगमन, खोप कार्यक्रमको सूचना, पोषण तथा स्वास्थ्यसम्बन्धी जानकारी अभिलेखन र समयमै रिपोर्टिङ गर्न मोबाइल फोन प्रयोग उपयोगी हुने महानगरले विश्वास लिएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख साहले भने, “स्मार्टफोनको प्रयोगले फिल्डमा काम गर्ने स्वयंसेविकाको कार्यदक्षता बढ्नेछ । सूचना संकलनदेखि रिपोर्टिङसम्मको प्रक्रिया छिटो, पारदर्शी र व्यवस्थित हुनेछ ।”
कार्यक्रममा बोल्दै वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले संघ तथा प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई न्यूनतम सम्मान र सुविधा दिएकोप्रति असन्तोष जनाउँदै महानगरपालिकाले उनीहरूको भत्ता तथा अन्य सुविधा बढाउने प्रतिबद्धता जनाए ।
“स्वयंसेविकाहरू समुदायको पहिलो स्वास्थ्य सन्देशवाहक हुन्। उनीहरूको कामको कदर गर्दै महानगरले प्रविधिसहितको सहयोग प्रदान गर्दैछ,” सिंहले बताए ।
महानगरले वितरण गरेको मोबाइल फोनको सेवा प्रयोजनमा मात्र प्रयोग होस् भन्ने उद्देश्यले स्वयंसेविकाहरूलाई सचेत गराउँदै दुरुपयोग नगर्न समेत आग्रह गरिएको छ ।
 
कार्यक्रममा महानगरका प्रशासकीय प्रमुख अरबिन्दलाल कर्ण, स्वास्थ्य शाखाका अधिकारी, विभिन्न वडाका अध्यक्षहरू तथा स्वयंसेविका प्रतिनिधिहरूको उपस्थितिमा गरिएको थियो ।
महानगरले सुरू गरेको यो प्रविधि प्रयोगको पहलले स्थानीय स्वास्थ्य सेवा प्रणालीलाई अझ व्यवस्थित, डिजिटल र पहुँचयोग्य बनाउने विश्वास गरिएको छ ।
स्मार्टफोन वितरणको माध्यमबाट वीरगञ्ज महानगरपालिकाले स्थानीय स्तरमा डिजिटल सुशासन र प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहको एक उदाहरणीय अभ्यास थालेको देखिन्छ । यसले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई अझ सशक्त बनाउँदै आम नागरिकको स्वास्थ्य सुरक्षामा सकारात्मक योगदान दिने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्